पहिलो प्रेम

पहिलो प्रेम


■ तपाईंको पहिलो प्रेम ?
– मेरी श्रीमती अपेक्षा ।

■ भेट कहिले भएको थियो ?
– २०५५ सालमा, त्यत्तिबेला म ३६ वर्षको थिएँ ।

■ त्यत्तिका वर्षसम्म कुनै केटीसँग तपाईंको सम्बन्ध भएन ?
– खै ! पढाइ र करियरको दौडादौडमा त्यतातिर सोच्दै सोचिएन ।

■ प्रेमको सुरुवात कसरी भएको थियो नि ?
– पार्टीमा भेट भयो, आँखा जुध्यो, फेरि दोश्रो पटक भेट भयो, यस्तै यस्तै …।

■ विवाहको प्रस्ताव कस्ले राख्यो ?
– मैले नै राखेँ, उनी त पछिसम्म ‘रिजर्व’ थिइन् ।

टेलिभिजनमा आउँदै गरेको यस्तो अन्तरवार्ता खुब रमाइलो मानेर हेरिरहेका विश्वासले श्रीमतीतर्फ फर्किएर केही भन्न खोज्दा उ पसिना पुछिरहेकी थिई । ‘यस्तो जाडोमा पसिना ? के भयो ?’ प्रश्न नसकिँदै उसले ‘खासै केही होइन खै आज मलाई दिउसै देखि के भइ रहेको छ…’ भनी । हैन यो मान्छे जीवनको ३६ वर्षसम्म कसैसँग सम्बन्ध नबढाई बस्यो होला त ? विश्वास एक्लै बोले । अन्तवार्ता अघि बढिरहेको थियो– उनीसँगको भेटले मलाई जिन्दगी के हो भन्ने बुझायो.., जीवनमा प्रेम के हो भन्ने कुरा मैंले महसुस गर्न पाएँ…, म अहिले सम्झिन्छु उनलाई नभेटेको भए जीवन कति निरस हुने थियो होला…आदि–आदि ।

‘यता आउ’, विश्वासले सभ्यतालाई आफुनजिक बोलायो र उसको टाउको काखमा राख्दै भन्यो– ‘तिमीलाई सन्चो छैन, भोली काममा नजाउ ।’ आज्ञाकारी भावमा उसले हुन्छ भनी र आँखा चिम्लिई । आँखा चिम्लिएपछि विगतका अनेकौँ घटनाहरू सजीव भएर अगाडि आए । अन्तरवार्तामा सोधिएको प्रश्न ‘पहिलो प्रेम ?’ले उसलाई जति झस्काएको थियो त्यसको जवाफले त्यति नै रिल्याक्स बनायो । उसले सोची, त्यति ठुलो झुटमा पनि उ कति इमान्दार झैँ प्रस्तुत भइरहेको थियो ।

सतिसलाई भेट्दा उ भरखरै एसएलसी गेरर कलेज प्रवेश गरेकी थिई । गाउँबाट आएको सरल त्यो मुहार र आनीबानीले उसलाई क्रमिक रुपले आकर्षित गर्दै लगेको थियो । राजनीतिक कुराहरूमा खुब चासो राख्ने सतिसलाई उ लाइब्रेरीमा भेट्न चाहन्थी तर उनीहरूको भेट भने सधै क्यान्टीनमा हुन्थ्यो । कालो–कालो अनुहारको उ त्यति राम्रो थिएन तर उसको बोलीचाली र राजनीतिक सचेतना प्रशंसनीय थियो । कलेजबाटै थानकोटमा वनभोज गएको बेला उसैले प्रस्ताव राख्यो– ‘के तिमी मलाई जिन्दगीभर साथ दिन सक्छ्यौ ?’ उ हडबडाई, लाजले रातो भई र केही बोल्न सकिन । त्यसपछि बिस्तारै–बिस्तारै उसका आँखाहरूले कलेजको गेटदेखि नै सतिसलाई खोज्न थालेका थिए ।

समयक्रममा सतिस राजनीतिमैं लाग्यो । जेल पर्नु र बाहिरिनु सामान्य झैँ भयो, उ जागिर खान थाली । जागिरबाट आएको आधा पैसा त उ सतिसमै खर्च गर्थी । त्यसैबीच घरमा सभ्यताको विवाहको कुरा चल्यो, उसले सुनाई । अहिले विवाह गर्ने अवस्था नरहेको भनी उबाट प्रतिक्रिया पाएपछि बाबु–आमाले मेडिकल डाक्टरसँग सभ्यताको विवाह गराइदिए । विवाहको रात उसको शरीर विश्वाससँग भए पनि भावनामा भनें सतिससँगै थिई । उ भन्ने गथ्र्यो– तिमी मेरो जिन्दगीको पहिलो प्रेम हौ, तिमीबिना बाँच्ने म कल्पना पनि गर्न सक्दिनँ । म सोच्छु तिमी नभएको भए यो शहरमा मेरो के हुन्थ्यो होला ? हुन पनि लाउने लुगादेखि जुत्तासम्म, बिरामी पर्दा औषधी सबै उ गर्थी ।

घट्टेकुलोको एउटा घरको अँध्यारो छिँडीमा उसको कोठा थियो । कोठाको पाँच सय भाडा पनि कति पल्ट उसले तिरिदिएकी छ । सतिसको परिवार गाउँमै बस्थ्यो, कहिलेकाहीँ आउँदा सभ्यता निकै नजिक हुन्थी, उनीहरूलाई पनि सभ्यता मन पथ्र्यो । आमा त कहिलेकाहीँ बुहारी नै भनेर बोलाउँथिन् । म भइनँ भने उसले आत्महत्या नै गर्छ जस्तो लाग्थ्यो सभ्यतालाई र सोच्थी– लौ न मलाई केही भइहाल्यो भनें यो मान्छेलाई के होला ? तर विवाहको कुरामा उसले खासै वास्ता नगर्दा उ छाँगाबाट खसेजस्तै भएकी थिई । ‘उसले किन यसो गऱ्यो ?’ धेरै दिनसम्म यो प्रश्नले मनमा ठाउँ लिइरह्यो । अन्त्यमा निष्कर्ष निकाली– सायद म खुशी होस्, राम्रो ठाउँमा परोस् भन्ने ठानेर यस्तो गरेको होला ।

समयले सबै कुरालाई ठिक गर्दै लान्छ भन्छन् मानिसहरू । तर उसलाई खासै त्यस्तो लाग्दैन । डा’सावसँगको यति लामो सामिप्यतामा पनि उसले सतिसलाई बिर्सन सकेकी छैन । आफु इमान्दार भइनँ कि भनेर उसलाई कहिलेकाहीँ ग्लानी पनि हुने गर्छ । छोराछोरी ठुला भइसके तर पनि उसको मनबाट त्यो पुरानो घाउ हट्न सकेको छैन । सम्झिन्छे उसँग भएको भए यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो । त्यसबीचमा उ पटक–पटक मन्त्री भयो, टेलिभिजनहरूमा धेरै पटक अन्तरवार्ता दियो, तर ती सबै राजनीतिक थिए ।

पहिलोपल्ट ब्यक्तिगत कुराकानी गर्न थालेपछि उ थरथरी काँपेकी थिई । फ्याट्ट आफ्नो नाम लिइदियो भनें के गर्ने भनेर उ पसिनासरी भएकी थिई । नाम लिएन, उसले मुक्ति पाई । तर उसलाई त्यही कुराले पछिसम्म पनि घोची रह्यो । उसले मेरो नाम नलिए पनि कोही थियो जीवनमा तर यो मेरो नितान्त ब्यक्तिगत कुरा भएकाले यस विषयमा बोल्न चाहन्न भन्न सक्थ्यो या त्यतातिर नजाउँ भन्न सक्थ्यो । तर उसले त सरासर झुट नै बोल्यो भनेर मन खिन्न भइरह्यो । यतिका वर्ष पटक–पटक उसको सम्झना गरेकोमा उसलाई आफैसँग नमज्जा पनि लाग्यो ।

झोला बोकेर कलेजमा साथीहरूलाई नमस्कार भन्दै आएको देखि लिएर उसले किनिदिएको सर्ट–पाइन्टमा ठाँटिएको हुँदै मन्त्री भएको सतिससम्मका दृष्यहरू उसको आँखावरपर आँउदै जाँदै गरे । विवाह गरेदेखि अहिलेसम्म एकपल्ट पनि उसले प्रत्यक्ष देख्न पाएकी थिइनँ, जति देखी टेलिभिजनमैं देखेकी थिई । पहिला र अहिलेको उसको हुलियामा अकाश–जमिनको फरक थियो । पहिलो प्रश्नभन्दा बढि पीडादायी भएर बीचतिरको प्रश्नको उत्तर आयो—जीवनमा तपाईंले कहिल्यै कसैसँग भरोसा गर्नुभएको थियो? या त्यस्तो ब्यक्ति जसलाई तपाइले बारम्बार सम्झने गर्नुहुन्छ ? उसको सहज उत्तर थियो– ‘खै मेरो जीवनमा त्यस्तो कोही आएन जसलाई म पूर्ण रुपले भरोसा गर्न सकुँ ।’ उसले सम्झिई, अँगालोमा बेरिएको बेला पटक–पटक उ भन्ने गर्थ्यो, ‘तिमी मेरो जिन्दगीको सबैभन्दा ठुलो भरोसा हौ सभ्यता, म तिमीलाई धेरै माया गर्छु ।’

ओछ्यानमा सुतिरहेको बेला अकस्मातै उसको मुखबाट ‘थुक्क’ शब्द निस्कियो । डा’साब आत्तिएर उठे, बत्ति बाले र सोधे– के भो ? तिमी निन्द्रामा बोलीरहेकी थियौ, केही खराब सपना देख्यौ कि ? हैन हिजोदेखि के भइरा’छ तिमीलाई ? हो ! मैंले धेरै खराब सपना देखेकी थिएँ, देखेँ भन न के पहिला कहिले देखेजस्तो कुरा गरेको भन्दै उनले पानी खान दिए । निदाउनलाई आँखा चिम्लिदै गर्दा बाबु आमाले कति सही निर्णय गरेछन् जस्तो लाग्यो उसलाई ।

टेलिभिजनमा उसकी श्रीमती अपेक्षालाई पनि उसका असल र खराब बानीका बारेमा बोल्न लगाइयो । आफ्नै घरको बैठक कोठामा अन्तवार्ता दिँदै श्रीमतीले भनिन्– ‘साह्रै अब्यवस्थित हुनुहुन्छ, लाउने कोटदेखि मोजासम्म मैंले मिलाएर राखि दिनुपर्छ । मलाई मन पर्ने कुराचाहिँ के हो भने खाने कुरामा कुनै विशेष शौख छैन, जे बनाएर दिए पनि मिठो मानेर खानुहुन्छ ।’

यता भरखरै ड्युटी सकेर घर फर्की कपडा फेर्दै गरेका एस्पी केसीको ध्यान एक्कासी ती महिलाको आवाज र मुहारतिर तानियो । उनले रिमोट हातमा लिएर साउण्ड बढाउँदै गर्दा श्रीमती चिया लिएर आइपुगिन् । एस्पी सा’ब बडो ध्यान दिएर कुराकानी सुन्न थाले, उनको अनुहारमा न त पसिना थियो न त सभ्यतामा झैँ छटपटी नै । भरखरै खोलेर भुइमा असरल्ल छोडेका लुगा पट्याउदै श्रीमतीले ब्यङ्ग्यात्मक शैलीमा भनिन्– हेर न आफ्नी भुतपूर्व प्रेमिकाप्रति अझै पनि कत्रो चासो ? जवाफमा उनी निर्धक्क मुस्कुराए मात्र । ‘उनका ठाउँमा म भएकी भए ?’… श्रीमतीले मन मनमा सोचिन्, ब्यक्त गरिनन् । विवाहको केही दिनपछि नै उनले विगतमा भएकी आफ्नी प्रेमिकाका बारेमा बताएका थिए । केही समयअघि मात्र कसैकी श्रीमती बनेकी अपेक्षाले बोलेका कुराले भने उनलाई पनि अलि कस्तो कस्तो लाग्यो । कुनै बेला सर्टको कलर मिलाई दिँदै उनी भन्ने गर्थिन्, ‘कस्तो मान्छे होला, अलिकति आफुलाई पनि ध्यान दिनुपर्छ नि, अब्यवस्थित !’ जवाफमा ‘तिमी आएपछि ब्यवस्थित हुँला नि’ भन्ने गरेका थिए उनले । ‘तिमी जे पनि मिठो मानेर खान्छौ, मलाई यो बानी असाध्यै मनपर्छ’ उनी प्रायः भन्ने गर्थिन् । आज फेरि तिनै कुरा सुनेर हैन महिलाहरू सबैतिर एउटै सूत्र प्रयोग गर्छन् कि क्या हो जस्तो पनि लाग्यो । ‘पूर्वप्रेमिकाको कुरा कस्तो लाग्यो त ?’ श्रीमतीले सोधिन् । ‘त्यस्तो केही थिएन साथी मात्रै थियौँ हामी, मैंले तिमीलाई त्यसै भनिदिएको, ल खाना पस्क’, जवाफमा उनले भनें । भावुक भएर श्रीमतीलाई सबै कुरा सेयर गर्न पनि नहुने रहेछ भन्ने कुराको बोध उनलाई भइरहेको थियो ।

पत्रकारले अन्तिम अन्तिममा दुवै जनालाई संयुक्त प्रश्न गरे—

■ पहिलो प्रेमको अनुभव कस्तो भइरहेको छ त ?
केटा : विगतमा ठुलो कुरा मिस गरिएछ जस्तो लागिरा’छ ।
केटी : हामी पहिल्यै किन भेटेनौँ भन्ने सोच्छु ।

■ विगतलाई कसरी सम्झनुहुन्छ ?
केटा : राजनीति या भनौं न सार्वजनिक जीवनमा अगाडी बढे पनि ब्यक्तिगत जीवन खाली–खाली थियो, त्यो रित्तोपन भनौँ एक प्रकारको अभाव सम्झन्छु ।
केटी : एक्लै हुँदाका ती दिन पनि आफ्नै प्रकारका थिए, तर मायाको अनुभव फरक कुरा रहेछ । जीवनमा कोही हुनु र नहुनुले फरक पार्दोरहेछ ।

पत्रकारले ति दुइलाई धन्यवाद दिएर कार्यक्रमको क्लोजीङ गरिरहँदा एकार्कामा पूर्णतः अपरिचित एसपीसा’ब र सभ्यता मन मनमा सोचीरहेका थिए— त्यतिका बर्ष मैले उसको जीवनमा के गरेर बसेछु त ?

[email protected]