सप्तरीमा सामाचकेवाको रौनक

सप्तरीमा सामाचकेवाको रौनक


सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौतामा शुक्रबार सामाचकेवा सम्बन्धी कला प्रदर्शनीसहित विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ समाचकेवा पर्व मनाइएको छ ।

रुपनी गाउँपालिका वडा नम्वर ६ को सहयोग र किसान बचत तथा ऋण सहकारी संस्था वीरेन्द्र बजारको आयोजनामा सामाचकेवा पर्व मनाइएको हो ।

रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष गोविन्द सिंह थापा मगरको अध्यक्षता तथा रुपनी गाउँपालिकाका उपाध्यक्ष वेचनी देवी सरदारको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा अन्तर्गतका विभिन्न गाउँवाट झाँकीसहित आएका कलात्मक माटोका मुर्तीको प्रर्दशनी र पौराणिक गीत तथा नृत्य प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा सरस्वती चौधरीको नेतृत्वमा १ नम्बर समुह, बुधनी देवी साहको २ नम्बर समुह, जानकी देवी चौधरीको ३ नम्बर समुह, सुनिता देवी चौधरीको ४ नम्बर समुह, देवकी देवी महतोको ५ नम्वर समुह, निर्मला देवी सरदारको ६ नम्बर समुह, पूजा कुमारी सरदारको ७ नम्बर समुह, भुजिया देवी रामको ८ नम्बर समुह, दिना देवी सरदारको ९ नम्बर समुह, वविता चौधरीको १० नम्बर समुहले प्रतियोगितामा भाग लिए ।

प्रतियोगी समुहलाई पुरस्कार वितरण गर्दै गाउँपालिका उपाध्यक्ष सरदारले समाचकेवा जस्तो लोकपर्व जेगर्ना गर्नमा योगदान गरेको भन्दै सहभागीहरुको प्रशंसा गरिन् । कार्यक्रमले एकात्मक शासन पद्दतिले दबाएर राखेको संस्कृति उजागर गर्न टेवा पुगेको भन्दै सबै जातजातीको संस्कृतीको सम्मान र संरक्षणमा गाउँपालिका प्रतिबद्ध रहेको बताइन् ।

वडा अध्यक्ष मगरले गणतन्त्र र संघीय राज्य प्रणलीको अवधारणालाई कार्यान्वयन गर्ने कार्यमा वडा सधै अग्रसर रहने बताए । केन्द्रीकृत राज्य सत्ताले उत्पीडन, भेदभाव र अन्याय गरेको टिप्पणी गर्दै कसैले अधिकारबाट वन्चित भएको आभास हुन नदिने उदश्यका साथ सबै पक्षलाई समेटेर कार्यक्रम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अरुण कुमार मेहताले प्रमुख अतिथि सरदार, वडा अध्यक्ष मगर, पत्रकार एवम सामाजिक अभियान्ता वृजमान तामाङ वडासदस्यहरु बद्री नारायण चौधरी, वेचन प्रसाद साह, पुष्पा श्रेष्ठ लौगी, वुधनी देवी सदालाई दोषला ओढाएर सम्मान गरे ।

कार्यक्रममा सरस्वती सामुदायिक विकास मञ्च तेरहौताका अध्यक्ष दिलिप चौधरी, समाजसेवी हरि नारायण मेहता, रमाकान्त चौधरी लगायतका विभिन्न राजनैतिक दलका नेता तथा सामाजिक संघसंस्थाका पदाधिकारीहरुले मनतब्य ब्यक्त गर्दै सामाचकेवा पर्वको महत्वबारे प्रकाश पारे ।

रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा सचिव गिरधर मेहताद्धारा संचालित कार्यक्रममा स्वागत वडा सदस्य पुष्पा श्रेष्ठ लौगीले गरिन् । कार्यक्रममा विभिन्न जातिको पहिरनमा सजिएका थारु र मधेशी महिलाहरुले पौराणिक गीत तथा नृत्य समेत प्रस्तुत गर्नुको साथै कलात्मक सजिसजाउ माटाका मुर्तीहरु प्रर्दशनी गरिएको थियो ।