सिड्नीमा कलाकारहरूको मेला !

सिड्नीमा कलाकारहरूको मेला !


– राजन घिमिरे, अष्ट्रेलिया

यतिबेला अष्ट्रेलियाको सिड्नी नेपाली कलाकारमय भएको छ । विभिन्न संघ–सस्थाको निमन्त्रणामा यहाँ रहनुभएका नेपालीहरू माझ आ–आफ्ना प्रस्तुतिका निम्ति सिड्नी आएका कलाकारहरूको आगमनले सिड्नीमा राम्रै चर्चा र वाहवाही कमाइरहेको छ ।

कलाकारहरू कोही चलचित्रले सफलता हात पारेपछि प्रवासमा रहेका दर्शकहरूसँग खुशी साट्न सिड्नी आइपुगेका छन् भने कोही आगामी शनिबार सिड्नीको डार्लिङ हार्बरमा भब्य रूपमा आयोजना हुन लागेको नेपाल फेस्टिबलमा सहभागी हुन आइपुगेका छन् । यस्तै, कोहीचाहिँ पारिवारिक भेटघाटका निम्ति पनि सिड्नी आएका छन् ।

चलचित्र छक्कापन्जा–३ ले अष्ट्रेलियामा प्रदर्शनको रेकर्ड राखेपछि आयोजक कमेरो इभेन्टस् र रगडेल बोइजको निमन्त्रणामा दिपकराज गिरी, दिपाश्री निरौला र अनुराग कुँवर त्यो खुशी साट्न सिड्नी आएका हुन् । उनिहरूले मिट एण्ड ग्रिट र चलचित्रको रेड कार्पेट शोमा आफ्नो सहभागिता जनाए । ‘नेपालमा मात्र होइन अष्ट्रेलिया जस्तै अन्य देशमा पनि प्रवासमा रहनुभएका नेपालीको माया र साथ हाम्रो लागि अक्सिजन बनेको छ’, छक्का पन्जा–३ समूहको भनाई थियो ।

अर्कोतर्फ हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ पनि यतिबेला सिड्नीमै छन् । एस पिपुल एजुकेशन एण्ड भिसा सर्भिस भिसा पार्टनरको रूपमा रहेको मिट एण्ड ग्रिट कार्यक्रममा सहभागिता जनाउनुका साथै बुद्धिले यहाँ गायक विकास उप्रेतीको आवाज रहेको म्यूजिक भिडियोमा पनि काम गरे । उनी चलचित्र छक्का पन्जा–३ को प्रदर्शनीमा पनि पुगेका थिए ।

यसैगरी दुई पुराना कालाकार कृष्ण शिवाकोटी र लव शर्मा पारिवारिक भेटघाटमा यतै छन् । लव शर्मा छोरा–बुहारी र शिवाकोटी छोरी–ज्वाइँको निमन्त्रणामा सिड्नी आइपुगेका हुन् । कृष्ण सिवाकोटीलाई छक्कापन्जाको कार्यक्रममा पनि सिड्नीमा रहेका नेपाली दर्शकले भेट्ने अवसर पाए ।

यस्तै, टेलिसिरियल जिरे खुर्सानी र ब्रेकफेलकी कलाकार हिमा कोइराला पनि छोरी–ज्वाइँको निमन्त्रणामा अहिले सिड्नी आइपुगेकी छिन् भने पुराना गायक तथा चलचित्र निर्माता अर्जुनकुमार पनि पारिवारिक भेटघाटका लागि अहिले यतै छन् ।

यसैबीच एनआरएनए अष्ट्रेलियाले आगामी शनिबार सिड्नीको डार्लिङ हार्बरमा आयोजना गर्न लागेको नेपाल फेस्टिबलमा कलाकारहरू राजेश पायल राई, पशुपति शर्मा, शिव हमाल, तिर्सना गुरूङ, आँचल शर्मा र विश्व नेपालीले विभिन्न प्रस्तुति प्रस्तुत गर्ने भएका छन् ।

यति मात्र होइन कि यो साता सिड्नीमा आयोजना हुन लागेको एक कार्यक्रममा बमबहादुर कार्की, शिबा आले कार्की र मन्जु पौडेलको साथमा कार्यक्रम प्रस्तोता अनुशा पौडेलले सिड्नीमा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

यसरी, यो साता मात्र सिड्नीमा रहेका नेपालीहरूले करिब २० जना नेपाली कलाकारहरूसँग साक्षात्कार गर्ने अवसर पाउने भएका छन् । नेपाली सिनेमा बजारका लागि मात्र नभएर पारिवारिक भेटघाट र विभिन्न सांस्कृतिक कार्यक्रमहरूको लागि पनि यतिबेला कलाकर्मीहरूका निम्ति अष्ट्रेलिया आकर्षक गन्तव्यमा पर्ने गरेको छ ।