‘अमेरिकाबाट बिग्रेर आएछ भन्थे, पछि तारिफ गरे’

‘अमेरिकाबाट बिग्रेर आएछ भन्थे, पछि तारिफ गरे’


धुलिखेलको नाम लिनेबित्तिकै पर्यटकलाई लोभ्याउने काठमाडौंनजिकको सुन्दर पहाडी नगरको झल्को आउँछ । तर, धुलिखेलको परिचय अहिले त्यतिमा मात्र सीमित छैन । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, नमुना शैलीको खानेपानी योजना, सरसफाइको व्यवस्थित रूप, दर्जनौँ होटेल/रिसोर्टलगायत विभिन्न नमुनायोग्य कामले धुलिखेलको पहिचानमा व्यापक बदलाव आएको छ । कुनै बेला गएगुज्रेको अवस्था व्यहोर्न विवश धुलिखेलको यसरी कायापलट गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका पात्र हुन्– बेलप्रसाद श्रेष्ठ । तत्कालीन धुलिखेल नगरपञ्चायतका प्रथम नगरप्रमुख एवम् समाजसुधारक व्यवसायी बेलप्रसादलाई उनको कर्मको कदर गर्नेहरू ‘धुलिखेलका नगरपिता’ भन्न रुचाउँछन् । विकास कार्यमा पुऱ्याएको योगदानको पारितोषिकस्वरूप दिइएको यस्तो विशेषण सुन्दा असी वर्ष पुग्दै गरेका यी ज्येष्ठ नागरिकलाई कस्तो अनुभूति हुँदो हो भन्ने जिज्ञासाका साथ बेलप्रसाद श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

० तपाईंलाई धुलिखेलको नगरपिता भनेर सम्बोधन गरेको सुनिन्छ । यो विशेषण तपाईंलाई किन दिइएको होला ?
– मलाई नगरपिता भनी सम्बोधन गरेको सुन्दा एक हिसाबले रमाइलै लाग्छ, अलिक अप्ठ्यारोजस्तो पनि लाग्छ । तर, हिजोका दिनदेखि अनवरत खट्दै मैले गरेका काम–कुरा सम्झेर स्थानीय नागरिकले माया गरेर यस्तो भनेका होलान् भनी सन्तोष मान्दछु । मलाई यस्तो सम्बोधन गर्दा पुराना कुराको सम्झना आउँछ । हिजो धुलिखेललाई जुन रूपमा राखिएको थियो, र त्यसबाट परिवर्तन गराई यहाँको आर्थिक तथा सामाजिक विकास तथा परिवर्तनका लागि हामीले जे–जति काम गर्न सक्यौँ, सायद त्यसकै कदर गरेर यसो भनिएको होला भन्ने लाग्छ ।

कहिले–कसरी आयो परिवर्तनको सोच :

५०–६० वर्षअघिको कुरा हो । हामीले केही गर्ने भनेर बाटो देखाएपछि मानिसको चाहना पनि हुर्कियो, आवश्यकता पनि बढ्यो । यहाँ खानेपानीको ठूलो समस्या थियो । महिलाहरू बिहान ३ बजे नै उठेर पँधेरोमा पुग्नुपथ्र्यो, तर पर्याप्त पानी पाउँदैनथे । शैक्षिक जागरण थिएन, खासगरी महिला निकै पिछडिएका थिए । सरसफाइको कुरै नगरौँ, जताततै फोहोर । शौचालयको व्यवस्था थिएन । चर्पी कहाँ छ त भनी सोधियो भने ‘जताततै छ नि’ भन्ने जवाफ पाइन्थ्यो । मतलब जहाँ पायो त्यहीँ दिसापिसाब गर्ने चलन थियो । यसले खासगरी स्थानीय महिला वर्गलाई निकै पिरोल्यो । किनकि, उनीहरू खुला स्थानमा शौच गर्न सक्दैनथे । त्यसैले उज्यालो नहुँदै बिहान उठेर दिसापिसाब गर्नुपथ्र्यो । ढलको व्यवस्था नहुने हुँदा पानी पनि फोहोर हुन्थ्यो । मानिस, कुकुर, कुखुरा, सुँगुर, गाईगोरु सबैले सराबरी रूपमा फोहोर गर्दथे । यसरी धुलिखेलको सिङ्गै परिवेश प्रदूषित बनेको थियो । शिक्षा, स्वास्थ्य, खानेपानीका साथै रहनसहन नै दूषित अनुभूति भएपछि केही त गर्नैपऱ्यो भनेर म अग्रसर भएको थिएँ ।

अमेरिकाबाट सिकेको पाठ :

नयाँ धुलिखेल निर्माणका लागि प्रेरणाको कुरा यो भयो कि म १९६७ मा अमेरिका गएको थिएँ । पिसकोरअन्तर्गत नेपाली भाषा र क्रस कल्चरबारे सिकाउन गएको थिएँ । एक वर्ष अमेरिका बस्दा जीवन बिताउन आवश्यक सबै कुरा बन्दोबस्त भएको देखेँ । त्यहाँको विकाससँग तुलना गर्दा नेपाल, त्यसमाथि पनि धुलिखेल त कहाँ छ कहाँ, कल्पनै गर्न नसकिने । त्यो देखेर धुलिखेललाई परिवर्तन गर्ने अठोट गरेँ । अमेरिकाजस्तै बनाउन सकिने कुरा त भएन, तर केही त शुरुवात गर्नैपर्छ भन्ने लाग्यो । त्यहाँबाट आएपछि सुरुमा त म आफैँ हराएँ । अलमल्ल परेँ । अनि घर–घरमा चर्पी बनाउनैपऱ्यो भनेर लागिपरेँ । तर, मानिसहरूले किन घरमै चर्पी बनाएको ? बहुलायौ कि कसो ? भनेर भन्न थाले । घरमै चर्पी भएपछि त दुर्गन्ध आइहाल्छ नि भनी नाक खुम्च्याउँथे उनीहरू । मैले तर्क गरेँ, ‘फोहोर कुल्चेर हिँड्दा नगनाउने, अनि सुरक्षित तवरले चर्पी बनाउँदा झन् गनाउँछ भन्ने ?’ उनीहरू खुला स्थानमै दिसापिसाब गरे हुन्छ, त्यो फोहोर कुकुर र सुँगुरले खाएर सफा गरिदिइहाल्छ भन्ने तर्क गर्थे । मैले भनेँ, ‘मानिसको दिसापिसाब त सुँगुर र कुकुरले सफा गरिदिन्छ, तर सुँगुर–कुकुरले गरेको फोहोरचाहिँ कसले गरिदिन्छ नि ?’

यस्तै, केटा पढ्ने ठाउँमा केटीलाई सँगै कसरी पढ्न लगाउने भनेर अवरोध गरे । मैले केटीहरूका लागि छुट्टै स्कुलको व्यवस्था गरेँ । पछि त मानिसले बिस्तारै आफै बुझ्न थाले ।

धुलखेलको हावापानी निकै राम्रो, हिमाली शृङ्खला देखिने, काठमाडौंबाट नजिक पनि छ । प्राकृतिक सौन्दर्यको हिसाबले पनि यसलाई एकदम सुन्दर शहरको रूपमा कल्पना गर्न सकिने अवस्था हुँदाहुँदै पनि हामीले यसको महत्व नबुझेकोजस्तो अनुभव भयो । अर्को कुरा हाम्रा बाजे–बराजुले यहाँ हरिसिद्धि, भगवती, नारायण, गणेशका मन्दिर, पाटीपौवा, धाराहरू आदि बनाएर गएका छन् । यसको संरक्षण र यस्ता कार्यको निरन्तरता वा थप कार्य कसरी गर्ने भन्ने मलाई लागिरहेको थियो । अमेरिकाबाट फर्केर आएपछि सर्वप्रथम आफैँलाई परिवर्तन गर्नुपर्छ भन्ने लागेर मैले कुरा होइन काम गरेर देखाउनेतिर लागेँ । अमेरिकामा यस्तो देखेँ, उस्तो देखेँ, यो रहेछ त्यो रहेछ भनेर गफ मात्र गर्न थालेँ भने समय त्यसै बितेर जानेछ भन्ने लाग्यो र त्यहाँको विकासबारे सुनाउने होइन जे–जति सकिन्छ गरेर देखाउनेतिर म लागेँ । सर्वप्रथम खानेपानी कसरी ल्याउन सकिन्छ भन्ने ध्येय भयो । धुलिखेल अग्लो छ, वरिपरि पानीको स्रोत पनि छैन, कसरी पानी आउँछ भनेर आश्चर्य मान्न थाले । मैले घरको छानोमा ट्याङ्की बस्छ, त्यहाँबाट पानी आउँछ अब भनेर जवाफ दिन थालेँ । यस्तो कुरा सुनेर उनीहरूले मलाई बहुलायो कि कसो हो भन्ने थाले । यो काम स्थानीय मानिसकै सहयोग र सहभागिताबाट सम्भव छ भन्दै मैले केही व्यक्तिलाई आफ्नो योजनामा सरिक गराएँ । कसरी गरियो भन्ने कुराको बेग्लै कथा बन्छ । तर, अहिले हेरौँ त हामीले कल्पना गरेअनुसार धुलिखेलमा पानीको सुविधा र अन्य कुराको विकास ? गर्नै नखोजेको भए कहाँ सम्भव थियो र ?

महिलाको हितमा सुधार कार्य :

सजिलो थिएन त्यो जमानामा महिलाका लागि अलग्गै विद्यालय खोल्न । मानिसहरू भन्थे– ‘केटीहरूले कहाँ पढेर खान्छन् र ? यिनीहरू अलिक हुर्केपछि बिहे गरेर श्रीमान्को घरमा जान्छन् । यिनका लागि हामीले खर्च किन गर्ने ? बिहे गरेर आफ्नै घरको काम गरेर बस्छन् नि केटीहरू त ।’ तर, दिनभर गाईवस्तु हेर्ने, मेलापात गर्ने महिलालाई बेलुकाको समयमा शिक्षकको व्यवस्था गरेर पढ्ने माहोल पैदा गरियो । मानिसलाई देखाउनु पनि पऱ्यो भनेर बाटोकै बीचमा राखेर पनि पढाइयो । क्लासमा आउन थालेपछि केटीहरू कपाल कोरिबाटी गर्ने, सफासुग्घर भएर चिटिक्क परेर आउन थाले । आपसेआप उनीहरूमा परिवर्तन देखिन थाल्यो । केटाहरूले शुरु–शुरुमा गिज्याउँथे, पछि त सफा चिटिक्क परेका केटीहरूका कारण आफूहरू पनि त्यसैगरी सफासुग्घर बन्ने, राम्रो देखिने प्रयत्न गर्न थाले । यस्तो खालको परिवर्तन देखिन थाल्यो ।

धुलिखेलमा पहिलो लज :

‘धुलिखेल लज’ भनेर पहिलोपटक होटेल/लज खोलेको मैले नै हो । त्यसमा चिया पकाउने, बडारकुँडार गर्ने, भाँडा माझ्ने, चर्पी सफा गर्ने काम सबै म आफैँ गर्थें । सबभन्दा पहिला चर्पी बनाएको पनि मैले नै हो । काम भनेको सानो–ठूलो हुँदैन, सबै कामको आ–आफ्नै महत्व हुन्छ भन्ने मैले अमेरिकामै सिकेको थिएँ, त्यो यहाँ काम लाग्यो । शुरुमा मानिसहरू मलाई अमेरिकाबाट बिग्रेर आएछ भन्न्थे, पछि तारिफ गर्न थाले । धुलिखेल लजबाट शुरु भएको त्यो आज होटेल हिमालयन होराइजनको रूपमा धुलिखेलकै पहिचान बन्न पुगेको छ भन्दा फरक नपर्ला ।

राजा वीरेन्द्रको साथ–सहयोग :

पहिले धुलिखेल गाउँ पञ्चायत थियो । गाउँ पञ्चायतले काम गर्ने दायरा सीमित हुने हुँदा अप्ठ्यारो प¥यो । त्यसैले गाउँ पञ्चायतबाट नगरपञ्चायत (पछि नगरपालिका) बनाउनेतर्फ पहलकदमी लिएँ । यसबाट धुलिखेलले ठूलो फड्को मार्न सफल भयो । यो कार्यमा तत्कालीन राजा वीरेन्द्रबाट ठूलो सहयोग प्राप्त भयो । बेलाबखत खबर नगरी हाम्रो होटेलमा आइपुग्ने गरेका राजाले हाम्रो अनुरोधमा धुलिखेललाई नगरपञ्चायत बनाउन विशेष पहलकदमी लिनुभयो । यसरी नगरपालिका भएपछि राजासँगकै भेटघाट र छलफलका क्रममा धुलिखेललाई अन्तर्राष्ट्रियस्तरकै शैक्षिक केन्द्रका रूपमा विकास गर्ने प्रस्ताव मैले तात्कालिक नगरप्रमुखका रूपमा राख्दा राजाबाट ‘तिमीसँग के सोच या योजना छन् ?’ भनी सोधनी भयो । मैले पनि शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा धुलिखेलमा धेरै गर्न सकिन्छ भन्दै आफ्ना सोच तथा योजना अघि सारेँ। मेरो कुराबाट चित्त बुझेपछि राजाको निर्देशअनुसार तत्कालीन श्री ५ को सरकारले सोहीअनुसार योजना तर्जुमा गऱ्यो । सबैभन्दा खुसीको कुरा त खानेपानीको योजना सफल भयो र पानीको व्यवस्थाकै कारण अस्पताल पनि आयो, विश्वविद्यालय पनि आयो । सँगसँगै टुरिजमको विकासमा पनि यसैबाट मद्दत पुग्न गयो । अहिले धुलिखेल अस्पतालमा देशैभरका मानिस आउँछन् । काठमाडौं विश्वविद्यालयमा पनि सबै बाहिरकै छात्रछात्रा छन् । तर, यसका लागि मैले मात्र जश लिन मिल्दैन, यहाँका सबै मिलेर मात्र यी कामहरू सफल बनेका हुन् ।

अहिलेका राजनीतिक नेतृत्वलाई सुझाव :

देशमा राजनीतिक व्यवस्था परिवर्तन भएको छ । सङ्घीयताको मर्मअनुसार आ–आफ्ना गाउँ–ठाउँको विकासमा स्थानीय जनता आफैँ अग्रसर बनुन् भन्ने सरकारको पनि चाहना देखिन्छ । तर, यस्तो चाहना राखेर मात्र हुँदैन, सोअनुसार शासन–सत्ताको जिम्मेवार ठाउँमा बसेकाहरूले आफ्नो आचरण, क्रियाकलापमा सुधार ल्याउनु आवश्यक छ । प्रतिपक्षमा रहेका दलहरूले पनि सहयोगी भूमिका खेल्नुपर्छ । आफूलाई परिवर्तन नगरी जनतालाई मात्र सुधार्न खोजेर हुँदैन । जुन कुराको प्रतिबद्धता जनाइन्छ, त्यसलाई पूरा गर्न व्यावहारिक तवरले लाग्नुपर्छ । जनताले धेरै आशा गरिरहेका छन्, तर तीन वर्षअघि गएको भूकम्पका पीडितले समेत अझै राहत पाएका छैनन् । जनताले पनि सरकारको मात्र मुख ताक्ने प्रवृत्ति त्याग्नुपर्छ । आफ्नो ठाउँको सम्भाव्यता पहिचान गरी विकासको पहल स्थानीयवासीले आफैँ गर्नुपर्छ । जनताको आवश्यकता, चाहना र प्रयासलाई सरकारले यथाशक्य मद्दत पुऱ्याउनुपर्छ । विकास–निर्माणका काममा कोही यो वा त्यो दलको भनी परहेजको भावना राख्नुहुँदैन । मिलेर गरे जेसुकै पनि सम्भव छ । एउटा गाउँ विकसित भएपछि वरपरकालाई पनि तातो लाग्छ । यसरी सिङ्गै मुलुक सुधार र विकासको पथमा लम्कन सक्छ ।

प्रस्तुति : जयप्रकाश त्रिपाठी