दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङ्मय सङ्गोष्ठी सम्पन्न

दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङ्मय सङ्गोष्ठी सम्पन्न


नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा मध्यपश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौं, जिल्ला समन्वय समिति, दैलेख, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, नारायण नगरपालिका, चामुण्डा–बिन्द्रासैनी नगरपालिका र भेरी साहित्य समाज लगायतका संघसंस्थाद्वारा कार्तिक २७ र २८ गते दैलेखको दुल्लुमा ‘दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङ्मय सङ्गोष्ठी’को आयोजना गरिएको छ ।

संगोष्ठीमा राष्ट्रिय र स्थानीयस्तरका कवि, लेखक र संस्कृतिकर्मीको सहभागिता थियो । संगोष्ठीमा चार कार्यपत्र प्रस्तुत गरिनाका साथै कविगोष्ठी पनि गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले नेपाली कवितामा कर्णालीको स्थिति, प्रा.डा. डिल्लीराज शर्माले कर्णाली भेगका सांस्कृतिक सम्पदा र ती सांस्कृतिक सम्पदाको अभिव्यक्त हुने धार्मिक समन्वय, डा. मधुसूदन गिरीले कर्णालीका लोपोन्मुख सम्पदा र डिल्लीराज पाण्डेले दैलेखको दुल्लु क्षेत्रमा रहेका संस्कृत र नेपाली भाषा अभिलेखका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

संगोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा अन्य कवि, लेखक र संस्कृतिकर्मीले ‘आफ्नो मूलतिर फर्कौं’ भन्ने मूलनाराका साथ मध्यपश्चिमाञ्चल साहित्य परिषद्मार्फत ‘दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङ्मय सङगोष्ठी, घोषणापत्र–२०७५’ सार्वजनिक गरिएको थियो ।

उक्त कार्यक्रममा डा. जगमान गुरुङ, प्रा.डा. जीवेन्द्रदेव गिरी, डा. विष्णुविभु घिमिरे, केशव सुवेदी, राजाराम सुवेदी, राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल, धनेश्वर नेपाललगायत विज्ञ सहभागी थिए । साहित्यकार टोलीले दैलेख सदरमुकाम नजिकै भुर्तीमा रहेको पञ्चदेवल, बेलासपुर मन्दिर र कोतगढीको अवलोकन पनि गरेको थियो । यस्तै दुल्लूको नेपाली भाषाको पहिलो शिलालेख, तेह्रौँ शताब्दीका मूर्ति, देवल, खम्ब, पञ्चकोशी क्षेत्र, कृतिखम्ब, देवललगायत सम्पदाको अनुसन्धान गरिएको बताइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले समुद्घाटन गर्नुभएको समारोहमा स्थानीय कलाकारहरूद्वारा दैलेख, दुल्लु क्षेत्रमा ऐतिहासिक कालदेखि प्रचलित हुड्के, धमारी, भैलो, भैनी, फट्को, मारुनी, डेउडा, झोडा, मागल, रोपाइँ गीत, वंशावलीरगाथा लगायतका लोक सांस्कृतिक गीति, नृत्यहरू प्रस्तुत गरिएका थिए ।
सो कार्यक्रममा मध्यपश्चिमाञ्चल साहित्य परिषद्का तर्फबाट प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेती र निवर्तमान उपकुलपति तथा वरिष्ठ कवि डा. विष्णुविभु घिमिरेलाई दोसल्लासहित सम्मान(पत्र अर्पण गरिएको थियो भने दुल्लु नगरपालिकाका तर्फबाट कुलपति उप्रेती, निवर्तमान उपकुलपति घिमिरे, प्रा. दिनेशराज पन्त र डा. जगमान गुरुङलाई शिरमा पगरी बाँधिदिएर सम्मान गरिएको थियो ।

त्यस्तै डा. मधुसूदन गिरीलाई पनि नगरपालिकाद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा कुलपति उप्रेती, सांसद राजबहादुर बुढा, राससका अध्यक्ष हरिहर अधिकारी ’श्यामल’, इतिहासकार प्रा. दिनेशराज पन्त, निवर्तमान उपकुलपति घिमिरे, सभाध्यक्ष उपाध्याय, प्रमुख जिल्ला अधिकारी बाँस्कोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।