मनोरञ्जनका साधन के-कसरी ?

मनोरञ्जनका साधन के-कसरी ?


– वीरेन्द्रमणि पौडेल

कीरा, फट्याङग्रा, भ्यागुता र सर्पहरूलाई मनोरञ्जन चाहिन्छ की चाहिन्न होला कुन्नी ! चाहिन त अन्य प्राणीलाई पनि मनोरञ्जन चाहिएला वा नचाहिएला, तिनका पनि मनोरञ्जनका साधन र प्रकारहरू होलान् नहोलान् त्यो आजसम्म मान्छेले खोजी गरेनन् । गरेकै भएपनि खास जानकारी मानवसमाजमा आएको छैन तर जहाँसम्म मान्छेको सवाल हो संसारका हरेक मान्छेलाई मनोरञ्जन चाहिन्छ । विना मनोरञ्जन मान्छेको जीवन औधी निरस हुन्छ । विज्ञहरू भन्छन् मनोरञ्जन स्वास्थ्यसँग सरोकार राख्छ । मनोरञ्जनले मन खुशी बनाउँछ । खुशी मन सुस्वास्थ्यको आधार हो । त्यसैले संसारका हरेक मान्छे खुशी हुनका लागि मनोरञ्जनको छनौट गर्छन् ।

अलग मान्छेका मनोरञ्जनका साधनहरू अलग अलग हुन्छन् । फेरि यो मनोरञ्जन दुई प्रकारका हुन्छन् । एउटा मनोरञ्जनले स्वास्थ्यलाई फाइदा दिन्छ अर्को खालको मनोरञ्जनले स्वास्थ्यलाई हानी पुऱ्याउँछ । फेरि कुनै पनि मनोरञ्जन बानीको रुपमा विकसित हुँदा यसले पनि हानी पुऱ्याउँछ । अब चर्चा गरौं नेपाली नागरिक समाजले अवलम्वन गरेको मनोरञ्जनका साधन र तिनका प्रभाव जो समाजमा स्पष्ट देखिएको छ ।

पुरानो जमानामा मनोरञ्जनको साधन थिएन भन्दा हुन्छ । थियो भने पनि वा थिएन भने पनि मनोरञ्जनको एकमात्र साधन मान्छेको लागि सम्भोग थियो । खाना जुटायो, बास जुटायो । खाना र बासको लागि पूरा समय खर्च गऱ्यो । बचेको समय मनोरञ्जन गऱ्यो । मनोरञ्जन एक मात्र सम्भोग थियो ।

समय परिवर्तन हुँदै गयो । मान्छे आत्मरक्षाको लागि भाग्थ्यो । भाग्नको लागि दौडिन्थ्यो । विस्तार विस्तार त्यही दौडिने प्रक्रियालाई नै प्रतिष्पर्धा र मनोरञ्जनको रुपमा लिन थालियो । पछि खेलकुदको विकास हुन पुग्यो । खेलकुदलाई मनोरञ्जनको रुपमा लिन थालियो ।

मानव समाजमा जुन दिनदेखि मदिरा सेवन गर्न थालियो, मदिरालाई पनि मान्छेहरूले मनोरञ्जनको रुपमा लिए । गाँजा भाँङ धतुरो जस्ता लागू पदार्थहरूलाई पनि मनोरञ्जनको रुपमा लिन थालियो । जित–हारको विषय मनोरञ्जन हुन थालेपछि तास, कौडा जस्ता जुवाका खेलहरू समेत मनोरञ्जनका साधन बनाइए ।

पछिल्ला दिनमा पिङ खेल्न थालियो । पिङबाट मनोरञ्जन लिन थालियो । पौडी खेल्न थालियो । घोडा, हात्ती चढ्न थालियो । पौडी, घोडाचढी र हात्तीचढीलाई मनोरञ्जनको साधनको रुपमा स्विकारियो । कसैकसैले आकाशमा गोली पड्काउनलाई मनोरञ्जन बुझेभने कसैले बन्दुक पड्काएर चरा मार्न र जंगली जनावर मार्नलाई मनोरञ्जन बुझे । समाजले विकासकोे गति समाउँदै गर्दा फुटबल, भलिबल, टेबलटेनिस, क्रिकेट लगायतका थुप्रै खेलहरू जन्मिँदै गए । कबड्डी र डण्डीबियो जस्ता खेलहरू त पुराना भैगए ।

दिनहरू बित्दै जाँदा कथा, उपन्यास र कमिक्सहरूलाई मनोरञ्जनका साधन मान्न थालियो । नाटक, गीत र नृत्यलाई मनोरञ्जनको रुपमा लिन थालिएपछिको केही समयमा सिनेमा बनाउन थालियो । सिनेमाबाट मनोरञ्जन लिनेहरूको संख्या विश्वमै ज्यादा देखियो ।

समाजमा अरुलाई होच्याएर कुरा गर्ने, अरुको कमजोरी उछाल्ने र अरुको कुभलोमा कुरा गर्ने पारा र प्रक्रियालाई पनि मनोरञ्जनको रुपमा लिएको देखियो । जानेर होस् वा नजानेर आफूभन्दा कमजोरलाई हेपेर मनोरञ्जन लिने काम पनि गर्न थालियो ।

यी सबका अलावा नेपाली नागरिक समाजमा अरुलाई होच्याएर कुरा गर्ने, अरुको कमजोरी उछाल्ने र अरुको कुभलोमा कुरा गर्ने पारा र प्रक्रियालाई पनि मनोरञ्जनको रुपमा लिएको देखियो । जानेर होस् वा नजानेर आफूभन्दा कमजोरलाई हेपेर मनोरञ्जन लिने काम पनि गर्न थालियो । यी सबैलाई मनोरञ्जनको रुपमा लिन थालिएको अवस्थाले के बतायो भने केही मनोरञ्जनका साधनहरूले समाजलाई फाइदा दियो भने केहीले नराम्रो धक्का दियो । केही मनोरञ्जनका साधनहरूहरूले समाजलाई अघि बढ्न नदिएको महशुस गरियो ।

समाजलाई अघि बढ्न नदिने मनोरञ्जनका साधनहरू मध्ये अत्यधिक रक्सी सेवनलाई लिइयो भने आफूभन्दा कमजोरलाई हेपेर मनोरञ्जन लिने प्रक्रियाले समेत समाजलाई जहाँको त्यहीँ राख्ने अवस्था सिर्जना गऱ्यो । पछिल्ला दिनमा तास र जुवालाई सरकारले कानुनी रुपमा नै बन्देज लगायो । एकातिर तास जुवाप्रेमीहरूले जुवातासलाई मनोरञ्जनको प्रमुख श्रोत मान्ने अर्कोतिर सरकारले कानुनी रुपमा नै बन्देज लगाउने काम गर्दा असहज अवस्था सिर्जना भयो ।

सरकारले सोच्यो जुवातास समाज विकासको बाधक हो । अशान्तिको कारण हो । चोरी डकैती बढ्नुको कारण हो । तर जुवातासमा कानुनी बन्देज लगाउँदा समेत समाज शान्त हुन सकेन । चोरीका घटना घटेनन् । अपेक्षाकृत समाज शान्त भएन । फेरि कानुनी बन्देज लगाएर पनि जुवातास खेल्नेहरूको संख्या घटेन । लुकीछिपी जुवातास खेल्ने र तिनलाई प्रहरीले पक्राउ गर्ने गरेको समाचार बाहिर आइ नै रह्यो ।

जति प्रहरीले पक्राउ गर्छ उति ज्यादा लुकीछिपी जुवातास खेल्ने गरेको पाइयो । अर्थात् जुवातास नामको जितहाररुपी मनोरञ्जनलिने कामलाई समाजका केही संख्यामा रहेका नागरिकहरूले छाड्न चाहेनन् । प्रहरी आएको सुइँको पाएर घरबाट हाम्फालेर मर्ने तर जुवातास खेल्नचाहिँ नछाड्ने अवस्था देखा प¥यो । यो अवस्था सोचनीय अवस्था हो । उसोभए के जुवातासलाई सरकारले लगाएको बन्देज हटाउन पर्ने हो वा कुनै चाडपर्व विशेषमा खेल्न पाउने गरी फुकुवा गर्ने हो ?

राणाशासनताका नेपालमा तिहारको समयमा जुवा खेल्न पाउने नियम थियो । ढोल बजाएर जुवा फुकेको जानकारी दिइन्थ्योभने तिहार सकिए लगत्तै जुवामा प्रतिबन्ध लाग्थ्यो । राणाहरूले त्यो तरिका अपनाउँदा प्रायः तिहार बाहेक अरु समयमा जुवा खेलिँदैनथ्यो । तोकिएको समयभन्दा अघिपछि जुवा खेलेको भेटिए ठूलै कार्बाही हुन्थ्यो । तर यतिबेलाको अबस्था फरक देखियो । जुवातासमा सधैंभरिको लागि कानुनी बन्देज लगाईँदा जतिबेला पनि जुवातास खेल्नेहरूको संख्या बढ्यो । सत्य यही हो कानुनले मान्छेको ईच्छामा बन्देज लगाउन सक्दैन । उपद्रो गरेपछि पक्राउ गर्ने एउटा विषय हो तर कानुनले मान्छेभित्रको ईँच्छालाई कुनै पनि हालतमा बन्देज गर्न सक्दैन ।

जुवातास खेल्न हुन्न यसले व्यक्ति र समाजलाई हरेककोणबाट घाटा पुऱ्याउँछ भन्ने चेत खुलाउने कानुनले होइन, विवेकपूर्ण शिक्षा र ज्ञानले हो । एकातर्फ राज्यको यो खालको नियम र कानुनले राज्य र नागरिक बीच द्वन्द्व मात्रै बढाउने अबस्था सिर्जना गरेको देखियो । रोगलाई निको पार्ने ठीक खालको ओखती सावित भएन । उपाय यो हुन सक्छ की प्रत्येक जिल्लामा निश्चित समयमा जुवातास खेल्न मिल्ने जुवाघर सरकारले आफैं सञ्चालन गर्ने वा त्यो सम्भव नभए निजीरुपमा सञ्चालन गर्न अनुमति दिने र त्यसबापत कर उठाउने । यो प्रक्रिया अपनाउँदा जुवातास खेल्न चाहनेहरूले तोकिएको समय कुरेर बस्ने अबस्था आउने र जथाभावी र जुनसुकै समयमा जुवातास खेल्ने अबस्थाको अन्त्य हुन सक्ने देखिन्छ ।

मनोरञ्जनका साधनहरूलाई कानुनी रुपको बन्देज होइन, कानुनी रुपकै ब्यवस्थापन गर्न जरुरी छ । कानुनी रुपको व्यबस्थापनले मात्रै जनताको सामाजिक र आर्थिक अबस्था सुधार हुनसक्छ, शान्ति स्थापनामा मद्दत मिल्छ र जनताको स्वास्थ्य कमजोर हुने अबस्थाको समेत अन्त्य हुन्छ ।

मनोरञ्जनलाई स्वास्थ्यसँग जोडेर हेर्दा ज्यादा मनोञ्जन र कम मनोरञ्जन दुवै स्वास्थ्यका लागि हानिकारका सावित भएका छन् । यही कारणले पनि अब सरकारले भनिदिनुपर्छ की नेपाली जनताको मनोरञ्जनको साधन के हो ? कुन प्रक्रियाद्वारा मनोरञ्जन प्राप्त गर्ने ? चौविस घण्टामा कति समय कुन खालको मनोरञ्जनलाई छुट्याउने ? अब सरकारले जनतालाई सम्बोधन गर्न पर्ने अबस्था देखिएको छ ।

नेपाली नागरिकहरूले रक्सीलाई मनोरञ्जनको रुपमा स्विकारे । तर समस्या कहाँनेर देखियो भने रक्सी कुन समयमा सेवन गर्ने वा नगर्ने वा कति सेवन गर्ने सरकारले कहिल्यै निर्णय गर्न सकेन । समाजमा रक्सी सेवन र बिक्री जुनसुकै बेला भएको छ । पेटभरि रक्सी खाउ वा अड्कलेर खाउ जसरी खाउ सरकारले छुट दियो । यसबाट जनताको स्वास्थ्य र आर्थिक अबस्था असन्तुलन त भएको देखियो नै, रक्सी सेवन गर्नेहरूले सेवन गरेर सवारी साधन चलाउन पनि छाडेनन् ।

रक्सी सेवन गरेर सवारी हाँक्दा लाइसेन्समा प्वाल पार्नेदेखि एक रात थुन्नेसम्मको कठोर कानुनी कार्बाही गर्दासमेत रक्सी सेवनपश्चात् सावरी साधन हाँक्नेहरूको संख्यामा कमी नआउनु सामान्य समस्याको विषय होइन । रक्सीरुपी मनोरञ्जनको साधन बिक्रीमा मात्रै कडा नियम बनाइदिने हो भने पनि यो खालको समस्या समाधान हुन सक्छ । जसलाई रक्सी सेवन गर्ने ईच्छा हुन्छ उसले ठीक समयभित्र सेवन गरिसक्ने र बिक्रीको लागि पनि निश्चित समय र स्थान तोकिदिने हो भने समस्या समाधान सहज छ ।

यी सबै कारणहरूको एउटा पोकोले यही भन्छ की अब यो देशका जनताले जुवातास र रक्सी सेवनलाई जुन तरिकाले मनोरञ्जनको खास साधनको रुपमा अँगालेका छन् यस्ता मनोरञ्जनका साधनहरूलाई कानुनी रुपको बन्देज होइन, कानुनी रुपकै ब्यवस्थापन गर्न जरुरी छ । कानुनी रुपको व्यबस्थापनले मात्रै जनताको सामाजिक र आर्थिक अबस्था सुधार हुनसक्छ, शान्ति स्थापनामा मद्दत मिल्छ र जनताको स्वास्थ्य कमजोर हुने अबस्थाको समेत अन्त्य हुन्छ । खाँटी कुरा यही हो । अब जे गर्छ सरकारले गर्छ । जनतालाई नयाँ मनोरञ्जनको साधन दिन्छ कि पुरानालाई ब्यवस्थित गर्छ !?