बर्बरताले कुल्चिएको म

बर्बरताले कुल्चिएको म


– डिल्लीराम अम्माई, बेल्जियम

जवानीको सुर्य उदाउनुपुर्व
बैंसका उर्बर लहरहरुमा
उन्मत्त बनेर हराउनुपुर्व
म रिणले निमोठिएको थिएँ।

सुत्ने बेलामा सोचिरहन्थें
बिहान कसरी बिताउने होला
के भनेर हाकिमकी श्रीमतीलाई
अर्को हप्तासम्म ऋण थामिदिनुस् भन्दै
विनयी बनेर मनाउने होला ?

बिहान उठ्ने बित्तिकै
देवघाटबाट घाम उदाउने बित्तिकै
सुर्यको मुस्कानबाट तर्सिने गर्थें,
एक एक पलमा दिन फलेको देखेर
डरत्रासले म लगलगी काँप्थेँ ,
एक्काइस वर्षपछिको मेरा दिनमा
मेरा कपालका रौँहरु
फिटिक्कै कोरिन मान्दैनथे
मेरो उमेरसँगै बढेको जवानी
ढुंगामा ठोक्किएको तामाझैँ
प्रौढमा झैँ नुहेको थियो !

उज्यालोले तर्साउँथ्यो
घरबाट भगाउँथ्यो र उदास कल्पना भर्दै
तनभरि खलबल
पाखातिर हल्लाउँथ्यो
ऋणको भारी बोकेको गह्रौँ मन लिएर
नयाँ ऋणदाताको खोजीमा भौतारिन्थेँ
हारगुहार र अनुरोध
निर्मोही ठक्कर सुनाउथेँ !

तल्लो चोकदेखि तल
नारायणीको छेउसम्म
घरको तलाबाट पनि हेरिनँ,
ति मेडम हिँड्ने बाटोमा
पुगेर पनि स्वास फेरिनँ
ऋणको डरले होकि
थकाईले किचिएर मुर्छा परेको
स्वाभिमान नब्युँझिएर हो
गाउँ नै ब्युँझिने कर्कस गाली
भूतको झैँ डर लाग्थ्यो उनको
खुला आकास भएर पनि
मेरो आकास बन्द थियो,
खुल्ला धरती भएर पनि
धरतीका बाटाहरु बन्द थिए,

अन्धो नभएर पनि ज्योति थिएन आँखाहरुमा
निसास्सिंदै थिए थुनिएका रहरहरु
मनका कल्पनाले लय बिर्सेको थियो
कानहरुमा
कुनै चराहरुको वा
कुनै गीत संगीतको वा
आमाले बाबु भनेर बोलाउँदाको, वा
साथीले डिल्ली भनेर बोलाउँदाको
कुनै आवाज आउन डराउँथ्यो
केवल तिनै ऋणदाताको
कर्कस ध्वनिले
तिनैको अपमानजनक डुक्र्याइँले
जीवभित्रको चेतना तर्सेको थियो
‘ऋण तिरे दुई दिनभित्र तिरेस्
हैन भने समाज जोड्छु
लैनो भैंसी फुकाएर लगिदिन्छु’
सपनामा पनि सपना आउँदैनथ्यो
सपनामा हावासरी
विपनाको असैह्य चोटले
तिनै मेडमलाई बोलाउँदथ्यो
तीन प्रहरसम्म उनकै आवाजमा थर्काउँदथ्यो
ब्युँझँदा समेत
त्यहि सपनाले कायल गराउँदथ्यो
होचिँदै गएको मेरो किशोरकाललाई
पातकीले निमोठ्न खोजे पनि
मेरी आमाको आँशुभित्र
निर्दयीले खुशीको झलक देखे पनि
मेरो मनको फुल च्यातिँदै थियो
आफ्नै आँगनको जुनेली चहक पनि
मन गह्रुङ्गो भएकोले होला
विष वृक्षको काँढाले कोपेर
रक्ताम्य हुँदै भासिँदै थियो

फेरि मलाई कुल्चिनको लागि
हप्तादिनको भाका सकिएको दिन
डम्पिंग साइडको दुर्गन्धित गालि दिँदै
मेरो छातीमा तिर चलाउन
उनी डल्फिन माछाझैँ उफ्रँदै
मेरै घरको पालीतल बाङ्गिइन्,

मैले घृणाले धिक्कार्न मन लागेर पनि
उनको निर्दयी चेतलाई
कुचो लागाउन मन लागेर पनि
उनको कर्कस अवतारलाई
गला निचोर्न मन लागेर पनि
मेरो स्वाभिमानमाथिको आक्रमणलाई
गोली बनेर छातीमा बज्रिन मन लागेर पनि
म डरले लुट्पुटिएँ !

मेरो घर प्यारो भएर पनि
डरको नयाँ नाम बनेको थियो,
मेरी आमाको माया भएर पनि
ऋणले बिटुल्याएको थियो,
जीवन प्यारो कसलाई हुँदैन र !
तर ऋणको चोटले होला
खुट्टाको चोट दुख्न छाडेको थियो,

राक्षसी छायाबाट म तर्सिएँ
फारसी बदाम जस्तै
डल्लो परेर खुम्चिएँ
भन्नुपर्ने कुरा थोरै भनें
उनले फर्सी झैँ
पलेँटी कसिन्
मैले कुराको टपरी गाँस्न थालेँ,
आमा रुन थाल्नुभो,
बैनीको अनुहार बिग्रियो,
सुत्केरी श्रीमती रुँदै बाहिर आइन्,
छिमेकीले सहानुभूति दर्साए
मैले हजार बिन्ती चढाएँ
खुट्टा समाएँ !

निर्दयी हुरीले घर उजाड बनायो
ऋण तिरिदिने शर्तानामा भो,
कुटिल छिमेकीले उनकै मुल्यमा
लैनो भैंसीको दाम्लो फुकाए
मेडम मस्किन्
भैंसीले टाट्नो फेर्यो
छोरीको मुख पुछियो
आमाको सितन, र शिशुको बुबु
श्रीमतीको सुत्केरी खुराक
सब सकियो
मेरो चेत शुष्क हुँदै
मुटुबाट निचोरिएर
आँखाबाट तप्कियो !

छिमेकी बुबाले नराम्रो मान्नुभो
र सुनिनेगरी श्राप दिनुभो-
‘अभागी हो भन्दैमा डिल्लीबाबुको
गरिब हो भन्दैमा डिल्लीबाबुको
भैंसी फुकाउनु हुँदैनथ्यो,
भर्खरै जन्मेकी चिचिली छोरीको
मुखको दुध छिन्नु हुँदैनथ्यो
बुढी आमाको गाँस भिजाउने
गलाको मलम लुट्नु हुन्नथ्यो
जिउँदो शिशुको श्राप लागोस् !
वैधानिक लुटको लागि
दुष्टहरुलाई नराम्रो बात लागोस् !’

आज म उनैलाई सम्झीरहेछु
सम्झनालाई हरियाली दिने
सभ्य असभ्यको मर्म बुझ्ने
आडम्बर र अहंकारले लिप्त
अभिसप्त ज्यानमाराहरु विरुद्ध
मेरो मनमा संकल्प भरिदिँदै
अनिष्टको छाया आफ्नै भएपनि
मुर्दावादको दियो जलाउने
अरुको आस्थालाई अपमान गर्दा
न्याय र समानताको आवाज बोल्ने
प्रिय ज्योतिष बुबा !

त्यतिखेरैबाट
म निखारिँदै आएको हुँ
जतिबेला आतंककारीहरुले
मेरो खुशी लुटे
तपाईंले साहसको संकल्पले
मेरो रोएको मन पखाल्नु भो
कन्चन मणि जस्तै
पवित्रताको न्यायिक धुनले
मुर्दा तुल्य पशुहरुको
मलामी हुन समेत इन्कार गर्नु भो,
र त अहिले म पनि
निर्धक्क तपाईंकै पथमा
तपाईंकै धुकधुकी बचाउने धुनले
मेरो स्वतन्त्रतालाई
कसैले छुन नसक्ने बनाएको छु,
तपाईंले कायर घोषणा गरेका
सामाजिक आतंककारीहरुलाई
तपाईंले झैँ औंलाले छातीमा देखाएर
मान्छे झैँ बाँच्न सिकेको छु !

आफ्नै दृष्टिमा आफै हराउने
झन्डै अन्धकारतर्फ हिँडेको म,
विग्रहको आगोबाट सेकिएर
झन्डै झन्डै पग्लिंदै गएको म
विजातीयहरुको विरुद्ध
कलमरुपी हरियार प्रहारले
छियाछिया बनाएर छिमेल्दै
दृढताले उभिने भएको छु !
मलाई केरकार गर्ने हिम्मत
मलाई छेक्ने हिम्मत,
मेरो घरको भैँसी फुकाएर
मेरा शिशुहरुको खुराक लुट्ने हिम्मत,
तपाईंले दिएको उज्यालोले
सप्तरंगी बनाइदिएको छ बुबा !

तपाईं तपाईंमा नभएर केभो त
तपाईं ममा हुनुहुन्छ अचेल,
तपाईं जीवमा नभएर केभो त
तपाईं गति र मनमा हुनुहुन्छ अचेल,
निशाचरको निन्दा गर्दै
उनीहरुको निर्गतिमा
दृढतापुर्वक शोक धुन बजाउने
तपाईंले फुकेको त्यो शंख
अचेल मैले फुक्दै छु बुबा !

मेरो जीवनलाई कालरात्रि बनाउने
कुरुप साहुजीहरुको छातीमा
काला पोस्टरहरु टाँसेर
मेरा काला दिनहरुमा
सिङ्गै पर्वत भएर उभिएको
तपाइको सजिव चित्र
जीवन्त छ मेरो जीवनमा,
सिंगो युग भएर उभिएको छ
आँखामा पट्टि बाँधेर
हुटिट्याउँले आकास थामे झैँ
आँफैलाई सरकार सम्झने मेडम
मेरो भैँसी फुकाउने महाजन !

तिमीले थाम्दैमा अँध्यारो युग
तिमीले रोक्दैमा काला दिन
तिमीले निभाउदैमा उज्यालो प्रकास
तिमीले खोस्दैमा शिशुको गाँस
थामिने छैन मक्काइसकेको द्वार !
ढल्दैछ तिम्रो आयुसंगै
तिम्रो पट्यारलाग्दो जीवन
र तिम्रा कर्तुतहरुको पिरामिड !

जीवनका धक्का कारण बनेर
सुन्दरताको पछिपछि
विदेसिएको छ मेरो कथा,
र अर्को कथा बनेर
सुर्यझैँ प्रकासमा
आफ्नै रंगको जलपमा
जवानी बनेर फेरि उदाएको छ
निभाउने प्रयत्नमा पनि
पुनः प्रकाश बनेर ब्यथाहरुको
इन्धनभित्र पुनः उदाएको छ।