सुटुक्क अमेरिका गएको बारे मुख्यमन्त्री राईद्वारा यस्तो आयो प्रष्टोक्ति

सुटुक्क अमेरिका गएको बारे मुख्यमन्त्री राईद्वारा यस्तो आयो प्रष्टोक्ति


उपचारका लागि बैंकक जाने भन्दै सुटुक्क अमेरिका पुगेको भन्दै आलोचित बन्न पुगेका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो अमेरिका यात्राबारे प्रेस विज्ञप्तिमार्फत् स्पष्टिकरण दिएका छन् ।

मुख्यमन्त्रीको कार्यालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रदेश सरकारको मन्त्रिपरिषद्को कात्तिक ११ गतेको बैठकको निर्णयअनुसार आफू निजी खर्चमा उपचारका लागि कात्तिक १६ गते थाइल्याण्डको राजधानी बैंकक गएको जनाइएको छ । बैंकक उपचारका क्रममा स्वास्थ्य जाँचको अन्तिम रिपोर्ट आउन ढिलो हुने भएको हुनाले सोही समयको उपयोग गर्दै निजी एवम् पारिवारिक भेटघाटका लागि अमेरिका गएको विज्ञप्तिमा प्रष्ट्याइएको छ ।

आफूले अमेरिका यात्राको लागि रातो पासपोर्ट प्रयोग नगरेको दाबी गर्दै मुख्यमन्त्री राईले यात्राको क्रममा अमेरिका न्यूयोर्कस्थित प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासङ्घको संयुक्त आयोजनामा एक भेलामा सहभागी भई बाल्टिमोर, वाशिङटन डिसी, वफेल्लोलगायत केही ठाउँको भ्रमण गरेको जानकारी दिएका छन् ।

मुख्यमन्त्री राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्नो अमेरिका भ्रमणलाई केही पत्रपत्रिका एवम् मिडियाले विवाद सिर्जना गरी आफ्ना सहयोगी पारुहाङ राईको नाम जोडर कपोककल्पित भ्रमपूर्ण प्रचारबाजी गरेकामा त्यसको खण्डन गर्दछु भन्ने ब्यहोरा उल्लेख छ ।

उपचारका लागि विदेश जाने सम्बन्धमा सङ्घीय सरकारलाई जानकारी गराएको पनि विज्ञप्तिमा जनाइएको छ । यस्तै, उपचारको क्रममा ६ महीनाको औषधि सेवनपछि आगामी २०७६ वैशाख ६ गते स्वास्थ्य जाँचका लागि पुनः बैंकक जानुपर्ने पनि उल्लेख गरिएको छ ।

आफ्नो स्वास्थ्य लाभको कामना गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीप्रति उनले धन्यवाद ज्ञापन गरेका छन् ।