दाङमा प्रहरीमाथि खुकुरी प्रहार

दाङमा प्रहरीमाथि खुकुरी प्रहार


दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ । शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वलीमाथि खुकुरी प्रहार भएको हो ।

जवान वलीको टाउकोमा १० टाँका लागेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । चौधरीका अनुसार स्थानीयवासी थप दुईजनासमेत घाइते छन् । सोही ठाउँका विशाल रोका र नैनबहादुर नेपालीको टाउकामा सामान्य चोट लागेको बताइएको छ ।

रोका र नेपालीको समूहबीच आपसी विवादपश्चात् झडप भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारको आरोपमा अमुवाका २५ वर्षीय चन्द्रबहादुर नेपाली, २० वर्षीय नैनसिंह नेपाली, २२ वर्षीय सुकलाल नेपाली र १६ वर्षीय वीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूका साथबाट खुकुरी, बञ्चरो, खुर्पालगायतका घरेलु हतियार बरामद गरिएको छ । प्रहरीले आरोपीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी गरेको छ ।