४० वर्षपछि खमेर रुज शासनकालका दुई उच्च नेता नरसंहारका दोषी ठहर

४० वर्षपछि खमेर रुज शासनकालका दुई उच्च नेता नरसंहारका दोषी ठहर


कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरू जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको झन्डै एकतिहाइ मानिसको मृत्युको कारण मानिएको क्रूर सत्ता पतन भएको ४० वर्षपछि शुक्रबार यस्तो ठहर गरिएको हो ।

खमेर रुज शासनका पूर्वप्रमुख ८७ वर्षीय खिउ साम्फान र दोस्रो नम्बरका नेता ९२ वर्षीय नुओन चेअ मात्र हाल जीवित छन् । अतिवादी माओवादी समूहका यी दुवै नेता सन् १९७५ देखि १९७९ सम्म कम्बोडियाको शासनसत्ताका प्रमुख पदाधिकारी थिए ।

‘ब्रदर नं. १’ भनेर चिनिने पोलपोटले अति बढी काम लगाएको, भोकमरी र आमहत्याका कारण झन्डै २० लाख कम्बोडियालीको ज्यान लिएका थिए, तर शुक्रबारको फैसलामा यो हत्यालाई पहिलोपटक नरसंहार ठहर गरिएको छ ।

सन् १९७५ अप्रिलमा नोमपेन्हमा हिंसा मच्चाएको र मानिसलाई पलायन हुन बाध्य पारेको अभियोगमा दुई नेतालाई सन् २०१४ मा जन्मकैदको सजाय दिइएको थियो । तर, कम्बोडियाली विशेष अदालतले शुक्रबार गरेको फैसलामा नुओन चेअलाई अल्पसंख्यक भियतनामी र चाम अल्पसंख्यक मुस्लिम समुदायको नरसंहारमा पनि संलग्न रहेको भन्दै दोषी ठहर गरेको छ ।

भोकमरी र आमहत्याका कारण झन्डै २० लाख कम्बोडियालीको मृत्यु भएको यस घटनालाई शुक्रबारको फैसलाले पहिलोपटक नरसंहार ठहर गरेको छ

‘पोलपोटसँगै मिलेर नुओन चेअले शक्तिको दुरुपयोग गरेका छन् … त्यसकारण यी सबै अपराधमा नुओन चेअ जिम्मेवार ठहरिन्छन्,’ न्यायाधीश नील नोन्नले आदेशमा भनेका छन् । ‘चाम अल्पसंख्यक र धार्मिक समूहमा आबद्ध मानिसको हत्या गरी नरसंहारजस्तो गम्भीर अपराधमा नुओन चेअ संलग्न पाइए ।’

‘खिउ साम्फान पनि भियतनामी अल्पसंख्यकमाथि नरसंहार मच्चाएको आरोपमा दोषी भेटिएका छन्,’ अदालतको आदेशमा भनिएको छ । अदालतले फैसला सुनाउने क्रममा अदालतबाहिर भेला भएका सयौँले फैसलाको स्वागतमा नाराबाजी गरेका थिए । जातीय नरसंहारको यो घटनामा पोलपोट शासनकालका चार वर्षलाई समेटिएको छ ।

‘यो फैसलाले नुरेम्बर्ग फैसलालाई सम्झाएको छ, र यसको विशेष महत्व छ । यो फैसला कम्बोडिया, अन्तर्राष्ट्रिय फौजदारी न्याय तथा इतिहासको प्रामाणिक कथाका रूपमा रहनेछ,’ खमेर रुज मामिलामा राष्ट्रसंघ महासचिवका विशेष विज्ञका रूपमा सेवा गरिसकेका डेभिड सेफरले बताए ।

बौद्धमार्गीको बाहुल्य रहेको कम्बोडियामा खमेर रुज विद्रोहीहरूले बलको आडमा सामाजिक वर्ग र धार्मिक प्रणालीलाई ध्वस्त बनाउने अभियान चलाएका थिए । कारागार र कार्यस्थलमा जबर्जस्ती विवाह, बलात्कारसमेतका अमानवीय कार्यहरू पनि यही शासनकालमा भएको थप आरोपसमेत दुवैमाथि लागेको छ ।

कम्बोडियाली र अन्तर्राष्ट्रिय कानुनको प्रयोग गर्ने गरी स्थापित यो अदालत सन् २००६ मा संयुक्त राष्ट्रसंघको अगुवाइमा गठन भएको हो । यो विशेष अदालतले खमेर रुजका वरिष्ठ नेताहरूबाट भएका अपराधको सुनुवाइ गर्दछ ।

यो अदालतले तीनजनाविरुद्ध मात्र फैसला दिएको छ । अनुसन्धान र अदालती प्रक्रियामा करिब ३० करोड अमेरिकी डलर खर्च भइसकेको छ । खमेर रुज शासनका विदेशमन्त्री इएङ सारी र उनकी पत्नीको मृत्यु भइसकेको छ भने पोलपोटको सन् १९९८ मा मृत्यु भएको थियो ।

धेरैको विश्वासमा शुक्रबारको फैसला अन्तिम हुनेछ । राजनीतिक हस्तक्षेपबाट विशेष अदालतको कामकारबाहीमा असर पुगेको थियो । विगतमा खमेर रुजका कार्यकर्तासमेत रहेका प्रधानमन्त्री हुन सेनले खमेर शासनबारे थप अनुसन्धान नगर्ने बताउँदै आएका छन् । उनको विचारमा थप अनुसन्धानले मुलुकको स्थायित्वमा असर पर्नेछ ।