बेलुनमा उडेर पोखराको दृश्यावलोकन गर्ने कि ?

बेलुनमा उडेर पोखराको दृश्यावलोकन गर्ने कि ?


नेपालको पर्यटन क्षेत्रमा एक छुट्टै प्रकृतिको साहसिक खेलको रुपमा बेलुनमा बसेर मनोरम पोखराको दृश्यावलोकन गर्ने खेल शुरु गर्न लागिएको छ । बेलुन नेपाल प्रा.लि. नामको कम्पनीले पोखरामा यस्तो प्रबन्ध गर्न लागेको हो ।

उक्त कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलन गरी जनाएअनुसार यसका लागि डेढ करोड रुपियाँको लगानीमा स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरिद गरिएको छ । पर्यटकीय नगरी रमणीय पोखराको धम्पूसबाट उडान गरी मार्दी खोलाको तीरमा बेलुन अवतरण गर्ने कम्पनीले जनाएको छ । यसबाट नेपाल सरकारलाई राजस्वमार्फत आर्थिक टेवा पुग्नुका साथै प्रत्यक्ष रुपमा २५ जनालाई रोजगारी पनि सृजना हुने दाबी गरिएको छ ।

सो मनोरम खेलअन्तर्गत नेपाली नागरिकलाई प्रतिव्यक्ति ११ हजार रुपैयाँ र विदेशी पर्यटक प्रतिव्यक्ति १६० डलर शुल्क लिई एक पटकमा ८ जनासम्म पर्यटकलाई एकघण्टा उडान गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यस खेलका लागि आवशयक सम्पूर्ण सुरक्षा व्यवस्थाका लागि प्रा.लि. पूर्ण रुपमा सचेत रहेको दाबी पनि गरिएको छ ।

कम्पनीले जनाएअनुसार तालिम प्राप्त बेलुन–पाइलटद्वारा गरिने उडान पूर्णतः सुरक्षित हुने र यसका लागि भारतबाट तालिमप्राप्त दक्ष पाइलटको व्यवस्था मिलाएको छ भने ग्राउण्ड ह्याण्डलिङको लागि स्वदेशी युवाहरुलाई तालिम दिई ग्राउण्ड ह्याण्डलिङ टेक्निसियनको रुपमा पनि व्यवस्था मिलाइसकेको छ र आवश्यकताअनुसार स्थानीय व्यक्तिहरुलाई तालिम दिई दक्ष बनाई नेपालमै हट एयर बलुनको व्यावसायिक उडानका लागि आवश्यक जनशक्ति तयार गर्ने लक्ष्य पनि लिइएको छ ।

नेपाल सरकार, पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणसँग इ्रजाजत लिई भविष्यमा हटएयर बेलुनबाट नै स्काई डाइभ, बन्जी जम्प एवम् हट बेलुनसँग सम्बन्धित अन्य कार्यक्रमहरु पनि गर्दै जाने लक्ष्य लिई हटएयर बेलुन सम्बन्धी नेपालमा नै एक सुविधासम्पन्न कार्य क्षेत्र निर्माण गर्ने उद्देश्य लिएको बताइएको छ ।