१३औँ पुण्यतिथिमा पद्मरत्नको सम्झना

१३औँ पुण्यतिथिमा पद्मरत्नको सम्झना


नेपाल सम्वत् आन्दोलनका प्रणेता, अधिकारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर दिवंगत भएको १३औँ पुण्यतिथिका दिन आज वसन्तपुरमा आयोजित श्रद्धाञ्जली सभामा भाषा, समावेशिता, मानवअधिकार र शान्तिप्रक्रियामा तुलाधरले पुऱ्याएको योगदानको स्मरण गरियो ।

सो सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तुलाधरप्रतिको सम्मानलाई औपचारिकतामा मात्र सीमित नराखी जनस्तरबाट अभियानको रूपमा अघि बढाउनुपर्ने र उनका सकारात्मक सन्देशलाई चिरस्थायी बनाउन नयाँ पुस्तामाझ पुऱ्याउनुपर्ने खाँचो औँल्याए ।

दिवंगत तुलाधरलाई मुलुकमा निरंकुश शासन रहँदा निर्भीक भएर आन्दोलनको अगुवाइ गर्ने महानायकको रूपमा स्मरण गर्दै पोखरेलले तुलाधरको हरेक भूमिका सशक्त र निष्ठापूर्ण भएको बताए ।

पूर्वसभामुख दमननाथ ढुंगानाले शान्तिप्रक्रियालाई टुंगोमा पुऱ्याउन तुलाधरसँग वर्षौं सँगै हिँडेको र अब पनि उनकै मार्गमा हिँडेर उनीद्वारा थालिएका अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले तुलाधरलाई आदिवासी जनजाति आन्दोलनको पर्यायको रूपमा स्मरण गरे ।

राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले उत्पीडित र पिछडिएका समुदायको अधिकार स्थापित गर्ने संघर्षमा तुलाधरको हिस्सेदारी अतुलनीय रहेको बताए ।

श्रद्धाञ्जली सभा आयोजक समितिका तर्फबाट अधिकारकर्मी मल्ल के सुन्दरले तुलाधरजस्ता व्यक्ति फेरि–फेरि जन्मिरहून् भनी कामना गर्नु सान्दर्भिक हुने विचार व्यक्त गरे ।

दिवंगत तुलाधरप्रति जनकवि दुर्गालाल श्रेष्ठ, उद्योगपति लक्ष्मीदास मानन्धर, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, आदिवासी जनजाति महासंघका प्रवक्ता डा. ओम गुरुङ, नयाँ शक्ति पार्टीका नेतृ हिसिला यमी, नेपाल सम्वत् न्हूँद राष्ट्रिय समारोह समिति ११३९ का अध्यक्ष सत्यभामा माथेमा, सांसदलगायतले दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सभाअघि नेपाल परम्परागत बौद्ध धर्म संघका बज्राचार्य गुरुहरूबाट दिवंगत तुलाधरको सुगतिको कामना गर्दै दुर्गति परिशोधन धारणी पाठ गरिएको थियो । दिवंगत तुलाधरको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

तुलाधरको असामयिक निधनका कारण कात्तिक २२ गतेको भिन्तुना ऱ्याली स्थगन गरिएको थियो । यो वर्ष न्हूँद राष्ट्रिय समारोह समितिको आह्वानमा नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वालाई स्मरण गर्दै मंसिर २ गते शंखधर दिवसका अवसरमा वसन्तपुरबाट एक विशाल सांस्कृतिक ऱ्याली निकालिँदै छ ।