क्यालिफोर्नियाको डढेलोमा अझै ६ सय बेपत्ता

क्यालिफोर्नियाको डढेलोमा अझै ६ सय बेपत्ता


अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको भीषण डढेलोका कारण ६ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।

खोजीकार्य अझै जारी रहेकाले मृतकको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । बिहीबार प्राप्त पछिल्लो सूचनामा उद्धारकर्मीहरूले करिब ६३१ जना बेपत्ता भएको स्पष्ट गरेका छन् । साथै उनीहरूले थप सातजनाको शव आगलागी भएको जंगलबाट निकालेको जनाएका छन् ।

यसअघि उक्त डढेकोमा परी करिब तीन सयजना बेपत्ता भएका बताइएको थियो । यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जंगलमा अकस्मात् आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुत गतिमा फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउन ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

गत नोभेम्बर ८ मा शुरु भएको सो डढेलोमा परी बिहीबारसम्म मृत्यु हुनेहरूको संख्या ६३ पुगेको छ । डढेकोबाट जंगल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनर्निर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझै कैयौँ व्यक्ति बेपत्ता रहेको हुन सक्ने जनाएका छन् । बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्य जारी रहेको र आगो निभाउने कामका लागि हजारौँ अग्नि नियन्त्रक परिचालन गरिएको अधिकारीहरूले जनाएका छन् ।

क्यालिफोर्नियाको जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समयसमयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरूपमा जंगलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जंगलको आसपास बसोबास गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

पछिल्लो समयमा गत नोभेम्बर ८ मा अकस्मात् बढेको आगोका कारण धेरै मानिस हताहत भएका हुन् ।

यसैबीच प्राप्त एक समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त डढेलो लागेको पश्चिमी क्षेत्रको भ्रमण गरी आगलागीपीडितहरूलाई भेट्ने भएका छन् । उनले उक्त क्षेत्रको भ्रमण गरी आगलागीमा परी ज्यान गुमाएकाहरूका परिवारलाई भेट गर्ने समाचारमा जनाइएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले भोलि शनिबार ती परिवारका सदस्यहरूलाई भेट्नेछन् । उक्त राज्यको इतिहासमा नै यो डढेलो सबैभन्दा विध्वंसात्मक रहेको बताइएको छ ।

पछिल्लोपटक द्रुत गतिमा बढेको आगो सिएरा नोभादा पहाडमा फैलिएको थियो । आगोको गतिअनुसार वृद्धवृद्धा दौडिन नसकेका र उनीहरूका सवारीसाधनलाई नै आगोले भेटाउँदा उनीहरूको ज्यान गएको थियो । यो सियरा पहाडमा बढेको डढेलोका कारण मृत्यु हुने व्यक्तिहरूमा बढी वृद्धवृद्धाहरू रहेका छन् ।

आगोमा डढेर मृत्यु भएका व्यक्तिको पहिचान गर्न गाह्रो भएको बताइन्छ । शरीर जलेका कारण व्यक्तिको पहिचान गर्न नसकेपछि गाउँका हराएका व्यक्तिका आफन्तको डीएनए परीक्षण गरिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।