बुटवलमा २० हजार विद्युत् मिटर अभाव

बुटवलमा २० हजार विद्युत् मिटर अभाव


नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको क्षेत्रीय कार्यालय बुटवल वितरण केन्द्रमा २० हजार मिटर अभाव देखिएको छ । मिटर अभावले लामो समयदेखि सम्पूर्ण कागजात पूरा गरी विभिन्न वितरण केन्द्रमा आवेदन दिएका ग्राहकले विद्युत् पाउन नसकेका हुन् ।

सिङ्गल फेज लाइनअन्र्तगतका घरेलु ग्राहकलाई आवश्यक पर्ने मिटर केन्द्रमा नहुँदा ग्राहकको आवेदन क्यूमा छ । बुटवल क्षेत्रीय कार्यालयअन्तर्गतका सबै वितरण केन्द्रमा अहिले २० हजारभन्दा बढी मिटर आवश्यक पर्ने क्षेत्रीय कार्यालय प्रमुख भानुभक्त भट्टराइले बताए । प्राधिकरणले आफ्नो कार्यालयलाई छुट्याइएका १३ हजार मिटर हेटौंडा आइसकेको जानकारी दिए । ‘हाम्रो क्षेत्रीय कार्यालयमा २० हजार मिटरको आवश्यकता छ,’ उनले भने, ‘अहिले १३ हजार मिटर आउँदैछन् । बाँकी डेढ महिनाभित्र सबै ग्राहकका घरमा जडान गरिसक्छौं ।’

यता, बुटवल वितरण केन्द्रमा १ हजार ५ सय ग्राहकले आवेदन दिएको र मिटर आउनासाथ तत्काल ग्राहकका घरमा मिटर जडान गरिदिने प्रमुख सञ्जयकुमार मिश्रले बताए ।