बुढानीलकण्ठ मन्दिरमा आर्थिक हिनामिनाको आशंका

बुढानीलकण्ठ मन्दिरमा आर्थिक हिनामिनाको आशंका


बुढानिलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले मन्दिरका मठाधीश स्वामी निगमानन्द महाराजसँग मन्दिरको नगद तथा जिन्सी सामानको खोजी गर्दा उल्टै आर्थिक अनियमितताको आरोप लगाएर समिति खारेज गर्न लागेको भन्दै सरकारलाई तत्काल यस विषयमा अनुसन्धान गर्न माग गरेको छ ।

समितिका अध्यक्ष शकुल शाह ठकुरीले आफूलाई भूमि सुधार तथा गुठि संस्थानले पाँच वर्षसम्मको लागि नियुक्ति पत्र दिएको भन्दै मठाधीशसँग नगद तथा जिन्सी सामानको बारेमा सोधखोज गर्दा उल्टै आर्थिक चलखेलको आरोप लगाएर उम्किन खोजेको आरोप लगाए । उनले भने,‘जोगी तीन प्रकारका हुन्छन्, धन नभएको जोगी, समाज बहिष्कारमा परेको जोगी र विद्धान जोगी, यस मन्दिरको मठाधीशजी कस्तो जोगी हो मलाई थाहा भएन, मेरो नेतृत्वको समिति १८ महिना भयो, यस समयमा मन्दिरको हितको बारेमा काम भएका छन्, भवनहरु बनेका छन्, गुरुकुल शिक्षामा आवद्ध चार–पाँच जना पुजारी बालकहरुको नाममा पैसा हिनामिना गरिने रहेछ, अहिले त्यो प्रकारको अनियमिततालाई रोकेर हामीले ५० जनालाई बस्ने खाने सबै व्यवस्था गरेका छौं, मन्दिरमा भएका अनियमितताका बारेमा आवाज उठाउँदा उल्टै हामीलाई आरोप लगाउन थाल्नुभयो । यो सरासर गलत छ, आफू बच्नको लागि उहाँले यो कदम उठाउँदै हुनुहुन्छ, जुन कदमले उहाँलाई नै घात गर्छ ।’

त्यस्तै कार्यक्रममा समितिकी कोषाध्यक्ष रजनी पन्तले सरकारले नै धर्ममाथि आक्रमण गर्न थालेको आरोप लगाइन् । उनले भनिन्,‘हाम्रो पहिचान हिन्दुधर्म हो, हाम्रो संस्कार हो, सरकारले नै हिन्दु धर्म मासेर आयातित क्रिष्चियन धर्मलाई बढावा दिन खोज्दै छ, यो हाम्रो लागि स्वीकार्य छैन्, सरकारको काम जनताको दुःखमा साथ दिने हो, विकास गर्ने हो, तर बुढानिलकण्ठ नारायणस्थानको मन्दीरमा राजनीति गर्ने होईन, हरेक मन्दीरहरुमा राजनीतिक नियूक्ति गर्ने गरिँदो रहेछ ।’

प्रदेश सांसद दीपक निरौलाले पाँच वर्षको लागि बनेको समितिलाई भत्काएर नेकपासँग आस्था राख्ने र राजनीतिक पहुँच भएकाहरुलाई ल्याउने खेल खेलेको पनि उनले आरोप लगाईन् । उनले थपिन्,‘उहाँको काम यो होईन, उहाँले त देशको विकास गर्ने हो, एउटा मन्दिरमा आएर राजनीति गर्ने होईन, गुठि संस्थान र भूमिसुधार मन्त्रालयले यस विषयमा गम्भिर अध्ययन गर्नुपर्छ, हाम्रो माग कसैलाई हटाउने होईन, आर्थिक पारदर्शिताको कुरा हो, हामीले उठाएको माग मन्दीरका विकासको लागि हो ।’

वर्तमान सरकारले हिन्दु धर्ममाथि हमला गर्न खोजिरहेको उनको आरोप छ । उनले थपिन्,‘हामी चुप लागेर बस्दैनौं, यो उदाहरणको रुपमा आएको छ, एउटा मन्दिरको विषय होईन, सम्पूर्ण मन्दिरको हालत यस्तै छ, सम्पूर्ण मन्दिरको बारेमा छानविन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

उनले भनिन्,‘हामीले मन्दीरको नाममा हुने गरेका गलत कार्यको वकालत गर्दा उल्टै आर्थिक चलखेलको आरोप लगाउदै राजनीतिक दलका नेतासँग पुग्न थाल्नुभएको छ, हाम्रो सामाजिक जीवन हो, उहाँले लगाउँनु भएको आरोप प्रमाणित गर्नुपर्छ होईन, भने हामीले आफ्नो अधिकार खोज्छौं, कागजी रुपमा प्रमाणित गर्न आग्रह गर्दछु, उहाँ आफै अनियमितता गर्नुहुन्छ अनि हामीलाई आरोप लगाउनुहुन्छ ?’

बुढानिलकण्ठ नारायणस्थान क्षेत्र विकास समितिका सदस्य सचिव मनोज कुमार श्रेष्ठले समितिकी पूर्व अध्यक्ष नर्वदा खड्का र नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काको कार्यकाललाई समेत गुम्राहमा राखेर मठाधीश निगमानन्द महाराजले मन्दिरको नाममा आफू अनुकुल बिल छाप्ने, रसिद काट्ने र जिन्सी सामानहरु आफुसँग राख्ने गरेको आरोप लगाए ।

श्रेष्ठले भने,‘भारतीय दुतावासको आर्थिक सहयोगमा भवन बन्दैछ, त्यसको नाममा मठाधीशले शिलालेखमा तपाईको नाम लेखिन्छ भन्दै सर्वसाधारण तथा मन्दिरमा आउने भक्तजनहरुसँग आँफै रसिद छापेर पैसा उठाउने गरेका छन्, यसका बारेमा हामीले आवाज उठाउँदा आफू चोखो बन्नको लागि अनेकन बाहना निकाल्दै हुनुहुन्छ ।’

समितिले मठाधीश निगमानन्द महाराजले आश्रमको नाममा थानकोटमा घर रहेको र मतदाता परिचय पत्रसमेत रहेको आरोप लगाएको छ । यता बुढानिलकण्ठ नारायणस्थान व्यवस्थापन समिति खारेजको लागि गुठि संस्थानले पत्र काटिसकेको छ ।