दलदलमा दल, कहाँ खोज्ने हल !

दलदलमा दल, कहाँ खोज्ने हल !


सरकारको नौ महिना आलोच्य ढङ्गबाट गुज्रिएको छ । कतै–कुनै सकारात्मक कर्म भए–गरिए पनि ती आलोचनाकै चाङमा चेपिन पुगेका छन् । सयौँ गुणलाई पनि एउटै अवगुणले सिध्याउन सक्छ भन्ने धारणाअनुसार बलात्कारी हत्यारा पत्ता लगाउने सन्दर्भमा गरेको गल्तीले ओली सरकार आमदृष्टिमा बदनाम बन्न पुगेको छ । जनस्तरबाट सरकारप्रति असन्तुष्टि प्रकट गरिँदै गर्दा बेला–बेला सत्तासीन दलका शीर्ष नेताहरूबाटै ‘नेकपाको दुईतिहाइ बहुमतयुक्त सरकारका काम सन्तोषजनक हुन नसकेको’ अभिव्यक्ति सार्वजनिक भइदिँदा ओली सरकार निष्प्रभावी बनेको या जनहितकारी हुन नसकेको पुष्टि हुन्छ । तर, आफ्नैबाट यसरी आलोचना गरिँदा नेकपाका कतिपय नेताहरू सरकारको बचावट गर्दै तर्क दिन्छन्, ‘विगतमा काङ्ग्रेस सरकारले जताततै भत्काएको रहेछ, ती भ्वाङ टाल्दैमा सरकारको समय बितेको हो, अब छिट्टै काम देखिनेछ ।’

नेपाली राजनीतिमा एकले अर्कोलाई दोषी देखाएर उम्कन खोज्ने धूर्त प्रवृत्ति अहिले फस्टाएको होइन । प्रजातन्त्र पुनस्र्थापना भएको भनिएको समयदेखि नै राजनीतिक दल तथा दलका नेतामा यस खालको विशेषता पैदा भएको र तीन दशक अवधिमा यो बेस्सरी मौलाएको मात्र हो । गल्ती सबैले गरेकै हुन्, भत्काएकै हुन्, भ्वाङ पारेकै हुन् र यस्तै दुष्कर्म जारी नै छ । अर्कोको गल्ती औँल्याउन जान्ने, तर गल्तीबाट शिक्षा लिएर आफू सच्चिन या राम्रो गर्नचाहिँ उत्प्रेरित नहुने विचित्रको बिमारीबाट ग्रस्त छन् नेताहरू ।

कुनै दलको छातामुनि भेला हुनु भनेको आफ्नो रुचि, स्वभाव या चाहनालाई आफ्नै स्थानमा थन्क्याएर दलले तय गरेको बाटोमार्फत लक्ष्यतर्फ अघि बढ्नु हो । अर्थात्, प्रकृतिप्रदत्त स्वभावभन्दा विपरीत हिँड्ने ‘साहस’ पनि हो दलको कार्यकर्ता बन्नुको अर्थ ।

अर्काको खोट खोज्न खर्च गर्ने समय सुधार कर्ममा लगाए के बिग्रन्छ ? अरूलाई तुच्छ सावित गर्न सक्दा मात्र आफू महान् देखिन्छु भन्ने सोच विकृत मात्र नभई खतरनाक पनि हुन्छ । यस्तै खतरनाक सोच तथा प्रवृत्तिको सिकार बन्दा देशको दशा लगातार बिग्रँदो छ । न सत्ताधारी पक्षले आफ्नो जिम्मेवारी बोध गरेर सोअनुरूपको धर्म निर्वाह गर्न सक्यो, न त विपक्षी कित्तामा उभिनेले नै आफ्नो ज्युँदो उपस्थिति दर्शाउन सक्यो । दुवैका निकम्मापनले नागरिकमा निराशा बढाएको छ । यही निराशाको ढाडमा कुल्चिएर नेपालकै भाग्य–भविष्यमाथि चलखेल गर्ने परोक्ष प्रयासहरू हुन थालेका महसुस गरिँदै छ ।

यस्तै सिलसिलामा तीन कित्तामा विभक्त राप्रपा नामधारी दलहरूको एकता–प्रयत्न धराशायी बन्न पुगेको छ भने चुनावी हारपछि ‘एक ढिक्का’ भएर अघि बढ्ने प्रण गरेको काङ्ग्रेस पार्टीभित्र गुटगत गतिविधि बढेको देखिँदै छ । एक हुने नाममा भेला हुने तर एकले अर्कोतर्फ धारेहात लगाउँदै तितरबितर हुने प्रवृत्तिको कारकतत्व नितान्त स्वार्थी सोच हो । हरेकको रुचि, स्वभाव, शैली, धारणा फरक हुनु प्राकृतिक गुण हो । यस्तो गुणलाई जित्दै एकैपथमा हिँडेर एउटै गन्तव्यमा पुग्ने अठोट गर्न सजिलो छैन । कुनै दलको छातामुनि भेला हुनु भनेको आफ्नो रुचि, स्वभाव या चाहनालाई आफ्नै स्थानमा थन्क्याएर दलले तय गरेको बाटोमार्फत लक्ष्यतर्फ अघि बढ्नु हो । अर्थात्, प्रकृतिप्रदत्त स्वभावभन्दा विपरीत हिँड्ने ‘साहस’ पनि हो दलको कार्यकर्ता बन्नुको अर्थ ।

यति सामान्य तथ्यको समेत बोध नगरी दलको नेता–कार्यकर्ता बनेर हिँड्न खोज्दा हिँड्नेले पनि सास्ती पाउने र हिँडाउन खोज्नेले पनि गोता खानुपर्ने हुन्छ । हरेकले आफ्नै स्वार्थ लाद्न खोज्छ भने कसरी एकता सम्भव हुन्छ ? सबैले आफैँ मात्र सही देख्न खोज्दा अन्यत्र सत्य कसरी भेटिन्छ ? एक हुने नाममा राप्रपा नामधारी समूहले गरेको प्रयत्न होस् या मूल नेतृत्वलाई तह लगाउने अभीष्टका साथ काङ्ग्रेसी नेताहरूबीच हुन थालेको ‘लन्च मिटिङ’कै सन्दर्भ किन नहोस्, ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने अवधारणाबाट प्रेरित देखिन्छ । तसर्थ, यस्ता प्रयासले सकारात्मक परिणाम प्रदान गर्ने अपेक्षा अत्यन्तै कम गर्न सकिन्छ ।

यतिबेला सरकारका सारथि आफ्नै दलका स्वार्थी–आकाङ्क्षी पात्रहरूको असहयोगका कारण आलोचित बनिरहेका छन् भने प्रमुख प्रतिपक्षी दलका शीर्ष पात्रको असामयिक महत्वाकाङ्क्षा एवम् एकलौटी हिँड्ने हठको सिकार बनिरहेछ सिङ्गै काङ्ग्रेस । काङ्ग्रेसको ओह्रालो यात्राप्रति वास्तविक चिन्ता गर्दै पार्टीलाई ऐतिहासिक पहिचानसहितको ‘ट्र्याक’मा ल्याउन सक्ने इमान र औकात भएका एकाध नेता सो दलभित्र छँदै छैनन् भन्न नसकिएला, तर बेग्लै अभीष्ट पालेका खतरनाक पात्रहरू वर्तमान नेतृत्वमाथि हाबी भइसकेको अनुभूति गरिएको परिप्रेक्ष्यमा जतिसुकै इमान र क्षमता बोके पनि ती किनार धकेलिने सम्भावना प्रबल छ । मुलुक निर्माणमा मूल योगदान पुऱ्याउनुपर्ने दलहरूको यस्तो हविगत सुखद् एवम् समृद्ध भविष्यको द्योतक किमार्थ हुन सक्दैन ।