कांग्रेस केन्द्रीय समिति बैठक शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक शनिबार


नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

शनिबार बस्ने उक्त बैठक नेपाल विद्यार्थी संघको विवादबारे केन्द्रित हुने बताइएको छ । गत भदौ २ गते नैनसिंह महर नेतृत्वको नेविसंघको दुईवर्षे कार्यकाल सकिएपछि तीन महिनाका लागि म्याद थपिएको थियो । त्यो म्याद पनि २ मंसिरमा सकिने भएकाले त्यस विषयमा निर्णय लिन बैठक बोलाइएको हो ।

नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिएपछि मंसिर २ गतेभित्रै महाधिवेशन गर्ने भनिए पनि हुन सकेन । यसबीचमा पार्टी नेतृत्वले एकपक्षीय रूपमा ३२ वर्षे उमेरहद लगाउने कुरा उठाएपछि विवाद बढेको छ ।

शनिबार बस्ने बैठकमा नेविसंघको विवादका साथै २८ मंसिरका लागि बोलाइएको महासमिति बैठकमा पेस हुने विधान संशोधनको मस्यौदा, राजनीतिक र आर्थिक प्रतिवेदनका विषयमा पनि छलफल हुने बुझिएको छ ।