अमेरिकामा घातक सुईको प्रयोग गरी मृत्युदण्ड

अमेरिकामा घातक सुईको प्रयोग गरी मृत्युदण्ड


संयुक्त राज्य अमेरिकाको टेक्सासमा श्रीमती र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको हो । उनलाई सन् १९९३ मा सात र तीन वर्षका बच्चासहित पत्नीको हत्या आरोपमा मृत्युदण्डको सजाय दिइएको थियो ।

रामोसले तीनैजनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए । त्यसको तीन दिनपछि उनले अर्कै केटीसँग आफू अविवाहित भनी झुक्याएर विवाह गरेका थिए । मृतकको शव दुई महिनापछि फेला परेको थियो । विगत २५ वर्षसम्म वकिलहरूले रामोसलाई दिइएको मृत्युदण्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल भएका थिएनन् ।

मृत्युदण्ड सूचना केन्द्रका अनुसार सर्वोच्च अदालतको सन् २००८ को एक आदेशपछि टेक्सासमा मात्र पाँचजना मेक्सिकालीलाई मृत्युदण्ड दिइएको छ । संयुक्त राज्य अमेरिकामा यस वर्ष मात्र २० जनालाई मृत्युदण्ड दिइसकिएको छ र त्यसमध्ये टेक्सास राज्यमा १० जनाले यस्तो सजाय पाएका छन् ।