राष्ट्रिय ब्याडमिन्टनमा रत्नजित र दीपेश अन्तिम आठमा

राष्ट्रिय ब्याडमिन्टनमा रत्नजित र दीपेश अन्तिम आठमा


पूर्वविजेता राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ र एपीएफका दीपेश धामी आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन् ।

पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौँपटकका विजेता तामाङले कात्तिक २८ गते बुधबार सम्पन्न प्रिक्वटारफाइनलमा एपीएफका सुनिल जोशीलाई २१–६, २१–१७ को सोझो सेटमा पाखा लगाए । यस्तै दीपेशले सेनाका प्रफुल महर्जनमाथि २१–१५, २१–१५ को समान अन्तरमा पराजित गरे । त्यस्तै अन्तिम आठमा प्रवेश गर्नेमा नेपाल पुलिसका विष्णु कटुवाल र नीरविक्रम देवकोटा रहेका छन् । विष्णुले एपीएफका विजित थापामगरलाई २१–१७, २१–१४ तथा नीरविक्रमले एपीएफकै सुदीप सेढाईंलाई १२–२१, २१–८, २१–१० ले पराजित गरेका थिए ।

यसैगरी सेनाका रुकेश महर्जनले एपीएफका साजन कृष्ण ताम्राकारलाई २१–१८, २१–१४, सेनाकै नवीन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१–७, २१–१३, भोजपुरका विकास श्रेष्ठले एपीएफका गौतम कठायतलाई २१–१७, २१–१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१४ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका छन् ।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सातौँ संस्करणकी विजेता एपीएफकी जेसिका गुरुङले जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाइन् । जेसिकाले भोजपुरकी सीता राईलाई २१–१७, २१–१९ ले पराजित गरेकी हुन् । यस्तै सेनाका नङसलदेवी तामाङ, अनुमाया राई, रसिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाए । तामाङले जेस्टकी महिमा श्रेष्ठलाई २१–५, २१–३, अनुले जेस्टकै सफी खत्रीलाई २१–५, २१–१०, रसिलाले जेस्टकै मनीषा खड्कालाई २१–८, २१–४, रञ्जनाले मोरङकी सीमा राजवंशीलाई २१–१८, १७–२१ र २१–१६ तथा अमिताले भोजपुरकी लोकतमा राईलाई २१–२, २१–८ ले पाखा लगाए । यसैगरी बाँकेकी सम्झना शर्माले एपीएफकी सुनैना मुखियालाई २१–१३, २१–१९ एपीएफकी शोभा गुरुङले जेस्टकी तारा आलेलाई २१–१८, २१–१३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् ।

पुरुष जोडीतर्फको खेलमा एपीएफका दीपेश धामी र विजित थापामगरको जोडीले ललितपुरका श्याम महर्जन र कृष्ण श्रेष्ठको जोडीमाथि २१–१२, २१–११ को जित निकाले । यस्तै, जित निकाल्ने क्रममा पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले ललितपुरकै र दीप महर्जन र भुवन श्रेष्ठको जोडीलाई २१–४, २१–१५, बाँकेका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले जेस्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापा र राम बानियाको जोडीलाई २१–१०, २१–१९, एपीएफका गौतम कठायत र सुनिल जोशीको जोडीले सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीलाई २४–२२, २१–१०, सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडीले ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडीलाई २१–९, २१–११, एपीएफका साजनकृष्ण ताम्राकार र सुदीप सेढाईंको जोडीले ललितपुरका श्रीजन ताम्राकार र राजेन्द्र महर्जनको जोडीलाई २१–१७, २१–१४, पुलिसका विष्णु कटुवाल र अनिष श्रेष्ठको जोडीले ललितपुरका प्रदीप महर्जन र विकास महर्जनको जोडीलाई २१–१३, २१–१७ तथा सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले ललितपुरकै दौथ राई र गणेश गुरुङको जोडीलाई २१–१४, २१–८ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

खुलातर्फ पनि जित निकालेका सिल्क ग्रुपका प्रिन्स दाहलाले यू—१७ तर्फको पुरुष एकलमा दाङका सुरज गुप्तालाई पाखा लगाए । दाहालले २१–५, २१–६ को जित निकाले । यसैगरी कैलालीका जय बी. साउदले चितवनका अलिष थापामाथि २१–१५, २१–१२ को जित हात पारे । जित हात पार्ने क्रममा जेस्ट ब्याडमिन्टन एकेडेमीका प्रियान्सुसिंह क्षेत्रीले सुर्खेतका नरेन्द्र ठकुरीलाई २१–७, २१–१७, दाङ्गका हिमांशु कुँवरले बाराका अनिश खतिवडालाई १७–२१, २१–१९, २१–१५, कैलालीका अमृत चौधरीले कञ्चनपुरका विवेक चौधरीलाई २१–१८, २१–१५, सेनाका दिवेश शंकरले नेपालगन्जका सफल थापालाई २१–१०, २१–१५, कञ्चनपुरका हिमाल चन्दले चितवनका मनीष थापालाई २१–१२, २१–११ तथा जेस्ट ब्याडमिन्टनका पेम्बा शेर्पाले तेह्रथुमका क्षितिज केसीलाई २१–६, २१–१२ ले पाखा लगाएका थिए ।

यस्तै सोही समूहको महिला एकलतर्फ जेस्टका दिमोना केसी र स्मृति राई, कञ्चनपुरकी विष्णा विष्ट तथा झापाकी अञ्जना राई पनि अन्तिम आठमा प्रवेश गरे । केसीले धन्वन्तरीकी साम्भवी पालकबाट वाकओभर प्राप्त गरिन् । राईले ललितपुरकी कृष्मा बज्राचार्यलाई २१–१४, २१–७, विष्टले जेस्टकी विद्या खड्कालाई २१–६, २१–९ ले तथा अञ्जनाले जेस्टकी अनुशा न्यौपानेलाई २१–१०, २१–८ ले पाखा लगाएका थिए ।

भेट्रान्सतर्फको प्रतिस्पर्धामा सेनाका सुभाष श्रेष्ठ र भूमि गुरुङको जोडी, जेस्टका अनुज पौडेल र प्रेम घलेको जोडी, ललितपुरका सुनीलमान शाक्य र पूर्णभक्त चित्रकार तथा नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडी पनि आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै अन्तिम आठमा पुगेका छन् ।