गुलाबी हिरा‘ पिङ्क लेगेसी’ले तोड्यो मूल्यको रेकर्ड !

गुलाबी हिरा‘ पिङ्क लेगेसी’ले तोड्यो मूल्यको रेकर्ड !


कुनै एउटा हिराको मूल्य कतिसम्म हुन सक्ला ? अनुमान सही नहुन पनि सक्छ, किनकि एक गुलाबी रङ्गको दुर्लभ हिरालाई ५० मिलियन डलरमा खरिद गरिएको छ । प्रति क्यारेट मूल्यको हिसाबले यो नयाँ विश्व रेकर्ड नै हो ।

‘पिङ्क लेगेसी’ नामको उक्त हिराको तौल १९ क्यारेट छ । अमेरिकन धनाड्य ब्रैण्ड हैरी विंस्टनले जेनेभामा भएको लिलामको अवसरमा त्यति ठूलो मूल्य तिरेर सो हिरा खरिद गरेका हुन् ।

क्रिस्टिज अक्सन हाउसका युरोप प्रमुखका अनुसार उक्त हिराको प्रतिक्यारेट मूल्य करिव ३० करोड रुपैयाँ पर्न गयो, जो एक विश्व कीर्तिमान हो ।
लिलामीको लागि आयोजित कार्यक्रमको शुरुको पाँच मिनेटभित्रै विंस्टनले त्यति ठूलो मुल्य दिएर हिरा खरिद गरेका थिए । उनले खरिद गरेलगत्तै सो हिराको नाम आफ्नो नाम जोडेर ‘विंस्टन पिङ्क लेगेसी’ राखेका छन् ।

हेर्दा पूरै गुलाबको रङ्गमा देखिने उक्त हिरा सोही विशेषताका कारण अविश्वसनीय, शानदार र दुर्लभ कोटीमा परेको हो । आयताकार सो हिरा दक्षिण अफ्रिकाको एक खानीमा सय वर्षअघि फेला परेको थियो । क्रिस्टी अक्सन हाउसले सो हिरा सन् १९२० पछि दोहोर्याएर नकाटिएको जनाएको छ । १० क्यारेट भन्दा ठूलो आकारमा यसरी फैन्सी विविड डायमण्ड फेला पर्नुु अत्यन्त दुर्लभ मानिन्छ ।

सन् २०१७ को नोभेम्बरमा हङकङमा भएको एक लिलामीमा ८.४१ क्यारेटको गुलाबी हिरा प्रतिक्यारेट २४ करोडको दरले लिलाम भएको थियो । ‘बीबीसी’का अनुसार उक्त रेकर्डलाई हालै ‘पिङ्क लेगेसी’ले तोडेको हो ।