माधव नेपालको घरमा गुप्त बैठक

माधव नेपालको घरमा गुप्त बैठक


काठमाडौं/ हिजो मंगलबार साँझ कोटेश्वरस्थित आफ्नो निवासमा एमालेका महासचिव माधवकुमार नेपालले एक गुप्त बैठक र साथमा रात्रिभोजको आयोजना गर्नुभयो । एमाले र राप्रपाको ‘हाइकमाण्ड’ मात्र सामेल गरिएको उक्त बैठकमा भाग लिन उपप्रधानमन्त्री वामदेव गौतम बा.अ.झ. ३६७६ नं. को प्रहरी भ्यानमा चढेर जानुभएको थियो । प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द एक सुरक्षाकर्मीका साथ ९०५१ नम्बरको पाजेरोद्वारा त्यहाँ पुग्नुभएको थियो ।

सो कार्यक्रममा भाग लिन पद्मसुन्दर लावती सबैभन्दा अगाडि अर्थात् साँझ सातै बजे नेपालको घरमा पुगेका थिए । अमृत बोहोरा मन्त्री चढ्ने कारमा झन्डा छोपेर एकजना सिभिल गार्डका साथ जानुभएको थियो । राप्रपाका राजेश्वर देवकोटा र पर्शुनारायण चौधरी ७ः२५ बजेतिर सो स्थानमा सँगै प्रवेश गर्नुभएको थियो भने रवीन्द्रनाथ शर्मा राति ८ बज्न लाग्दा त्यहाँ पुग्नुभएको थियो । बैठकमा सीपी मैनाली र कमल थापा पनि पुग्नुभएको थियो ।

प्रधानमन्त्री चन्द आफ्नो घरमा आएको कुरा माधव नेपालले घरभित्र छिरिसकेपछि पाउनुभएको थियो भने उपप्रधानमन्त्री वामदेव गौतम आएको थाहा पाएर पनि गौतमलाई ‘रिसिभ’ गर्न नेपाल तलसम्म ओर्लनुभएन । बरु राजेश्वर देवकोटा र पर्शुनारायण चौधरीलाई लिन माधव नेपाल तलैसम्म ओर्लिनुभएको थियो ।
अत्यन्त गोप्य रूपमा आयोजना गरिएको उक्त बैठकबारे एमाले र राप्रपाका नेताहरूले आफ्नै पार्टीका अनन्य मित्रहरूलाई समेत जानकारी दिएका थिएनन् ।

गोपनीयता कायम गर्नकै लागि त्यहाँ जाने नेताहरू पनि बडोहोसियार देखिन्थे । एकतला माथिको बैठककोठामा दुई थान सोफा, चारवटा बेतका कुर्ची, फोमको लामो चकटी, दुईवटा बेतको स्टुल तथा दुईवटा टेबुल राखेर पाहुनाहरूको प्रतीक्षा गरिरहेका माधव नेपालको अगाडि घटना र विचारका दुई प्रतिनिधि उभिन पुग्दा नेपाल एकछिन त किंकर्तव्यविमूढझैँ देखिनुभयो । तर, पछि उहाँले बिस्तारै सम्हालिँदै भन्नुभयो, ‘यहाँ आज सानो एउटा बैठक छ ।’

प्रतिपक्षले अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी गरिरहेको बेला भएको यो बैठकले गरेको निर्णय मुलुकको इतिहासलाई नै प्रभावित पार्ने किसिमको पनि हुन सक्छ । राति निकै अबेरसम्म चलेको उक्त बैठकमा अविश्वास प्रस्तावलाई फेस गर्ने वा मध्यावधि चुनावमा जाने र फेस गर्ने हो भने कसरी गर्ने भन्ने विषयमा छलफल एवम् निर्णय भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । त्यसैगरी राप्रपालाई एकमना सरकार बनाउन दिने भन्ने विषयमा पनि छलफल भएको हुन सक्ने सम्भावना छ । तर, महासचिव माधवकुमार नेपालले घटना र विचारको जिज्ञासा मेट्दै भन्नुभयो, ‘राप्रपालाई एकलौटी सरकार बनाउन दिनेबारे अहिलेसम्म सोचेका छैनौँ ।’

राति सवा एघार बजे बैठक सकिएपछि नेताहरू आ–आफ्नो निवासस्थानतिर फर्किए । फर्कने क्रममा यस साप्ताहिकका प्रतिनिधिहरूसँग कुरा गर्दै सीपी मैनालीले भन्नुभयो, ‘सरकार र पार्टीबीच देखापरेको दूरी समाप्त गर्न यो बैठक भएको हो । सरकारमाथि आइपर्नसक्ने खतरा टार्न पनि यस किसिमका बैठकहरू महत्वपूर्ण हुन्छन् । त्यसैगरी पद्मसुन्दर लावतीले भन्नुभयो, ‘जनतालाई वर्तमान सरकारले कसरी नयाँ कार्यक्रमहरू दिने भन्ने विषयमा बैठकमा छलफल भयो ।’ मध्यावधि चुनावबारे पनि छलफल भयो कि भन्ने प्रश्न गर्दा लावतीले ‘मध्यावधि राप्रपाले चाहेकै छैन किन छलफल गर्नुप¥यो’ भनी प्रतिप्रश्न गर्नुभयो ।

त्यसैगरी प्रधानमन्त्री चन्दले बैठकको कारण उल्लेख गर्दै भन्नभयो, ‘सरकारलाई कसरी निरन्तरता दिने भन्नेबारेमा हामीले छलफल ग¥यौँ, तर अहिले सरकारलाई कुनै खतरा भने छैन ।’

एमाले महासचिव माधवकुमार नेपालले पनि सरकारलाई निरन्तरता दिनेबारेमा छलफल भएको जानकारी दिँदै भन्नुभयो, ‘हामी सरकारलाई निरन्तरता दिनको लागि यसलाई लोकप्रिय बनाउनुपर्छ भन्ने पक्षमा छौँ र आज हामी त्यसै निम्ति भेला भएका हौँ ।’

(घटना र विचार साप्ताहिक, २०५४ भदौ ४ गते बुधबार)