विदेशी ब्राण्ड कपी गरेर करोडौँको कारोबार

विदेशी ब्राण्ड कपी गरेर करोडौँको कारोबार


महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ ।

परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली स्याम्पु र विएमसी मसला बनाएर बिक्री वितरण गर्दे आएका धादिङ धार्केका बासुप्रसाद विडारी र ज्योति विडारीलाई पक्राउ गरेको हो ।

भारतीय ब्राण्डको मसला र स्याम्पु गैरकानूनी रुपमा उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रशासन र स्थानीय जनप्रतिनिधीको रोहवरमा गत मङ्गलबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिउको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले डेढ वर्षदेखि गैरकानूनी रुपमा मासिक १०० कार्टुन मसला र १०० कार्टुन स्याम्पु उत्पादन गरी राजश्वलगायत कुनै पनि विल नकाटी निर्यात गर्दै आएको जनाए । पक्राउ कम्पनीले एक कार्टुुन मसलाको १० हजार र एक कार्टुन स्याम्पुको एक हजारसम्ममा बजारमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुल्न आएको उनको भनाई छ ।

प्रहरीले उक्त उद्योगबाट ४४ कार्टुन मसला, ११ बोरा मसलाको कच्चा पदार्थ, मसला प्याक गर्ने प्लाष्ट्रिक ११ वण्डल, तयारी स्याम्पु ३७० बाकस, स्याम्पुको कच्चा पदार्थ दुुई बाल्टिन, खाली ड्रम २० थान र ठूलो मेसिन तीन थान बरामद गरेको छ । रु ५० लाख अधिकृत पूँजी बराबरको कम्पनी खोलेको र वार्षिक दुुई करोड बराबरको कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ विडारीलाई कालोबजारी, कपी राइट तथा राजश्व छली सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।