के डाइबेटिजबाट बच्न सकिन्छ ?

के डाइबेटिजबाट बच्न सकिन्छ ?


सन् १९९० मा १८ वर्षभन्दा कम उमेरमा डाइबेटिजबाट पीडित युवाहरूको प्रतिशत ५ भन्दा कम थियो । तर, सन् २०१४ सम्म आइपुग्दा यो आँकडा ८.५ प्रतिशत पुग्यो । पछिल्ला चार वर्षमा यसमा अझ वृद्धि भएको हुन सक्छ, ठोस तथ्याङ्क सार्वजनिक भएको छैन ।

विकसित मुलुकमा गरीब तथा सस्तो मूल्यका खाना खान विवश वर्गलाई मधुमेहले आफ्नो निशाना बनाएको हुन्छ भने ठिक विपरीत न्युन तथा मध्यम आयवर्ग भएको देशका लगभग ८० प्रतिशत युवामा खानपिन र जीवनशैलीमा आएको परिवर्तनका कारण डाइबेटिजले आक्रमण गरेको तथ्याङ्कले देखाउँछ । यो चिन्ताजनक छ ।

आज संसारभर डाइबेटिज एक यस्तो बिमारीको रूपमा बढिरहेको छ जो अत्यन्त तीव्र ढङ्गले बच्चादेखि युवा र वयस्कसम्मलाई आफ्नो चपेटमा लिइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारमा यतिबेला ४२.२ करोड मानिस मधुमेहबाट पीडित छन् । बितेका ३० वर्षमा मधुमेहपीडितको सङ्ख्या चार गुणाले वृद्धि भएको छ ।

डाइबिटिजबाट पीडित मानिसलाई हर्ट अट्याक तथा हर्ट स्ट्रोक (हृदयाघात) हुने सम्भावना ज्यादा रहन्छ । यसका साथै किड्नी फेल एवम् पाइताला निष्क्रिय हुने जस्ता समस्याहरूको सामना पनि उनीहरूले गर्नुपर्ने सम्भावना बढ्ता रहन्छ ।

यसका बाबजुद आममानिसमा यस रोगको लक्षण, कारण र बच्ने उपायका बारेमा आवश्यक जागरुकता पाइँदैन ।

आखिर के हो डाइबेटिज ?

जब हाम्रो शरीर रगतमा भएको सुगरको मात्रालाई सोसेर लिन असमर्थ हुन्छ, त्यस्तो स्थितिले नै डाइबेटिज (मधुमेह)लाई जन्म दिन्छ ।

वास्तवमा हामी जब कुनै खानेकुरा खान्छौँ, हाम्रो शरीरले कार्बोहाइड्रेडलाई तोडेर ग्लुकोजमा बदल्छ । यसपछि प्याङ्क्रियाजबाट इन्सुलिन नामको एक हार्मोन निस्कन्छ जसले हाम्रो शरीरको कोशिकाहरूलाई ग्लोकज सोस्न ‘निर्देशन’ दिन्छ ।

यसबाट नै शरीरमा उर्जा (शक्ति) पैदा हुन्छ । तर, जब इन्सुलिनको फ्लो रोकिन पुग्छ हाम्रो शरीरमा ग्लुकोजको मात्रा बढ्न शुरु हुन्छ । समस्या यसैबाट शुरु हुन पुग्छ ।

डाइबेटिजको लक्षण

ज्यादा प्यास (तिर्खा) लाग्नु, सामान्यभन्दा ज्यादा पिसाब लाग्नु (खासगरी रातीको समयमा), थकित महसुस हुनु, एकाएक तौल घट्न थाल्नु, आँखाको ज्योति कम हुनु, घाउ–खटिरा ठिक हुन समय लाग्नु जस्ता लक्षण डाइबेटिजका लक्षण हुन् ।

डाइबेटिज हुनबाट बच्न सकिन्छ त ?

डाइबेटिज अनुवांशिक तथा पर्यावरणीय कारणहरूमाथि आधारित हुन्छ । तर, आफ्नो रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रित गरेर आफूलाई मधुमेहबाट बचाउन सकिन्छ ।

यसका लागि सन्तुलित आहार एवम् व्यायामको जरुरत पर्छ । आफ्नो दैनिक डाइटमा सागसब्जी, फलफुल, रेसादार अन्न सामेल गर्नुपर्छ । साथसाथै, स्वस्थकर तेल, बदाम, ओमेगा–३ भरपुर पाइने माछा पनि खानामा सामेल गर्दा उत्तम हुन्छ ।

शारीरिक ब्यायाममार्फत पनि सुगर लेवललाई कम गर्न सकिन्छ । तीव्र गतिमा हिँड्नु, सिँढी चढ्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । शरीरको तौल नियन्त्रणमा राख्न सके ब्लड सुगर लेवल पनि सजिलै कम गर्न सकिन्छ ।

सिगरेट पिउन पूरै बन्द गर्नुपर्छ भने हृदयको बिमारीबाट बच्न कोलेस्ट्रोल लेवलको जाँच गराइरहनु आवश्यक छ ।