क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणबाहिर

क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणबाहिर


अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एक सयभन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखे तापनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

खोजीका क्रममा थप आठजनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ५० पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले बताए । यसअघि ४२ व्यक्तिको मृत्यु भएको बताइएको थियो ।

अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझ एक सयभन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन् । बेपत्ता व्यक्तिको खोजी, उद्धार र आगो निभाउने कार्यमा हजारौँ अग्नि नियन्त्रकहरू परिचालन गरिएका र उनीहरूले आफ्नो ज्यानको बाजी लगाएर उद्धारकार्य जारी राखेको सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समयसमयमा सरकारले आगो निभाएको बताए पनि पूर्ण रूपमा जंगलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जंगलको आसपास बसोबास गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।