जिसस सदस्यमाथि खुकुरी प्रहार

जिसस सदस्यमाथि खुकुरी प्रहार


जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् ।

सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । अराजक तत्वको जमातले तामाङमाथि आक्रमण गरी घाइते बनाएको भन्दै जनप्रतिनिधिमाथिको हमलाको समितिले निन्दासमेत गरेको छ । विज्ञप्तिमार्फत दोषीलाई अविलम्ब पक्राउ गरी कडा कानुनी कारबाहीको माग गरिएको छ ।

तामाङलाई आफ्नै भाइले आक्रमण गर्दा घाइते भएका थिए । बाटोको विषयलाई लिएर इन्द्रावती गाउँपालिका–५ बस्ने ३२ वर्षीय अणबहादुर तामाङले दाजुलाई बियरको बोतलले हिर्काएका थिए । टाउकोमा चोट लागेर घाइते भएका सदस्य तामाङको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।