आठौँ पुष्पलाल स्मृति ब्याडमिन्टन शुरु

आठौँ पुष्पलाल स्मृति ब्याडमिन्टन शुरु


पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् ।

विकासले जेस्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ ले तथा विष्णुले सुर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे । यस्तै एपीएफका सुनिल जोशी, सुदीप सेढाईं र साजन कृष्ण ताम्राकारले पनि पहिलो दिन जित निकाले । सुनिलले सुर्खेतका नरेन्द्र ठकुरीलाई २१–१२, २१–९ ले, सुदीपले जेस्ट ब्याडमिन्टनका सुजन थापालाई २१–१३, २१–१७ तथा साजनले ललितपुरका मोहन गुरुङलाई २१–१८, २१–११ ले पाखा लगाए ।

पहिलो चरणको जित निकाल्ने क्रममा पुलिसका नीरविक्रम देवकोटाले बाँकेका इरफान अन्सारीलाई २१–१३, २१–११ ले, सेनाका रुकेश महर्जनले जेस्टका अखिल श्रेष्ठलाई २१–१३, २१–१५, एपीएफका विजित थापाले जेस्टका अर्जुन तामाङलाई २१–११, २१–५, पुलिसका जीवन आचार्यले जेस्टका प्रियान्सुसिंह क्षेत्रीलाई १२–२१, २१–९ र २१–११, सेनाका नवीन श्रेष्ठले एपीएफका नीराजन देवकोटालाई २१–१२, २१–१२, एपीएफका गौतम कठायतले पुलिसका पूर्ण थापालाई २१–८, २१–१६, सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका पविन लिनथेपलाई २१–६, २१–१९, पुलिसका दीपक बोहराले एपीएफका सुमन लिम्बूलाई २१–१४, १६–२१ र २१–१४ तथा सेनाका प्रफुल महर्जनले बाँकेका रियाज अन्सारीलाई २१–११, २१–१० ले पछाडि पार्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए ।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यू–१७ पुरुष एकलतर्फको खेलमा दाङका सुरज गुप्ता र कैलालीका जयबी साउदले जित निकाल्दै दोस्रो चरण प्रवेश गरे । सुरजले पाल्पाका सुमितकुमार घिमिरेलाई २१–१३, २७–२५ तथा साउदले आदर्श रावललाई २१–१५, २१–९ ले पराजित गरे । यस्तै दाङका हिमांशु कुँवरले चितवनका निश्चल बस्नेतबाट वाकओभर पाए ।

जित निकाल्ने क्रममा चितवनका अलिश थापाले कपिलवस्तुका रोहित बराललाई २१–१२, २१–१२ को समान अन्तरमा, सुर्खेतका नरेन्द्र ठकुरीले सेनाका सहज शाक्यलाई २१–१४, २१–९, बाराका अनिश खतिवडाले कञ्चनपुरका सञ्जीव भण्डारीलाई २१–१३, २१–१७, कञ्चनपुरका बिवेक चौधरीले मोरङका जोन जसराजलाई २१–१०, २१–१६, कैलालीका अमृत चौधरीले धन्वन्तरीका सुदन तामाङलाई २१–११, २१–७, नेपालगन्जका सजल थापाले दाङका सफिक इद्रिसलाई २५–२३, २२–२०, चितवनका मनीष थापाले सुर्खेतका रोहित मल्ललाई २२–२०, १२–२१ र २१–१८, कञ्चनपुरका हिमाल चन्दले इटहरीका सुदर्शन गुरुङलाई २१–१९, २४–२२ तथा तेह्रथुमका क्षितिज केसीले ललितपुरका अनमोल आचार्यलाई २१–१८, २१–१२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

महिला एकलतर्फ जेस्ट ब्याडमिन्टन एकेडेमीकी साफी खत्री र सेनाकी रञ्जना भट्टले जित निकाले । खत्रीले झापाकी अञ्जना राईलाई २२–२०, २१–१९ तथा भट्टले जेस्टकी स्मृति राईलाई २१–८, २०–२२ र २१–१५ ले जित निकाल्दै दोस्रो चरणमा स्थान पक्का गरे ।

यस्तै पहिलो चरणमा जित निकाल्दै दोस्रो चरण प्रवेश गर्ने पुरुष युगलमा ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडी, रदीप महर्जन र भुवन श्रेष्ठको जोडी, सिर्जन ताम्राकार र राजेन्द्र्र महर्जनको जोडी, प्रदीप महर्जन र विकास महर्जनको जोडी तथा दौथ राई र गणेश गुरुङको जोडी रहेका छन् । यसैगरी जेस्ट ब्याडमिन्टनका सुजन थापा र राम बानियाँको जोडी तथा एपीएफका गौतम कठायत र सुनिल जोशीको जोडीेले पनि दोस्रो चरणमा स्थान बनाए ।

मंसिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमबीच संघीय प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठ तथा पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले संयुक्त रूपमा उदघाटन गरेका थिए । प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, यू– १७ पुरुष–महिला तथा भेट्रान्स ४५ वर्षमाथिको प्रतिस्पर्धा हुनेछ । पुरुष र महिला एकलतर्फ तीन शीर्ष स्थान प्राप्त गर्ने खेलाडीले नगद ५०, २५ र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले २०, १० र ५ तथा यू–१७ तर्फका शीर्ष तीन स्थान हात पार्नेले १५, ७ र ५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै भेट्रान्सतर्फका विजयी शीर्ष तीन स्थानका खेलाडीले ट्रफी, मेडल, प्रमाणपत्रका साथै खेल सामग्री प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा पुरुष एकलमा ३०, महिला एकलमा १८, पुरुष युगलमा २३ जोडी, महिला युगलमा ८ जोडी, पुरुष यू–१७ मा २८, महिला यू–१७ मा १२ र भेट्रान्सतर्फ १५ जोडीले सहभागिता जनाएका छन् ।