अष्ट्रेलियामा जात्रै जात्राको चर्को मूल्य

अष्ट्रेलियामा जात्रै जात्राको चर्को मूल्य


राजन घिमिरे, सिड्नी

अष्ट्रेलियामा नेपाली चलचित्रको बजार राम्रो छ भनेर त्यसै भनिएको होइन, तर सबै चलचित्रको हकमा भने यो कुरा लागू हुँदैन ।

पछिल्लोपटक शत्रु गते र छक्कापन्जा-३ पछि अष्ट्रेलियामा अर्को सिनेमा जात्रै जात्राले पनि राम्रो भाउ पाएको छ । यो सिनेमाको टिजर सार्वजनिक भएकै भोलिपल्ट यस चलचित्रको अष्ट्रेलियाको प्रदर्शन अधिकार किन्न जुर्मुराएका यहाँका धेरै कार्यक्रम आयोजकमध्ये बाजीचाहिँ हो र होइन होला इभेन्टस र पप अपले मारेको छ ।

‘हो र होइन होला इभेन्टस’ अष्ट्रेलियामा राम्रो कार्यक्रमको आयोजना गर्ने आयोजकको रूपमा स्थापित छ । ‘अष्ट्रेलियामा रहेका नेपालीहरूकै चाहलाई ध्यानमा राखेर हामीले यो चलचित्र किनेका हौँ’, हो र होइन होलाका रोशन भट्टराईले जानकारी दिए ।

यसअघि जात्रा र शत्रु गतेको निर्देशन गरेर आफूलाई सफल चलचित्र निर्देशकको रूपमा चिनाउन सफल भएका निर्देशक प्रदीप भट्टराईले पनि चलचित्र जात्रै जात्राले पहिलोपटक नै अष्ट्रेलियाबाट राम्रो साथ पाएकोमा खुशी ब्यक्त गरे ।

मार्च महिनामा अष्ट्रेलियाका विभिन्न शहरहरूमा प्रदर्शन हुने यो चलचित्रमा विशेष गरेर अष्ट्रेलियामा रहेका दर्शकहरूका निम्ति केही विशेष सरप्राइज रहेको कुरा बताइएको छ । ‘तर त्यसको बारेमा हामी पछि मात्र भन्ने छौँ । यसपटक जात्रै जात्राले ठूलै धमाका मचचाउने छ,’ भट्टराईले उत्साहित हुँदै भने ।

चलचित्रमा दयाहांग राई, विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको प्रमुख भूमिका रहेको छ ।