क्यानडाको जाडोमा तात्यो हिमालयन तेक्वान्दो

क्यानडाको जाडोमा तात्यो हिमालयन तेक्वान्दो


अवसर र मिहिनेत भए नेपालीले संसारको कुनै पनि कुनामा पहिचान र अस्तित्व देखाउन सक्छन् । यसैको गतिलो उदाहरण बनेकाछन् प्रशिक्षक राजु गडतौला र उनको नेपाली तेक्वान्दो टोली । उनको सत्र सदस्यीय नेपाली टोलीले आगामी वर्ष जर्मनमा हुने वल्र्ड च्याम्पियनसिपका लागि क्यानडामा भएको तेक्वान्दो छनोट प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको छ ।

क्यानडा, अल्बर्टा प्रान्तको राजधानी एडमन्टनमा तीन वर्षदेखि नेपाली मुलका खेलाडीलाई हिमालयन तेक्वान्दो एकेडेमी स्थापना गरी प्रशिक्षण दिइरहेका छन् राजुले । तीन वर्षभित्र तयार गरेका नेपाली टोलीलाई उनले यसै साता क्यानडाको क्यालगरी शहरमा सम्पन्न भएको क्यानडियन तेक्वान्डो फेडरल अन्तर्राष्ट्रिय (सीटीएफटी) नेसनल च्याम्पियन प्रतियोगितामा सहभागी गराएका हुन् । प्रतियोगिता प्यार्टन र स्पायरिङका विधा समावेश थिए ।

सहभागी नेपालीले दुवै विधामा सात स्वर्ण, पाँच सिल्भर र नौ कांस्य पदक जिते । सहभागीमध्ये स्माइल खत्रीले दुवै विधामा १–१ स्वर्ण जिते । प्यार्टन विधामा १–१ स्वर्ण जित्ने अन्य खेलाडीमा प्रध्योतन निरौला, सुभम लुइँटेल विवेक तिमिल्सिना छन् त्यस्तै स्पायरिङमा, रियाज अर्याल, प्रशुभा अधिकारीले १–१ स्वर्ण जितेका छन् । त्यस्तै स्पायरिङ विधामा १–१ सिल्भर जित्नेमा प्रध्योतन निरौला शुभाम लुइँटेल, गिब्सन ढकाल, सुभम अधिकारी छन् ।
त्यस्तै दुवै विधामा १–१ कांस्य जित्ने खेलाडीमा अनुश्का गिरी र जोनिश चौधरी रहेका छन् । प्यार्टन विधामा कांस्य जित्ने अन्य खेलाडीमा प्रशुन शर्मा, शशांक भण्डारी, अरिक पौडेल, इशान खत्री, स्पन्दन गौतम र आरम्भ खरेल छन् ।

आगामी वर्ष जर्मनमा हुने वल्र्ड च्याम्पियनसिपका लागि सो प्रतियोगिता भएको थियो । सो नेसनल च्याम्पियनमा क्यानडाको विभिन्न प्रान्तबाट आएका ५ सय ७३ खेलाडीको सहभागिता रहेको थियो । यही नोभेम्बर १० र ११ मा भएको सो राष्ट्रिय च्याम्पियन छनोट प्रतियोगितमा प्रशिक्षक राजु गडतौलाको नेतृत्वमा १७ नेपाली खेलाडीले भाग लिएका थिए ।