देउवाविरुद्ध शुरु भयो मोर्चाबन्दी

देउवाविरुद्ध शुरु भयो मोर्चाबन्दी


सभापति शेरबहादुर देउवाको मनपरी बढ्न थालेपछि नेपाली काङ्ग्रेसका एकथरी नेताहरू सङ्गठित ढङ्गले प्रतिरोध गर्ने तयारीमा जुटेका छन् । पौने तीन वर्षअघि सम्पन्न तेह्रौँ महाधिवेशनमा रामचन्द्र पौडेल शेरबहादुर देउवासँग पराजित भएपछि त्यसबेला पौडेललाई साथ दिने नेताहरू यसबीचमा तितरबितर भएका थिए ।

नेताहरू डा. शशाङ्क कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र रामचन्द्र पौडेल शेरबहादुरको कार्यशैलीसँग पूर्ण असहमत भए पनि ‘एक ठाउँमा आउन’ सकेका थिएनन् । सभापति देउवाले पार्टीको विधानविपरीत काम गर्न थालेपछि देउवासँग विमति राख्ने नेताहरू एक ठाउँमा उभिन आइपुगेका छन् ।

गत महाधिवेशनमा देउवाको टिमबाट महामन्त्री पदका उम्मेदवार अर्जुननरसिंह केसी र त्यसबेला देउवाको सहयोगी भूमिकामा रहेका कृष्णप्रसाद सिटौला पनि यतिखेर देउवाका विरुद्ध उभिन आइपुगेका छन् । लामो समयदेखि परस्पर एक–अर्काप्रति असहिष्णु देखिँदै आएका नेताहरू डा. रामशरण महत र अर्जुननरसिंह केसीसमेत अहिले देउवाविरुद्ध एक भएका छन् ।

गत सोमबार बिहान गिरिजापुत्री सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा डा. शशाङ्क कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी र रामचन्द्र पौडेलबीच भएको छलफलमा देउवाको अराजक एवम् विधानविपरीत कार्यको व्यापक आलोचना भएको थियो । अनौपचारिक स्तरमा आयोजित उक्त विशेष बैठकमा नेताहरूले देउवालाई विधानसम्मत ढङ्गले चल्न दबाब दिने र आपसमा एकताबद्ध भइरहने प्रतिबद्धता जाहेर गरेका थिए ।

त्यस्तै उक्त छलफलका क्रममा नेताहरूबीच पार्टीको आगामी महाधिवेशनमा को सभापतिको उम्मेदवार बन्ने भन्ने विषयमा अहिले कोही नबोल्ने समझदारी पनि बनेको छ । उपस्थित ६ जना नेताहरू सबै सभापतिको दाबेदारका रूपमा रहेका छन्, तर देउवाविरुद्ध जो भए पनि एकजनाले मात्र उम्मेदवारी दिनुपर्ने अवस्था छ । शेरबहादुर देउवाले पार्टी नभई गुट चलाएको ठान्ने नेताहरूले आपसमा एकता नभए पार्टीमा देउवाको ज्यादती बढ्ने निष्कर्ष निकालेका छन् । देउवाको टिममा उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, बालकृष्ण खाण र गोपालमान श्रेष्ठलगायतका नेताहरू रहेका छन् । हालै विजयकुमार गच्छदारलाई उपसभापति पदमा मनोनयन गरेपछि गच्छदार पनि देउवाकै टिममा रहने विश्वास देउवा पक्षले गरेको छ ।

तर, अर्को पक्षले पनि गच्छदारको साथ आफूहरूलाई रहने विश्वास गरेको छ । गच्छदारले यतिबेला देउवा मात्र नभई देउवासँग विमति राख्ने पक्षको समेत विश्वास जितेका छन् । त्यसैले विधानविपरीत गच्छदारलाई उपसभापतिमा मनोनयन गरिएको भन्ने आरोप लगाउँदालगाउँदै पनि असहमत पक्षले गच्छदार भड्किने हदसम्म यो मुद्दा नचर्काउने सोच बनाएको छ । देउवालाई तह लगाउन अब एकताबद्ध प्रयासलाई निरन्तरता दिने मानसिकता नेताहरूले बताएका छन् ।