महासंघद्वारा कास्कीमा मिडिया अनुगमन

महासंघद्वारा कास्कीमा मिडिया अनुगमन


नेपाल पत्रकार महासंघ कास्की शाखाले हिजो (मंगलबार) देखि कास्कीमा मिडिया अनुगमन सुरु गरेको छ । कास्कीमा रहेका पत्रकार तथा विभिन्न संचारमाध्यमको अवस्था बारे जानकारी लिँदै पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्था बुझ्न र न्यूनतम पारिश्रमिक लागु गर्न दबाद दिन पनि महासंघले मिडिया हाउसमा अनुगमन गरेको महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

मंगलबार कास्कीका १३ वटा विभिन्नि संचारमाध्यमका कार्यालयमा पुगेर टोलीले मिडिया हाउस र पत्रकारको न्यूनतम पारिश्रमिको अवस्था बारे जानकारी लिएको अध्यक्ष श्रेष्ठले जनाए । अनुगमन गर्दा केहीमा राम्रो, केहीमा सन्तोषजनक र केहीमा सुधार गर्नुपर्ने अवस्था देखिएको उनले बताए । महासंघले नियमित अनुगमन गर्दै सरोकारवाला पक्षहरुसंग एकै ठाँउमा राखेर पनि छलफल तथा अन्तरकृया समेत गर्ने र पत्रकारको न्यूनतम पारिश्रमि लागु गर्न सहजीकरण गर्न पनि महासंघ तयार रहेको बताइएको छ ।

अनुगमन समितिका संयोजक एंव महासंघ कास्कीका पुर्व अध्यक्ष पुण्यप्रसाद पौडेलको संयोजकत्वमा टोलीले अनुगमन गरेको हो । टोलीमा महासंघ कास्की शाखाका अध्यक्ष श्रेष्ठसहित महासंघका केन्द्रिय सदस्य एवं कास्की सल्लाहकार रामकृष्ण ज्ञवाली, सल्लाहकारद्वय बद्रीविनोद प्रतीक र रमेश पौडेल, महासंघ कास्की शाखाका सचिव रामप्रसाद तिमिल्सिना, सहसचिव दीननाथ बराल, सदस्य प्रकाश ढकाल, सुरज श्रेष्ठ, पत्रकार भरत कोइरालालगायतको सहभागिता रहेको थियो । टोलीले समाधान, पोखरा पत्र, आर्दश समाज र हिमदुत राष्ट्रिय दैनिक पत्रिकामा अनुगमन गरेको हो । त्यसैगरी फेवा टेलिभिजन, गण्डकी, गोल्डेन आई र पोखरा टेलिभिजनका साथै टोलीले एफएम रेडियो अन्नपुर्ण, तरङग, गण्डकी, थ्रि–एन्जल र रेडियो बाराहीमा समेत अनुगमन गरेको हो ।