जुद्धशमशेर यसरी रोलक्रममा परे

जुद्धशमशेर यसरी रोलक्रममा परे


वि.सं. १९४१ भदौ तदनुसार सेप्टेम्बर १८८३ ई. मा प्रधानसेनापति धीरशमशेरको घाँटीमा कालिच चराको हाड अड्की ‘सेप्टिक’समेत भयो र अनेक उपचार गराए । वीरशमशेर पाल्पा गौँडाबाट तुरुन्त काठमाडौं आए र आफू भारत–कलकत्तामा वकिल भई जाँदा ‘अदरनाथ’ नामक त्यस बखतको प्रख्यात डाक्टरसँग उनको राम्रो जान–पहिचान भएबाट वीरशमशेरले निज डाक्टर अदरनाथलाई काठमाडौं बोलाई ल्याई औषधोपचार गराए, तर पनि दिन प्रतिदिन रोगले च्याप्दै लगेबाट आखिर वि.सं. १९४१ कात्तिक ९ गतेका दिन धीरशमशेरलाई हिटी दरबारबाट श्री पशुपतिनाथतर्फ ‘घाट’ चलाए ।

श्री ३ महाराज रणोद्दीपसिंहलगायत सम्पूर्ण भाइ–भारदारहरू रोजै श्री पशुपति आर्यघाटमा उपस्थित हुन थाले । वि.सं. १९४१ कात्तिक १० गतेका दिन धीरशमशेरले घाटमै मृत्युशैय्याबाट उमेर पुगेका सबै छोराहरू आफूनजिक बोलाई, खास गरी जेठा छोरा वीरशमशेरलाई सम्बोधन गरी भने, ‘जेठो–बाठो तैँ छस् तसर्थ तँलाई नभनी कसलाई भनूँ । मेरो आखिरी अवस्थामा यसले फोहोर, मैलाको कुनै विचार नगरी मेरो राम्रो स्याहार–सुसार गरी ज्यादै दुःख पाएकी छ, तसर्थ म मरेपछि यसले दुःख नपाओस् तिमी छोराहरू सबैले यसको विचार दिनू ।’ यति भनी शशुरुमा सुसारेपछि आफ्नी श्रीमती जुहारकुमारी (जुद्धशमशेरकी मुमा) लाई औँल्याए ।

भनाइको तात्पर्य के रह्यो भने जुद्धशमशेरकी मुमा जुहारकुमारीले त्यस अवसरमा धीरशमशेरलाई रिझाएकी रहिछिन् । त्यसको भोलिपल्टै वि.सं. १९४१ कात्तिक ११ गते रातमा प्रधानसेनापति धीरशमशेर कुँवर राणाजी (सत्र भाइ शमशेर राणाहरूका बुबा, जसको जन्म वि.सं. १८८४ कात्तिक १४ गते रोज १ का दिन भएको थियो) उनको आर्यघाटमा ५७ वर्ष पुग्न चार दिन मात्र बाँकीमा मृत्यु भयो ।

धीरशमशेरका छोरा नातिहरूको भनाइ छ कि धीरशमशेरको घाँटीमा लुइँचे चराको हाड अड्की ‘सेप्टिक’ समेत भई मृत्यु भएको हो, तर उनको मृत्युको सूचना दिई श्री ३ रणेद्दीपसिंहले भायसराय लर्ड डफरिन (Viceroy Lord Dufferine) लाई लेखी पठाएको पत्रमा करिब महिना दिनअघिदेखि शूल व्यथाबाट बिरामी भई भाइ प्रधानसेनापति धीरशमशेरको मृत्यु भएकाले अति दुःखी भएको छु इत्यादि उल्लेख गरिएको छ । यसबाट धीरशमशेरको त घाँटीमा हाड अड्केर ‘सेप्टिक’ भई मृत्यु भएको हो वा शूल भई मृत्यु भएको हो शङ्कै छ ।

धीरशमशेरको मृत्युपछि रोलको क्रमअनुसार प.क.ज. जीतजंगलाई वि.सं. १९४१ कात्तिक १२ गते प्रधानसेनापतिको पद दिँदा– ‘कस्ता–कस्ता भाइहरू गुमाएँ, यस्ता नाथेलाई पनि मुख्तियारी (प्रधानसेनापति) को पद दिनुप¥यो’ भनी श्री ३ रणोद्दीपसिंहले जीतजंगलाई वचन लगाए । पद्मजंग प.क.ज. रणवीरजंग पू.क.ज. भए, जुद्धप्रतापजंग द.क.ज. र केदार नरसिंह उ.क.ज. भए ।

(श्री ३ हरूको तथ्य वृत्तान्त, पुरुषोत्तमशमशेर ज.ब.रा.)