६ मन्त्रीसँग प्रधानमन्त्री दुःखी ! सरकारलाई गति दिन कस्सिँदै केपी

६ मन्त्रीसँग प्रधानमन्त्री दुःखी ! सरकारलाई गति दिन कस्सिँदै केपी


दुईतिहाइ बहुमत प्राप्त सरकारबाट परिणामुखी काम नभएको भन्दै जनतामा असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने ६ जना मन्त्रीप्रति चरम असन्तुष्ट रहनुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

सरकार गठन भएको नौ महिना बितिसकेको छ, तर जनस्तरले महसुस गर्ने स्तरको परिणाम आइसकेको छैन । प्रधानमन्त्री ओली यसअघि ‘भर्खर सरकार गठन भएकोले कार्य परिणाम आउन केही समय लाग्ने’ ठान्दै हुनुहुन्थ्यो । तर, अब यस्तै तरिकाले काम नहुने निष्कर्षमा पुग्नुभएको र सरकारको गति बढाउन उहाँ विशेष तयारीमा रहनुभएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरूको काम निकै नजिकबाट नियालिरहेको र धेरैजसो मन्त्रीहरूको काम सन्तोषजनक नरहेको महसुस उहाँले गर्न थाल्नुभएको छ । ‘माओवादी’तर्फका अधिकांश मन्त्रीहरू आफूप्रति पूर्ण ‘लोयल’ रहेको महसुस प्रधानमन्त्री ओलीले गर्न नसकेको बताइन्छ । माओवादीतर्फका मन्त्रीहरूको कार्यशैली र व्यवहार अपेक्षाविपरीत रहेको महसुस गर्दागर्दै पनि प्रधानमन्त्रीले यो समस्यालाई कसरी सम्बोधन गर्न खोज्नुहुने हो स्पष्ट हुन सकेको छैन । प्रचण्डसँग छलफल नगरी ‘माओवादी’ मन्त्रीहरूका विषयमा कुनै पनि निर्णय लिन सक्ने सुविधामा ओली हुनुहुन्न । यद्यपि उहाँको असन्तुष्टि ‘माओवादी’तर्फका मन्त्रीहरूप्रति मात्र रहेको भने होइन । आफूले ठूलो आशा राखेका व्यक्तिहरूले समेत क्षमता देखाउन नसकेकोमा प्रधानमन्त्री खिन्न भएका छन् ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री ओली ६ जना मन्त्रीहरूको कामबाट अप्रसन्न बन्नुभएको छ । गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, उद्योग तथा आपूर्तिमन्त्री मातृका यादव, खानेपानीमन्त्री विना मगर र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतको कामबाट प्रधानमन्त्री ज्यादा अप्रसन्न र दुःखी हुनुभएको बताइन्छ । कृषिमन्त्री चक्रपाणि खनाल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकै कामबाट पनि प्रधानमन्त्री निराश बन्नुभएको बुझिन्छ । तर, रामबहादुर थापा बादल, युवराज खतिवडा, रवीन्द्रप्रसाद अधिकारी, मातृकाप्रसाद यादव र शक्तिबहादुर बस्नेतको कामगराइबाट प्रधानमन्त्री ओली अलिक बढी नै असन्तुष्ट बन्नुभएको बालुवाटारस्थित प्रधानमन्त्रीनिवासको एक सूत्रले जनाएको छ ।

केपी ओलीको छवि अहिलेसम्म जोगिएको र उहाँले केही गर्नुहुन्छ भन्ने आशा नमरिसकेको भए पनि सरकारको कामलाई लिएर जनतामा निराशा व्याप्त भएको छ । सरकारप्रति निराशा, असन्तोष र आक्रोश बढ्नुमा अर्थमन्त्री युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा बादल, खानेपानीमन्त्री विना मगर र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको भूमिका मुख्य रूपले जिम्मेवार ठानिएको छ । गृहमन्त्रीले देशको कानुन, व्यवस्था र शान्तिसुरक्षाको स्थितिमा कुनै सुधार ल्याउन नसकेको, बलात्कार र हत्याकाण्डका दोषीहरूको पहिचान गरी कारबाहीको दायरामा ल्याउन असमर्थ रहेको, युवराज खतिवडाले अर्थतन्त्रमा सुधार ल्याउने काम गर्न नसकेको, जनता दोहोरो–तेहेरो करको भारमा पर्दा पनि तिनलाई राहत पुग्ने प्रकारको नीति र कार्यक्रम तर्जुमा गर्न नसकेको, कर उठाउनेबाहेक अन्य भूमिकामा अर्थमन्त्री असफल रहेको र समग्रमा रामबहादुर थापा र युवराज खतिवडाको अक्षमताकै कारण सरकार अलोकप्रिय भएको भन्ने ठम्याइ प्रधानमन्त्री ओलीको रहेको बुझिन्छ ।

प्रभावहीन मन्त्रीहरूलाई ‘काम देखाउन’ अझै केही समय दिने र अबका दिनमा पनि क्षमता देखाउन सकेनन् भने मन्त्रिमण्डलबाट अक्षम र बदनामहरूलाई बिदा गरेर नयाँ मानिसलाई सामेल गरिने बुझिएको छ ।

त्यस्तै, रवीन्द्र अधिकारीले विमान खरिद प्रक्रियालाई पारदर्शी नतुल्याएको, खरिद गरिएको विमान राम्रोसँग सञ्चालनमा ल्याउन नसक्दा दिनहुँ निगमले घाटा व्यहोर्नुपरेको र विमान खरिदमा भ्रष्टाचार भएको भन्ने कुरालाई राम्ररी चिर्न नसक्दा सरकारको छवि धुमिल हुन पुगेको भन्ने बुझाइ प्रधानमन्त्री ओलीको रहेको छ । त्यस्तै, गत दशैँअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउने वाचा सार्वजनिक गरेर पूरा गर्न नसक्दा सरकारप्रतिको विश्वसनीयतामा ह्रास ल्याएको बुझाइ प्रधानमन्त्रीको छ । बिना मगरले मन्त्रालयले नियमित गर्नुपर्ने काम गर्न नसकेको सूचना पनि प्रधानमन्त्रीले प्राप्त गर्नुभएको बताइन्छ । मातृका यादव र शक्तिबहादुर बस्नेतले ‘पर्फर्मेन्स’ देखाउन नसकेको र आफ्नो काममा चक्रपाणि खनालले पनि क्षमता प्रमाणित गर्न नसकेको ‘बालुवाटार’ले ठानेको छ । मातृका यादव र शक्ति बस्नेत ‘लोसे’ भइदिँदा त्यसले सरकारको छवि नै धमिल्याएको ठानिएको छ ।

महत्वपूर्ण मन्त्रालय सम्हाल्ने मन्त्रीहरू अक्षम र असफल भएकोले सरकारको लोकप्रियतामा ह्रास आउने क्रम बढ्दो छ । यसरी मन्त्रीको भूमिका रुग्ण र अप्रभावी देखिएको भए पनि तत्काल मन्त्रिमण्डल पुनर्गठन गर्नेबारे प्रधानमन्त्रीले धारणा नबनाउनुभएको सूत्रहरूको भनाइ छ । प्रभावहीन मन्त्रीहरूलाई ‘काम देखाउन’ अझै केही समय दिने र अबका दिनमा पनि क्षमता देखाउन सकेनन् भने मन्त्रिमण्डलबाट अक्षम र बदनामहरूलाई बिदा गरेर नयाँ मानिसलाई सामेल गरिने बुझिएको छ । तर, यस्तो कार्य सरकार गठन भएको वर्ष दिन नपुगेसम्म हुने ठानिएको छैन । आगामी फागुनको पहिलो साता सरकारको वर्ष दिन पूरा हुनेछ । त्यसैले अक्षम मन्त्रीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्न थप तीन महिनाको समय मिल्ने सम्भावना छ ।