महानगरको ‘मोनोरेल’ परियोजना अलपत्र

महानगरको ‘मोनोरेल’ परियोजना अलपत्र


काठमाडौंको अस्तव्यस्त शहरमा निकै चर्चा थियो मोनोरेलको । नेताको चुनावी अभियानमा समेत सहयोगी बनेको मोनोरेल सपना अन्ततः तुहिएको छ ।
काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिको नीति तथा कार्यक्रमै मुख्य एजेण्डाको रुपमा मोनोरेललाई राखेका थिए । तर, पुर्वअध्ययन विना नै मोनोरल कुदाउने अभियान चलाएको काठमाडौं महानगरले अन्ततः मोनोरेल निर्माण बनाउन नसक्ने भन्दै हात झिकेको छ ।

गत जेठ ११ गते काठमाडौं महानगरपालिकाले चक्रपथ मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययनको जिम्मा चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुपलाई दिएको थियो । सम्झौताअनुसार कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्प सिफारिस गर्ने तय भएको थियो ।

कम्पनीले प्रारम्भिक अध्ययन गरेर महानगरलाई प्रतिवेदन समेत बुझाएको थियो । तर, सपना बाँडे जस्तो त्यसलाई कार्यान्वयन गर्न पक्कै समस्या झेल्नुपर्छ, त्यस्तै भइदियो पनि । प्रारम्भिक अध्ययनको रिर्पोटले मोनोरेल निर्माणमा १ खर्ब १६ अर्ब ५८ करोड ८७ लाख ४० हजार रुपैयाँ खर्च हुने प्रतिवेदन बुझाएको थियो । तर, त्यति धेरै बजेटमा मोनोरेल निर्माण गर्न नसकिने भन्दै यतिबेला मोनोरेलको विषय महानगरलाई घाँडो हुन थालेको छ ।

चीनियाँ कम्पनीले भने नेपाल सरकारले जिम्मा दिए दुई वर्षभित्र मानोरेल सञ्चालन गरिदिने ठोकुवा गर्दै आएको छ । कुल २७ दशमलव २२ किलोमिटर चक्रपथ खण्डमा निर्माण गरीने मानोरेलको गोर्खुदेखि कलंकीसम्म १७ स्थानमा स्टेशन रहने छन् ।