महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाइने !

महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाइने !


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सङ्ग्रहालय बनाउने प्रयोजनका लागि खरिद गर्ने अगुवाई गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले लक्ष्मीपूजाका दिन बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा महाकवि देवकोटाको भग्नावशेषको अवस्थामा रहेको घरलाई उपयुक्त मूल्यमा घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर सङ्ग्रहालय बनाउने बताउनुभएको थियो ।

प्रधानमन्त्रीले ‘देवकोटाका पुराना वस्तुहरू पनि सङ्कलन गरिने र उहाँको स्मृति झल्किने गरी सङ्ग्रहालय बनाउने घोषणा गर्नुभएको थियो । उक्त घोषणा गरेको पर्सिपल्टै प्रधानमन्त्री ओलीले प्रज्ञा–प्रतिष्ठानका कुलपतिलाई प्रधानमन्त्री निवासमै बोलाई यस्तो आग्रह गर्नुभएको हो ।

कुलपति उप्रेतीले सो अवसरमा प्रज्ञा–प्रतिष्ठानले अग्रज स्रष्टा, सर्जकहरूको नाममा प्रज्ञा भवन, कमलादीमै सङ्ग्रहालय बनाउने तयारी गरिरहेको जानकारी गराउनुहुँदै भग्नावशेषको अवस्था पुगेको महाकवि देवकाटाको घरलाई खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर सङ्ग्रहालय बनाउने सरकारको योजना अत्यन्त स्वागतयोग्य भएको बताउनुभएको थियो । कुलपतिले तत्कालै देवकोटाका छोराछोरीसँग कुरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीसमक्ष व्यक्त गर्नुभएको थियो ।

भेटमा कुलपति उप्रेती र मकालु प्रकाशन गृहका निर्देशक वासुदेव ढकालले प्रधानमन्त्री ओलीलाई उहाँकै प्रतिमा हस्तान्तरण गर्नुभएको थियो । उक्त प्रतिमा चिनियाँ कलाकार लिउ चिअले तयार पार्नुभएको थियो । हालै काठमाडौँमा आयोजित चीनको हुवेइ प्रान्तका आर्टस एण्ड क्राफ्ट एसोशिएशनका कलाकारहरूका कला प्रदर्शनी उद्घाटनका अवसरमा प्रधानमन्त्रीको प्रतिमा तयार पार्नुभएको थियो ।