भारतको मध्यप्रदेशमा जिका भाइरस

भारतको मध्यप्रदेशमा जिका भाइरस


भारत मध्यप्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ । पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदेशको स्वास्थ्य विभागका अधिकारीहरुले भने उनीहरुको मृत्यु जिका भाइरसबाटै भएको हो भन्ने पुष्टि गर्न अस्वीकार गरिरहेका बताइएको छ ।

उक्त प्रदेशको लोकप्रिय पत्रिका ‘द हिताभाडा’ले रोग नियन्त्रण विभागका निर्देशक डा. हिमांशु जैस्वारलाई उद्धृत गर्दै जिका भाइरसको आशंका गरिएका २०० जनाको रगतको नमुना सङ्कलन गरिएको समाचार लेखेको छ ।

सङ्कलन गरिएका नमुनाहरु भोपालस्थित एम्स अस्पतालको प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभएको समाचारमा उल्लेख छ ।

एम्सको प्रयोगशालाले परीक्षण गरिएकामध्ये ३१ जनामा जिका भाइरस देखिएको जनाएको छ । जिका भाइरस देखिएकामध्ये सात जना प्रदेश राजधानी भोपालका, १२ जना सेहोर र १२ जना विदिसाका रहेका छन् ।

के हो जिका भाइरस ?
एडिस एजेप्टी नामक लामुखट्टेको टोकाइबाट जिका भाइरस फैलन्छ । विश्वभर आतङ्क मच्चाइरहेको जिकाको प्रकोप ब्राजिलबाट सुरू भएको हो भने यसले अमेरिका, अफ्रिका, दक्षिण एसिया र पश्चिम प्रशान्त क्षेत्रसम्म आफ्नो प्रभाव देखाइसकेको छ । जन्मदोष र मस्तिष्कसम्बन्धी विकारका लागि जिका निकै हदसम्म जिम्मेवार रहेको विज्ञहरु बताउँछन् । गर्भवती महिलामा यसको संक्रमण भए उनबाट जन्मने शिशु असामान्य रुपले सानो टाउकोसहित जन्मिन्छ।

जिका भाइरस संक्रमणको लक्षण
आँखा रातो हुने र सुन्निने, जोर्नी दुख्ने, जिब्रो रातो हुने, गाला सुन्निने, हत्केला र पाइतला सुन्निएर रातो हुने, टाउको दुख्ने, बिमिरा आउनु यसका खास लक्षण हुन् ।

बच्न के गर्ने ?
जिका भाइरसको संक्रमणबाट जोगिन लामखुट्टेको नियन्त्रण गर्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने र हलुका रङका कपडा लगाउने र लामखुट्टेको प्रजनन नियन्त्रण गर्न घर वरिपरि पानी जम्न नदिने माहोल सिर्जना गर्नुपर्छ । ज्वरो आउने, घाँटी दुख्नेलगायत माथि उल्लेख गरिएका लक्षण देखिए ज्यादा मात्रामा तरल पदार्थ सेवन गर्दै आराम गर्नुपर्छ ।