बेल्जियममा कविता वाचनसहित मनाइयो लक्ष्मीजयन्ती

बेल्जियममा कविता वाचनसहित मनाइयो लक्ष्मीजयन्ती


डिल्लीराम अम्माई, बेल्जियम

अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियमले लुभेनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्ती भव्य रुपमा मनाएको छ । नेपाली दुतावास बेनेलक्सका सचिव सुधिर भट्टराइको प्रमुख आतिथ्यता र अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियमका अध्यक्ष राजकुमार पुडासैनीको सभापतित्वमा सञ्चालित लक्ष्मीजयन्तीको कार्यक्रम सोही संगठनका महासचिव सौरभ कारन्जितले संचालन गरेका थिए । त्यस्तै, संस्थाका उपाध्यक्ष मोहन खत्रीले कार्यक्रममा आगन्तुक अतिथि र साहित्य प्रेमीहरुलाई मन्तब्यसहित स्वागत गरेका थिए।

‘हाम्रो संस्कृति र भाषा साहित्य थिलोथिलो भएको समयमा नेपाली भाषाको पुनरुत्थानको लागि महाकविको आवश्यकता खड्केको’ बताउँदै ‘संसारभरि रहेका साहित्यकारहरु एकजुट हुँदै अझै तिखारिनुपर्ने बेला आएको’ खत्रीले तर्क राखे ।

अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियमका भूतपूर्व अध्यक्ष दीपेन्द्र केसीले महाकवि देबकोटाको साहित्यिक बाटो बहुआयामिक रहेकोले अबको पुस्ताले उनका कृतिहरुबारे अझ गहन अध्ययन गर्दै साहित्यको सेवामा आफ्नो क्षमताले भ्याएसम्म लाग्नुपर्ने बताए।

यसैगरी बेल्जियममा प्रजातान्त्रिक समाजवादी पार्टीको राजनीतिमा होमिएका युवा नेता सुर्य ढकालले समेत महाकविलाई हार्दिक श्रद्धान्जली दिँदै साहित्य सेवा पनि देश सेवा भएको बताए भने सोही अवसरमा उनले आफुले ल्याएको रचनासमेत वाचन गरेका थिए।

त्यस्तै, महाकविको सच्चा श्रद्धान्जली साहित्यिक सेवाबाट मात्र हुनसक्ने भन्दै महाकवि साहित्यिक समारोहका संयोजक माधव सापकोटाले आफ्नो रचना समेत वाचन गरेका थिए ।

अन्तराष्ट्रिय साहित्य समाज बेल्जियमका पुर्वअध्यक्ष तथा संस्थापक उपाध्यक्ष बिमल गिरीले देश प्रेम, प्रकृति प्रेम र मानबिय समवेदना साहित्यकारको रचनाका श्रोत हुन् भन्दै साहित्यिक रचनामार्फत उसभित्र रहेको मानवीय समचेतना झल्किने बताए। उनले महाकवि एसियाकै साहित्यिक प्रकास भएकोले उनको सम्मान शब्दबाट भन्दा हृदयको भाव र साहित्यिक कर्मबाट मात्र सम्भव हुने बताए। उनले आफ्ना विभिन्न भावका गजलले उपस्थित साहित्यप्रेमीहरुलाई तरंगित बनाएका थिए।

गैरआवासीय नेपाली संघ बेल्जियमका निवर्तमान अध्यक्ष गंगाधर गौतमले अतिथिको तर्फबाट बोल्ने क्रममा नेपालका साहित्यिक नक्षत्र स्वर्गीय महाकवि देवकोटालाई सम्मान गर्ने अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिँदै साहित्यिक कार्यक्रमहरु कुनै पनि देशको सिमानासँग जोडिएको विषय नभएर भावनासँग जोडिएको विषय भएको बताए। उनले श्रष्टाहरुको सम्मान सदैव गर्नुपर्ने र अन्तर्राष्ट्रिय साहित्य समाजले निरन्तर उहाँहरुलाई गर्दै आएकोमा धन्यवाद दिएका थिए।

कार्यक्रममा साहित्यका अनुरागीहरु विमल गिरि, दिपेन्द्र केसी, राजकुमार पुडासैनी, मोहन खत्री, सौरभ कारन्जित, माधव सापकोटा, अनाथ अङ्कल, लोकनाथ शर्मा, बुद्ध बस्नेत लगायतले कविता वाचन गरेका थिए । कार्यक्रममा अनुपस्थित कवि सन्तोष न्यौपानेले वाचनको लागि पठाएको कविता सञ्चालक आफैले लेवाचन गरी सुनाए ।

कार्यक्रमको समापन मन्तव्यको क्रममा सभापति पुडासैनीले अन्तर्राष्ट्रिय साहित्य समाज साहित्यकारहरुको साझा संस्था हो भन्दै जनमानसमा साहित्यिक रुचि, लगाव र उत्प्रेरणालाई जागृत गराउन नै समाज बनेको बताए।

बेल्जियममा साहित्यिक उत्सव, श्रष्टाहरुको सम्मान र कवि गोष्ठीहरुमा संघ संगठनका प्रतिनिधिहरु सहित नेपालीको दोश्रो पुस्ताबाट समेत उल्यख्य उपस्थिति रहने गरेको छ।

कार्यक्रम सकिएलगत्तै अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियम शाखाको बैठकले साहित्यिक समृद्धिको लागि अझ सशक्त रुपमा लाग्ने भन्दै आगामी भानु जयन्तिभित्रै एक कविता संग्रह प्रकाशित गर्ने निर्णय गरिसकेको छ। जसमा बेल्जियम भरिका साहित्यप्रेमिहरुका कविताहरु संकलन गर्ने जिम्मा महासचिवलाई दिएको छ भने प्राप्त कविताहरुको सम्पादनको लागि साहित्यकार राजकुमार पुडासैनी, विमल गिरि र दिपेन्द्र केसीको सम्पादक मण्डल निर्माण गरेको छ।