भाइटीकाको तस्बिरमा मुलुकका ‘भीआइपी’

भाइटीकाको तस्बिरमा मुलुकका ‘भीआइपी’


दिदी–भाइ एवं दाजु–बहिनीको प्रेमको पर्वको रुपमा लिइने भाइटीका अर्थात् भाइतिहार सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भइटीकामा मुलुकका राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले उमंगका साथ मनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् ।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरिन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभसाइतमै कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाए । उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहेकोले उनले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाए ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट शुभसाइतमा नै टीका लगाए ।

टीका लगाइदिएपछि उनिहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै उनिहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए ।