के थियो पहिले के भयो अहिले !

के थियो पहिले के भयो अहिले !


– दामोदर पौडेल

हामी सानै थियौँ । त्यस समयमा पढ्नुपर्दा रातमा प्रायजसो मकैको ढोड बालेर पालैसँग पढ्ने चलन थियो । तेल सधैँ पाइँदैनथ्यो । त्यतिबेला पढाइमा चासो बढी नै थियो । लेख्न पनि पाटीमा माटो राखेर माटोमा लेख्ने पनि गरेको मैले देखेको छु । सायद मैले पनि लेखेँ । त्यसपछि पाटी अर्थात् स्लेटढुङ्गामा खरीले लेख्ने र मेट्ने गर्न थालियो । कापी पनि पाइन्थे, तर ज्यादै जतन गरेर आवश्यक कुरा मात्र लेख्ने गर्नुपर्ने थियो । करिब २०२२ सालतिर विद्यालय जान थालेपछि कापी पाइने भयो । तर, बाबुआमाले कापीमा लेखिएको–नलेखिएको राम्रोसँग दिनदिनै हेर्थे । कापी पनि निश्चित समयलाई पुऱ्याउनुपर्ने थियो । सिसाकलमले लेख्ने गरेकोमा र त्यसपछि मसी राख्ने कलम प्रयोग गर्न पाइयो । मसी पनि असुरे कडुसजस्तो लाग्दछ, त्यसैका पात पकाएर कालो मसी निकालेर लेखेको वा अरूले लेखेको देखेको याद छ । त्यसपछि मसी तान्ने कलम आए, डटपेन त पछि नै आएको हो । पार्कर कलम भने केही समयपछि प्रख्यात नै भयो । हामी ट्याब्लेट जस्तोमा आउने रङलाई घोलेर मसी बनाउँथ्यौँ ।

कपडाको बारेमा त छुट्टै कहानी छ । हामीले वर्षको एकपटक दशैँमा मात्र एक जोर नयाँ कपडा लगाउन पाउँथ्यौँ । त्यो पनि खद्दरको । त्यस्तो कपडा लगाउन पाउँदा खुसीको सीमा नै हुन्थेन । चाँडो फाटेमा टाल्ने र लगाउने चलन थियो । सायद महिलाहरूलाई भने तिजमा कपडा दिने चलन थियो कि जस्तो लाग्दछ । भाइटीकामा भाग्यमानी र धनी दाजुभाइ दिदीबहिनीहरूले केही कपडा पाउँथे । प्रायः हामी खाली खुट्टा नै हिँड्थ्यौँ । यो मेरो मात्र कहानी होइन, त्यो पुस्ताको हो ।

मैले देखेको हो वा बुबाबाट सुनेको हो– त्यति याद छैन । तर, बुबाले भोगेकै जस्तो लाग्दछ । मैले देखेको हो जस्तो लाग्दछ । सुरुमा ठोरीसम्म रेल नआउँदा वा आएको पनि केही समयसम्म तिब्बतमा नुन लिन जानुपथ्र्यो । त्यो नुन लिन जान १० दिनजति लाग्थ्यो । त्यतिबेला बाटर सिस्टम थियो । यहाँबाट चामल लग्ने र चामलसँग नुन साट्ने चलन थियो । नुन लिन जाँदा बाटो साह्रै भिरालो हुन्थ्यो अरे । जाँदाजाँदै माथिबाट च्यांग्रा, खच्चड आएमा, भाग्न नसकिएमा तल नदीमा खसेर मर्ने सम्भावना हुन्थ्यो र मानिसहरू मरेका घटना सुनिन्थे । त्यहाँबाट नुनबाहेक अरू कुरा ल्याउने चलन थिएन । बख्खु, राडी र पाखीहरू कसैकसैले यदाकदा ल्याउँथे । बख्खु जाडो छल्ने छाता वा रेनकोट जस्तो हुन्थ्यो, शरीरमा नै ओड्ने हो । राडीपाखीहरू ओड्न र ओच्छ्याउन प्रयोग हुन्थे । यी वस्तुहरू भेडा वा च्यांग्राका रौँहरूबाट बुनेर बनाइएका हुन्थे । यिनलाई चोखा कपडाको रूपमा प्रयोग गरिने वस्तुको रूपमा पनि हेरिन्थ्यो ।

नेपालमा ठोरी भारततिर भिखना ठोरीमा रेल आयो, त्यसपछि तिब्बतको यात्रा सकियो । मानिसहरू लडेर मर्ने सम्भावना पनि सकियो । दशैँभन्दा पहिला मानिसहरू नुन लिन ठोरी जान्थे । सायद त्यतिबेला जाडो सुरु हुने हुनाले औलो नलागोस् भनेर पनि होला । त्यो यात्रा पनि लगभग ७ दिनको हो । चितवनको माडीको जंगल हुँदै ठोरी जाने । चितवन लागेपछि मैदान रमाइलो लाग्ने, तर हात्ती र गैँडा र यदाकदा बाघले ती नुन लिन जानेहरूलाई मारिदिने रहेछन् । नुन लिन जानेलाई ढाक्रे भनिन्थ्यो । तर, बाघले मारेका घटना कम सुनिने किनभने बाघ सायद ढाक्रेहरूको ठूलो भिडमा आउँदैनथे । ढाक्रेहरू ठूलो समूह बनाएर हिँड्थे । एउटा बस्तीका करिब सयजनासम्मको झुण्ड हुन्थ्यो । हात्ती र गैँडासँग त अरू नै रक्षात्मक उपाय गर्नुपर्ने थियो । उनीहरू खतरा नै हुन्थ्ये ।

बाटोमा खानेकुरामा चामल, भट्ट (भटमास), गुन्द्रुक, मस्यौरा प्रमुख हुन्थे । भुटेको मकैको सातु दिउँसोको खाजा हुने गथ्र्यो । कसैले चिउरा पनि लग्थे । प्रायः रूखको मुनी बास हुन्थ्यो । करिब ५ देखि १० जनाको समूहले खाना बनाएर खाने गर्थे । ढाक्रेहरू ठोरी जान्थे । घरमा बच्चाबच्चीहरूलाई डालीमा बिस्कुट, चकलेट आदि खान पाइनेमा आशाको खुसी हुन्थ्यो । अरूलाई परिवारको सदस्य राम्रोसँग आए हुने थियो भन्ने चाहनासँग डर पनि मिसिएको हुन्थ्यो ।

ठोरी जान थालेपछि ढाक्रेले ल्याउने वस्तुमा केही विविधता आयो । मट्टीतेल, कापीसमेत आउन थाले । कतिले कपडासमेत ल्याउन थाले । यद्यपि कपडा र कापीहरूका पसल भने खुलिसकेका थिए । त्यतिबेला सलाई महँगो पर्नेजस्तो लागेर धातुको लाइटर नै बढी प्रयोग हुन्थ्यो । मानिसहरू फाली, हँसियाको लागि फलामका साप्ला पनि ल्याउँथे ।

पूर्व–पश्चिम राजमार्गले चितवन छोएपछि ठोरीको यात्रा नारायणघाटमा सरेर घेरै सजिलो भयो । युद्धै जितेजस्तो भयो । आधा बाटो जति कम भएको मात्र होइन, हात्ती, गैँडा र बाघबाट मारिने सम्भावना धेरै कम भयो । ढाक्रेहरू ३–४ दिनमा पनि फर्कन सक्ने भए । जब कच्चीसडक जुगेडीसम्म पुग्यो मानिसलाई धेरै सजिलो भयो । पृथ्वी राजमार्ग बनेपछि हामीहरूको नुन लिन जाने ठाउँ डुम्रे भयो । यात्रा २ दिनको भयो र ४ वा ५ पाथी ढिकेनुन र एक टिन तेल अनिवार्य थियो, अरू थपथाप गरेर घरमा लगिन्थ्यो । यो मेरो अनुभवसँग जोडियो ।

डुुम्रेभन्दा पहिलाको समयमा नारायणी नदीको माथि लामा गाउँ थियो र अहिले पनि छ । त्यसको मुनि रहेको त्यो नदी डुंगाबाट तर्नुपर्ने रहेछ । मलाई डरले अब बाँच्दिनँ जस्तै लागेको थियो । यात्रा त रमाइलै हुन्थ्यो । धेरै आफन्तहरू मधेश झरेकाले हामी आफन्तलाई पनि खुसी भएर भेट्न जान्थ्यौँ । बाटोमा खाना बनाउनेभन्दा चिया पकाउने पसल धेरै हुन्थे । खाना प्रायः यात्री आफैँ पकाउँथे । क्रमशः गाडीसँगै ढाक्रेहरूको यात्रा छोट्टियो । अहिले तरकारी बसालेर नुन रहेनछ भने २ मिनेट लाग्ने पसलमा गएर नुन ल्याउने चलन छ । लगभग १० दिनको नुनको यात्रा २ मिनेटसम्ममा आएर टुंगिएको छ । यो गोर्खा, तनहुँ र लमजुङ जिल्लाका बासिन्दाको अनुभव हो । देशका पूर्वदेखि पश्चिमसम्म सबै ठाउँमा आफ्नो पायक पर्ने उत्तर र दक्षिणमा नुनतेल लिन जाने गरिन्थ्यो ।

सञ्चारको पनि त्यस्तै अवस्था थियो । पहिला चिठी आउने पनि व्यवस्थित उपाय थिएन । कलकत्ता, बर्मा आदि ठाउँमा रहेका आफन्तहरूका बारेमा जानकारी पाउन त्यस ठाउँका मानिसहरू प्रायः एक वर्षमा वा २ वर्षमा आउँदा आफन्तहरूले चिठी पठाउँथे । पैसा पनि कसैले पठाउँथे । त्यसैबाट सञ्चार हुन्थ्यो । राम्रा अक्षर र मनका कुरा पठाउने । त्यसपछि आवा भन्ने आयो । आकाशवाणीबाट एक अक्षरको अलग्गै पैसा तिरेर टाढाटाढा पनि सम्पर्क हुन्थ्यो । त्यो जिल्लाको सदरमुकाममा हुन्थ्यो । कतिपयलाई त्यहाँ पुग्न ४ दिन पनि लाग्ने थियो । तर, चिठीभन्दा महत्वपूर्ण खबरको लागि सजिलै थियो । २ वर्षमा आउन सक्ने खबर ४ दिनमा पाउनु राम्रै हो । कतिपय महत्वपूर्ण खबर त तिम्रो आवा आएको छ भनेर सदरमुकाम जानेले जानकारी पनि दिन्थे ।

म भने त्यस्तो भाग्यमानी थिइनँ । २०३१ सालमा एसएलसी दिएर २०३२ सालमा पास भएको हुँ । रिजल्ट आयो । सबैको पास–फेल थाहा भयो । मेरो भएन । आवामा सोध्न सिम्बोल नं. अनुसार पैसा तिर्नुपर्नेमा म नगएपछि मेरो पैसा कसले तिरिदिने र ? सबैले यो त फेल भएर नगएको भन्न थाले । मैले सदरमुकाम जाने अनुमति अभिभावकवाट लिएँ । ४ दिनमा रिजल्ट थाहा पाएँ । म फेल भएको रहेनछु । हुनत लगभग १ महिनामा विद्यालयमा पनि जानकारी आउने गथ्र्यो । त्यतिबेलासम्म हुलाक व्यवस्थित भएको थियो ।

हुलाकपछि टेलिफोन र कर्डलेस, मोबाइल तथा फेसबुकसमेतले आजभन्दा ५० वर्ष पुरानो अवस्थालाई कसरी कायापलट गरेको छ, अचम्म लाग्छ । सडकले पनि जीवनलाई धेरै सजिलो बनायो ।

विद्यायलमा २०३१ सालतिर ५ कक्षासम्म केही छात्रा हुन्थे । लगभग १० प्रतिशत होला । कक्षा ७ वा ८ सम्म करिब ५ प्रतिशत छात्रा हुन्थे भने मावि तहमा मुस्किलले १ वा २ जनासम्म हुने गर्थे । मलाई याद भएसम्म लमजुङ जिल्लामा २०३० सालमा भन्दा पहिला २ जना मात्र महिलाले कलेज पढेको हुनुपर्छ । अहिले महिला र पुरुषको पढाइको स्तर समान नै हुन पुग्दै छ ।

मासु पनि कतिपय परिवारले दशैँमा मात्र खान पाउँथे । केहीले चैतेदशैँमा पनि खान्थे । केहीले बीचमा देवीको पूजामा पनि खान पाउने गर्थे । पछि अरू बेलामा पनि मासु काट्ने चलन त आयो, तर त्यो लगभग २ महिनामा एकपटक आउँथ्यो । वनमा चित्रो, ढुकुर, बँदेल, दुम्सी आदि मारेमा त्यो परिवारले बोनसमा मासु खान पाउने गथ्र्यो । केही परिवारमा परेवा पनि हुन्थे । अहिले दिनदिनै मासु खानेहरूलाई यो पनि अचम्म लाग्ला ।

संस्कृति र संस्कारले मानिसलाई कति थिचेको हुन्छ र थिचाइमा नै कसरी मानिस आनन्द लिन्छ भन्ने सन्दर्भमा सार्की हजुरबाको एउटा उदाहरण छ । म सानै थिएँ, सायद ७–८ वर्षको, गाईले बहर खोजेकोले गाई भागेको भाग्यै भयो । म पछि लागेँ । थाकेपछि रुँदै पछि लागेँ, गाई हराउँछ भनेर । पसिनाले खलखल भएको रहेछु । सार्कीगाउँमा आइपुगेपछि बहर र गाईको भेट भयो । गाई रोकियो । मलाई थाहा भयो साह्रै तिर्खा लागेको रहेछ । मैले नजिकै रहेका सार्की हजुरबासँग पानी मागेँ । उनले मलाई लखेट्दै ‘अघिल्लो जुनीको पापले तल्लो जातमा जन्मेको छु । धर्म गरेर अर्को जुनीमा उपल्लो जातमा पुगिएला कि भन्ने छ । यो बाहुनको छोरो मसँग पानी मागेर मलाई पापमा पार्न खोज्दै छ’ आदि भन्दै पछि लागे, म भागेँ र उनले नदेख्ने ठाउँमा पुगेँ । पछि त लमजुङको दुराडाँडाको पात्लेपानीको पँधेरामा पुगेको रहेछु । टन्न पानी खाएँ । (क्रमशः)