क्यालिफोर्नियामा रात्रिक्लबमा गोली प्रहार, दर्जन व्यक्तिको मृत्यु

क्यालिफोर्नियामा रात्रिक्लबमा गोली प्रहार, दर्जन व्यक्तिको मृत्यु


लस एन्जल्स (संयुक्त राज्य अमेरिकाका) स्थित एउटा रात्रिक्लबमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् ।

स्थानीय समयअनुसार बुधबार राती ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो । राती भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ ।

अमेरिकामा दुई हप्ताभित्रै विभत्स प्रकारको सामूहिक गोली आक्रमण भएको छ । पहिल्लो आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइएको छ भने आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अवस्थामा भेटिएका छन् ।प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीले आफैलाई समेत गोली हानेको हुनसक्ने बताइएको छ । आक्रमणकारी ती व्यक्तिको पहिचान खुलिसकेको छैन ।

प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन नसकेको तर अनुसन्धान जारी रहेको बताइएको छ । घटनामा आतङ्ककारी समूहको सम्लग्नता रहेको कुनै आधार फेला परिनसकेको र यसबारे पनि अनुसन्धान जारी रहेको सम्बद्ध प्रहरीले जनाएको छ ।