हतियारधारीद्वारा अपहरणमा परेका ७९ जना विद्यार्थी नियन्त्रणमुक्त

हतियारधारीद्वारा अपहरणमा परेका ७९ जना विद्यार्थी नियन्त्रणमुक्त


क्यामरुनमा हतियारधारीद्वारा अपहरित ७९ जना विद्यार्थीलाई नियन्त्रणमुक्त गरिएको छ । गत सोमबार अपहरित उनीहरुलाई सकुशल नियन्त्रण मुक्त गरिएको क्यामरुनका सञ्चारमन्त्रीले बुधबार जानकारी गराएका एएफपीले जनाएको छ ।

अपहरण मुक्त भएकाको बारेमा विस्तृत विवरण भने अहिले दिइएको छैन । फ्रान्सभाषीको बाहुल्यता रहेको देशको अंग्रेजीभाषी बाहुल्यता रहेको ठाउँबाट उनीहरुलाई अपहरण गरिएको थियो ।

उक्त क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन् ।

विद्यालय सञ्चालन भइरहेको समय विद्रोहीको एक सशस्त्र समूह प्रेस्बिटरियन माध्यमिक विद्यालय, वामेडामा प्रबेश गरी विद्यालयका प्रिन्सिपल, एक शिक्षक र बस चालकलाइसमेत विद्यार्थीसँगै लगेको थियो । उक्त क्षेत्र क्यामरूनको उत्तरपश्चिममा पर्छ । क्यामरूनमा हुँदै आएको १३ महिने अशान्तिका कारण भएको यो अपहरणको घटना अहिलेसम्मकै ठूलो भएको बताइएको छ ।

क्यामरूनमा विगत ३५ बर्षदेखि राजनीतिक नेतृत्वमा रहेका ८५ बर्षीय राष्ट्रपति पाउल बियाले गत अक्टोबरमा भएको निर्वाचनबाट सातौँ कार्यकालका लागि चुनिएको केही समयमा नै यो घटना भएको हो । यद्यपि निर्वाचन परिणाप्रति विपक्षीले धाँधली भएको बताउँदै असन्तुष्टी जनाउँदै आएका छन् ।

निर्वाचनमा बियाले ७१.३ प्रतिशत मत प्राप्त गरी जितेको दावी गरिएपनि निर्वाचनमा सरकारी अधिकारीले नै हुलदङ्गा मच्चाएर निम्न सङ्ख्यामा सहभागिता भएको विपक्षीको आरोप राष्ट्रपतिमाथि छ ।

क्यामरूनमा दुई करोड २० लाख अङ्ग्रेजीभाषी नागरिक छन् र अल्पसङ्ख्यक उनीहरू आफ्नो भू–भागलाई स्वतन्त्र गरिनुपर्ने बताउँदै आएका छन् । विश्व युद्धपूर्व क्यामरून जर्मनीको कोलोनीका रूपमा रहेकोमा विश्वयुद्धपछि बेलायत र जर्मनीको अधिनमा गएको थियो ।

सन् २०१६ मा स्वतन्त्रताका लागि आवाज उठाएपनि अंग्रेजी भाषीलाई बियाले राज्यशक्तिको बलमा दबाएका थिए । सन् २०१७ को अक्टोबर १ मा एङ्लोफोन समुदायले देशको उत्तरपश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रलाई अम्बाजोनिया गणतन्त्रका रूपमा घोषणा गरेका थिए तर यसलाई कुनै पनि राष्ट्रले मान्यता दिएको छैन ।

क्यामरूनमा भएका हिंसात्मक आन्दोलनमा परी ४०० नागरिकको मृत्यु भएको छ भने १७५ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।