‘नागरिकका अपेक्षा पूरा गर्न प्रदेश सरकार सङ्कल्पित’

‘नागरिकका अपेक्षा पूरा गर्न प्रदेश सरकार सङ्कल्पित’


प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यवहारिक रूपमा सङ्घीयताको कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न आफू नेतृत्वको प्रदेश सरकार सङ्कल्पित रहेको बताएका छन् ।

उनले मुलुकबाट अब छिटोभन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गर्ने अभियानमा जुट्नु आवश्यक रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले नेपाल संवत् ११३९ को अवसरमा व्यक्त गरेको शुभकामना सन्देशमा नेपाल संवत् मौलिक संवत् नेपाली परम्परा र मौलिकतासँग गाँसिएको उल्लेख गरेका छन् । उनले शङ्खधर साँख्वाले गरीबको ऋणमोचन गरेका कारण शुरु भएको मानिने यस संवत्ले सामाजिक विभेदको अन्त्य, समानताको स्थापना, विपन्नको सम्मान र सामाजिक सद्भाव स्थापनामा सधैँ महत्व राख्छ भनेका छन् ।

मुख्यमन्त्री पोखरेलले ऐतिहासिक संविधानसभाबाट नयाँ संविधान जारी भएपछि मुलुक नयाँ युगमा प्रवेश गरेको र संविधानमा व्यवस्था भएअनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफलतापूर्वक सम्पन्न भई जनादेशअनुसारको नयाँ सरकार गठन भई संविधान कार्यान्वयनको दिशामा मुलुक सफलतापूर्वक अघि बढिरहेको बताएका छन् ।

साथै प्रदेश सरकार प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेको सन्दर्भमा समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा लाग्न प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घ संस्था र आम नागरिकमा नेपाल संवत्को अवसरमा अपिल गरेका छन् ।