नेपाल सम्वत्को लोकप्रियता बढ्दै

नेपाल सम्वत्को लोकप्रियता बढ्दै


नेवार समुदायले परम्परागत पोशाकमा चिटिक्क सजिएर नयाँ वर्षका रुपमा मनाउने नेपाल संवत्को महत्व बढ्दै गएको पाइएको छ । केही वर्ष अगाडि काठमाडौँ उपत्यकामा मात्र सीमित रहेको यो पर्व अहिले देश तथा विदेशमा समेत विभिन्न कार्यक्रम गरी मनाइन थालेको छ ।

प्रत्येक वर्ष गोवद्र्धन पूजाका दिन पर्ने यो संवत् नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । संयुक्त राज्य अमेरिका, बेलायतलगायत विदेशमा बसोबास गर्ने नेवार समुदायले पनि यो पर्वलाई राम्रो प्रचार तथा प्रवद्र्धन गरेका छन् ।

यस वर्ष नेपाल संवत् ११३९ मनाउने सन्दर्भमा विभिन्न सङ्घसंस्थाले केही सामाजिक तथा रचनात्मक कार्यक्रम गरिरहेका छन् । नेपाल संवत् ११३९ को उपलक्ष्यमा ‘स्वयम्भूदेखि वसन्तपुर दरबार क्षेत्रसम्म’ पदयात्रा गरिएको छ । उक्त संवत्लाई राष्ट्रिय संवत्का रुपमा कार्यान्वयन गराउने प्रयत्न भइरहेको छ ।

चन्द्रमासमा आधारित उक्त संवत्मा एउटा औँसीबाट अर्काे औँसीसम्मको गणनालाई ‘एक चन्द्रमास’ भनिन्छ । एक वर्ष १२ औँसी आउने र ३५४ दिन पर्ने गर्दछ । नेपाल संवत्का प्रवद्र्धक शङ्खधर साख्वा काठमाडौँका व्यापारी भएको र विष्णुमती आसपास क्षेत्रबाट बालुवा झिक्ने क्रममा सुन प्राप्त गरेको किंवदन्ती पाइन्छ ।

त्रिभुवन विश्वविद्यालयका प्रा एवं संस्कृतिविद् मिलनरत्न शाक्यले उक्त संवत्का वैज्ञानिक पक्षलाई व्यापक बनाउनुपर्ने बताउँदै संवत्अनुसारको क्यालेण्डर बनाउने ज्योतिषशास्त्रीको अभाव रहेकाले त्यस्ता जनशक्तिको विकास गर्नुपर्ने धारणा व्यक्त गरे । शङ्खधर साख्वालाई सरकारले राष्ट्रिय विभूूति घोषणा गरिसकेको छ । नेपाली जनताको ऋण मोचन गरी चलाएको नेपाल संवत् कुनै जाति विशेष नभएको सांसद वसन्त मानन्धरले बताए ।

विसं १९६० सम्म पनि नेपालमा सरकारी कामकाजका रूपमा यसलाई प्रयोग गरिएको बताइएको छ । जहानियाँ राणाशासनकालमा यो संवत्ले गति लिन नसकेपछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत्लाई चलनमा ल्याएका थिए ।

कामपा–१३ का पूर्ववडा अध्यक्ष रामशरण डङ्गोलका अनुसार साख्वाले तत्कालीन काठमाडौँ उपत्यकाका ऋणी जनतालाई ऋणमुक्त बनाई ११३९ वर्ष अगाडि संवत् प्रारम्भ गरेको विश्वास छ । विगतमा प्रचारको कमीले गर्दा यो संवत ओझेलमा परेको भए पनि अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा संवत्सम्बन्धी गरिने अन्तरक्रिया तथा विभिन्न कार्यक्रमले यसको लोकप्रियता बढ्दै गएको पाइएको छ ।