चिनीको मूल्यमा एकरुपता छैन, सरकार नै मान्दैन लेखा समितिको निर्देशन

चिनीको मूल्यमा एकरुपता छैन, सरकार नै मान्दैन लेखा समितिको निर्देशन


–छविलाल बगाले

नेपाली बजारमा चिनीको मूल्यमा एकरुपता छैन । तिहार र छठजस्ता पर्वमा अति आवश्यक चिनी यतिबेला महँगो छ । प्रतिकेजी ६३ रुपैयाँमा बिक्रि गर्न सकिने चिनी बिचौलिया, कालाबजारी र सरकारकै कारण महँगिएको हो । संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिए पनि सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशनले ६८ रुपैयाँमा बिक्रि गरेको छ । तिहार, छठजस्ता चाडपर्वका लागि भन्दै साल्ट ट्रेडिङले संसदीय समितिले तोकेको दरभन्दा ५ रुपैयाँ महंगोमा चिनीको बिक्रि गरेको हो ।

तर, यो दर साल्ट ट्रेडिङले पहिले बिक्रि गर्दै आएको भन्दा फरक छ । दशैं अघि साल्ट ट्रेडिङले प्रतिकिलो ७६ रुपैयाँमा सर्वसाधारणलाई चिनी बिक्रि गरेको थियो । सरकारले चिनीमा सहुलियत नदिँदा उपभोक्ताले बजारमा प्रतिकेजी ७० देखि ९० रुपैयाँँसम्म तिरेर महँगो मूल्यमा चिनी खरिद गर्नुपर्ने बाध्यता छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चिनीमा प्रतिकेजी ७० रुपैयाँँभन्दा बढी लिन नपाइने निर्णय गरेका थिए ।

कहाँ कहाँ कतिमा बिक्रि भएको छ त चिनी ?
भाटभटेनी सुपरमार्केटः प्रति केजी ५९ रुपैयाँ
साल्ट ट्रेडिङ कर्पोरेशनः प्रति केजी ६८ रुपैयाँ
होलसेल पसलः प्रति केजी ७० देखि ७५ रुपैयाँ
राना पसलः प्रति केजी ७५ देखि ९० रुपैयाँ

साल्ट ट्रेडिङ ६८ रुपैयाँमा चिनी बिक्रि गर्दा प्रतिकिलो ८ रुपैयाँ नोक्सान हुने तर्क गर्छ । साल्ट ट्रेडिङले चाडबाडमा चिनीको मूल्य घटाएर सरकारलाई सहयोग गरेको बताएपनि संसदको सार्वजनिक लेखा समिति भने ६३ रुपैयाँमा बेच्नुपर्ने बताउँछ । संसदीय समितिकै निर्देशन सरकारले नमान्नु शंकास्पद रहेको छ ।

समितिले पाकिस्तानबाट ठूलो परिमाणमा सस्तो चिनी नेपाल भित्रिएको र प्रधानमन्त्रीलाई समेत व्यवसायीले प्रभावमा पारेको ठहर गरेको छ । उपभोक्तालाई सहुलियत दिनका लागि मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा भने रकम विनियोजन गरेको छ । मन्त्रालयले साल्टट्रेडिङ कर्पाेरेसनलाई प्रतिकेजी चिनीमा पाँच रुपैयाँँ र नुनमा प्रतिकेजी दुई रुपैयाँ छुट दिनका लागि १ करोड ५० लाख रुपैयाँँ विनियोजन गरेको थियो । तर उक्त विषय कार्यान्वयनमा नआउँदा सर्बसाधारण मर्कामा परेका छन् ।