विजय गच्छदार कांग्रेस उपसभापतिमा मनोनीत

विजय गच्छदार कांग्रेस उपसभापतिमा मनोनीत


नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने निर्णय गरेको छ ।

यसअघि महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्म गर्ने भनिएकोमा आजको बैठकले सो मिति तय गरेको हो । तिहार, छठजस्ता चाडपर्वका कारण महासमिति बैठकको मिति सारिएको बताइएको छ ।

यसैगरी आजको बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनीत गरेको छ । बैठकले लोकतान्त्रिक फोरम नेपालबाट आएका गच्छदारलाई पार्टी एकताका लागि भन्दै उपसभापतिमा मनोनीत गरेको हो ।

गच्छदार कांग्रेससँग पार्टी एकीकरण गर्ने भन्दै कांग्रेसमा प्रवेश गरेका थिए । त्यतिबेला गच्छदारलाई उपसभापति पद दिने सहमति भएको बताइन्छ । सोही सहमतिअनुसार आजको बैठकले गच्छदारलाई उपसभापतिमा मनोनीत गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेसबीच औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।