‘कठोर’ प्रतिबन्धका बाबजुद कच्चा तेल बिक्री गर्ने इरानको प्रतिबद्धता

8 Shares

अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थ बेच्ने जनाएको छ । इरानका राष्ट्रपति हसन रौहानीले सोमबार जनाएअनुसार वासिङ्टनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई इरानले ‘उचित’ रूपले तोड्नेछ । अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागु हुनेगरी लगाएको नयाँ प्रतिबन्धको केही घण्टापछि नै राष्ट्रपति रौहानीले यस्तो प्रतिक्रिया दिएका सिन्ह्वाले जनाएको छ ।

हाम्रो समाजमा रहेको एकता र इरानी जनताको सहयोगमा हामीले अमेरिकीहरूलाई इरानविरुद्ध दबाब र चेतावनीको भाषा प्रयोग गर्न नहुने पाठ सिकाइने छ भनी रौहानीले दिएको प्रतिक्रिया त्यहाँको राज्य सञ्चालित टेलिभिजनले उल्लेख गरेको छ ।

‘अमेरिकी अधिकारीहरूले यो बुझेका छन् कि इरानी तेल बजारलाई विस्थापित गर्न सकिँदैन’, रौहानीले भनेका छन्- ‘इरानसँग पहिल्यै सम्झौता गरिसकेका केही मुलुकलाई अमेरिकीहरूले कारोबार गर्न निषेध गरे पनि हामीले हाम्रो तेललाई बेच्न सक्छौँ । त्यसका लागि उपयुक्त क्षमता हामीसँग छ ।’

अमेरिकाले सन् २०१५ मा उसकै नेतृत्वमा अन्य विश्व शक्तिराष्ट्रहरू चीन, रूस, बेलायत, जर्मनी र फ्रान्स लगायतले गरेको सम्झौतापछि इरानविरूद्ध लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको वासिङ्टनले गत शुक्रबार अर्को घोषणा गर्दै सोमबारबाट अझ कठोर भनिएको प्रतिबन्ध लागु गरिएको जनाएको छ ।

अमेरिकाको प्रतिबन्धले विश्वका उर्जा, जलयात्रा, पानीजहाजको निर्माण र आर्थिक क्षेत्रजस्ता केही मुलुकका संवेदनशील क्षेत्रलाई लक्षित गरेको बताइने गरेको छ भने वासिङ्टनले इरानले उक्त क्षेत्रमा अस्थिरता तथा हिंसा सिर्जना गरेको दावी गरेको छ भने यसको तेहरानले खण्डन गर्ने गरेको छ ।

8 Shares

प्रतिक्रिया