तिहारसँगै विद्युतीय सामग्रीको आयातमा बृद्धि

तिहारसँगै विद्युतीय सामग्रीको आयातमा बृद्धि


–छविलाल बगाले
तिहार सुरु भएसँगै विद्युतीय सामग्रीको कारोवार बढेको छ । महंगा र उच्च प्रविधिका उपकरण समेत भित्रिन थालेका छन् । विद्युतीय सामग्रीको आयातमा सरकारी नीति सहज बने यसको कारोवारमा समेत बृद्धि हुने देखिन्छ । तिहारमा हरेक वर्ष जस्तै यसबर्ष पनि विद्युतीय सामाग्रीको आयात उच्च छ । बिशेषगरी तिहार र छठदेखि अन्य समयमा प्रयोग हुने विद्युतीय सामग्री छिमेकी मुलुक भारत र चीनबाट मात्रै आयात हुने गरेको छ । तिहारमा नेपाल भित्रिने विद्युतीय सामग्रीमध्ये ९० प्रतिशत चीन र भारतबाट ल्याइने गरेको छ । त्यसमध्ये यसपटक धेरै सामान चीनबाट आयात भएका छन् । १० प्रतिशत सामान भारत सहित अन्य देशबाट नेपाल आउने गरेको छ । नेपाल भित्र्याउँदा विद्युतीय सामग्रीमा सरकारले १३ प्रतिशत भ्याट र २० प्रतिशत भन्सार कर लगाउने गरेको छ ।

कुन मुलुकबाट कति आयात ?
चीनबाट मात्रै ९० प्रतिशत
भारत सहित अन्य देशबाट १० प्रतिशत

विगतका वर्षहरुमा लोडसेडिङको समस्याका कारणले विद्युतीय सामाग्रीको आयात र कारोबारका कमी आएको तथ्याङ्क नेपाल विद्युतीय व्यवसायी महासंघसँग छ । विगत २ बर्षदेखि मुलुकबाट लोडसेडिङ हटेपछि विद्युतीय सामाग्रीको आयात र कारोबारमा उत्साहजनक बृद्धि भएको महासंघको दावी छ ।

अघिल्ला बर्षमा विद्युतीय सामग्री कति आयात भए त ?
आर्थिक बर्ष २०७०–७१ः २५ करोड
आर्थिक बर्ष २०७१–७२ः ३० करोड
आर्थिक बर्ष २०७२–७३ः ४० करोड
आर्थिक बर्ष २०७३–७४ः ६० करोड
अर्थिक बर्ष २०७४–७५ः ७५ करोड

नेपाल विद्युत प्राधिकरणले यसपटक विद्युतीय उपकरण प्रयोगमा खुला गरेपछि सामग्रीको प्रयोग र कारोबार बढ्ने अनुमान छ । अघिल्लो बर्ष तिहारमा मात्रै मुलुकभर एक अर्बको कारोबार भएको थियो । तिहारका बेलामा मालाबत्ती, विभिन्न रंगका डिस्को बल्ब, मूर्ति बनेर बल्ने सामाग्री, आवाज दिने खालका बल्ब बढी बिक्री हुने गरेका छन् । विद्युतीय सामाग्रीमा मुलुक परनिर्भर बन्दा करोडौं रुपैयाँ बाहिरिरहेको तितो यथार्थ भने छिपेको छैन । सरकारले स्वदेशमै सबै प्रकारका विद्युतीय सामाग्री उत्पादन गर्ने वातावरण मिलाउनुपर्ने आवश्यक देखिन्छ ।