डरलाग्दो दिशातर्फ विश्व राजनीति

डरलाग्दो दिशातर्फ विश्व राजनीति


– डिल्लीराम अम्माई

युरोप मात्र नभएर अहिले संसारभरको उदार पुँजीवादमा संकटमाथि संकटको चाङ थपिँदै गएको छ । विश्वभरि नै उदार अर्थतन्त्र भएका प्रजातान्त्रिक मुलुकहरूमा अति दक्षिणपन्थी (कथित राष्ट्रवादी) राजनीति हाबी हुँदै छ । अमेरिका, ब्राजिल, बेलायत, रसिया, अरबलगायतका देशहरूमा युद्धविरोधी प्रगतिशील तथा उदारवादी शक्तिहरू कमजोर हुँदै गएको देखिन्छ । युरोपियन युनियन, मानवतावादी अन्तर्राष्ट्रिय संघसंस्था र स्वयं संयुक्त राष्ट्र संघ धरापमा छन् ।

मजदुर आन्दोलन, नारी मुक्ति संघर्ष, समाजबवादी आन्दोलन त्यसले जन्माएको सामूहिक सहअस्तित्वको वैचारिक आधार र यसको सन्तुलित इकाइहरूमाथि उग्र साम्प्रदायिक राष्ट्रियताको नाममा आक्रमण तीव्र पारिएको छ । यिनै संकीर्णताको आधारमा जन्मिएका दम्भहरूबाट सिर्जित शक्तिहरू मानवीय सभ्यतामाथि नै निर्मम बन्दै गएकोले संसारभरिका समाजशास्त्रीहरू अबको नयाँ विकल्पबारे सोच्नुपर्ने अवस्था आइसकेको बताउँछन् ।

यिनै दम्भहरूको परिणाम हो– युरोप र अमेरिकाको व्यापार तथा राजनीतिमैत्री विगत धर्मराउँदै गएको छ । युरोपियन युनियनभित्र छिट्टै विग्रह हुन सक्ने सम्भावनाबारे आकलन गर्न थालिएको छ । सोहीअनुरूप ग्रिस, इटाली, स्पेन, फ्रान्स, जर्मनी, बेल्जियमलगायत देशका उग्र दक्षिणपन्थीहरूले युरोपियन युनियनबाट आफ्ना देशहरू बाहिरिनुपर्ने आवाजहरू बुलन्द रूपमा उठाइरहेका छन् ।

अति दक्षिणपन्थी अमेरिकी नेता डोनाल ट्रम्पले अमेरिकाको राष्ट्रपति पदमा विजय हासिल गरेपछि अहिले सामरिक रूपले विश्व अति संवेदनशील अवस्थामा छ । उनले एकातर्फ आप्रवासीमाथिको आफ्नो आक्रमणलाई तीव्र बनाउन अनुकूल कानुनहरू बनाउँदै लागेका छन् भने संसारकै हितमा रहेको आणविक अप्रसार सन्धि र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रोगन र सोभियत संघका नेता मिखाइल गोर्भाचोभले हस्ताक्षर गरेको सन् १९८७ मा इन्टरमिडियट रेन्ज फोर्सेज सन्धिलाई तोड्ने घोषणा गरिसकेका छन् । जसको परिणाम हुनेछ– पुनः हतियारहरूको होटबाजी र युद्धको तयारी । उनले इरानसँगको आणविक अप्रसार सन्धि भंग भएको घोषणा गरिसके । त्यो मात्रै नभएर ओबामाले शुरु गरेको क्युबासँगको सम्बन्ध अनावश्यक भन्दै ट्रम्पले इन्कार गरिसकेका छन् ।

इराकी ग्यास पाइपलाइन सिरियाबाट ल्याउन बाटोको लागि देश नै खरानी बनाइयो । अतः प्रमाणसहित भन्न सकिन्छ– अतिवादी दक्षिणपन्थीहरूमा मानवता, संवेदनशीलता र बन्धुत्व केही पनि हुँदैन ।

दक्षिण अमेरिकी देश भेनेजुएलालाई प्रगतिशील धारमा हिँडेकै कारण अमेरिकी अमानवीय नाकाबन्दीले तहसनहस पारिएको छ । इराकी ग्यास पाइपलाइन सिरियाबाट ल्याउन बाटोको लागि देश नै खरानी बनाइयो । अतः प्रमाणसहित भन्न सकिन्छ– अतिवादी दक्षिणपन्थीहरूमा मानवता, संवेदनशीलता र बन्धुत्व केही पनि हुँदैन । यी सबै गुण र भावहरू विभिन्न चरणका आत्मसम्मानका आन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन, औपनिवेशिकताविरुद्धका संग्राम र समानताका संघर्षमार्फत युरोपमा जन्मेर एसिया, अफ्रिका हुँदै ल्याटिन अमेरिकातर्फ फैलिएका हुन् । जुन प्रगतिशील धारा प्रवाहका अन्तर्निहित तन्तुहरू हुन् ।

यस्ता धेरै कुराले अमेरिकाको वर्तमान रवैयासँगको युरोपियन प्रगतिशील र उदार पुँजीवादी शक्तिको अन्तरसंघर्ष चर्काइदिएको छ । त्योसँगै चीनसँग अमेरिकाको सम्बन्ध व्यापारिक असन्तुलनको निहुँमा करको तीव्र प्रहारमार्फत प्रत्यक्ष संघर्षको चरणमा पुग्ने खतरा बढेर गएको छ ।

अर्को कुरा, लामो दूरीसम्म परमाणु हतियार लिन सक्ने ‘मिसाइलमागी स्टार्ट सन्धि’ पनि २०२१ मा सकिनेछ । रुस र अमेरिकालाई यो सन्धिलाई अगाडी बढाउन संसारभरिबाट दबाब दिन अनिवार्य छ । अहिले दुवै देशको सम्बन्धलाई हेर्दा अवस्था डरलाग्दो देखिन्छ ।

यो सन्धि पनि निष्क्रिय भयो भने सन् १९८७ पछि पहिलोपटक यस्तो अवस्था आउनेछ जसमा अमेरिका र रुसमाथि लामो दूरी क्षमताको परमाणु हतियारमा कुनै प्रतिबन्ध हुनेछैन । त्यो अवस्था भनेको केवल तेस्रो विश्वयुद्धको लागि चेतावनी मात्र हुनेछैन । यदि अब विश्वयुद्ध भयो भने संसारमा मानवीय अस्तित्व संकटमा पर्नेछ । फासिष्ट शक्तिहरूमा विवेक हुँदैन, मानवता र भविष्यको कुनै रणनीति हुँदैन । अतः उनीहरूको आवेगलाई रोक्ने औजार भनेको मतदानको बेलामा प्रयोग गरिने विवेकपूर्ण छनोट नै हो । त्यसपछि निरंकुश शक्तिहरूलाई अन्तर्राष्ट्रिय ऐक्यबद्धतामार्फत दबाब दिन जरुरी हुन्छ ।

उदार अर्थतन्त्रका हिमायती र प्रगतिशील शक्तिहरू एक ध्रुवमा नउभिएसम्म फाँसीवादी चरम उद्देश्यसहित आक्रामक रूपमा आएका विग्रहबवादी अनुदार शक्तिहरूलाई रोक्न सकिने अवस्था छैन । अमेरिकाका अनुदार पक्षहरू र बेलायती कन्जरभेटिभहरूको जोडबलमा विभिन्न किसिमका समस्याबीच युरोपियन युनियनलाई जकेडिरहेको अवस्था हो अहिलेको । त्यसैले युरोपियन युनियनको दीर्घकालीन अस्तित्व, योजना र भूराजनीतिक प्रभावको विषयमा भने जोखिम उत्पन्न हुने खतरा अझै बढेर गएको छ । युनियनभित्रैका देशहरूमा समेत पछिल्लो समय बढिरहेको अति राष्ट्रवाद र आप्रवासीविरोधी लहरका कारण ईयू समस्यामा पर्दै गएको देखिन्छ । यही लहरको कारण युरोपमा फाँसीवादी खतरा अझ बढ्ने हो कि भन्ने संसय पैदा गराएको छ । जसले युनियनको अस्तित्व र युरोपका धेरै महत्वपूर्ण योजनाहरूमा सोझै नकारात्मक असर पार्नेछ ।

बेलायती दक्षिणपन्थी प्रधानमन्त्री थेरेसाले अब कुनै सम्झौता गर्न सक्लान् भन्ने आस हराएको छ । बेलायत ईयूबाट बिनासहमति वा सम्झौता बाहिरियो भने त्यसले झन् विकराल स्थिति ल्याउनेछ । जसको कारण ईयू र बेलायत अन्तर्राष्ट्रिय रणनीतिमा साझेदार नहुन पनि सक्नेछन् ।

अहिले इटालीमा उदारवादी तथा प्रगतिशीलहरू अल्पमतमा छन् । इटालीको सरकारले ईयूमा पेस गरेको बजेट युरोपियन युनियनले अमान्य घोषणा गरेको छ । जुन नारा दिएर जनविश्वास लिई इटालीमा सरकार बन्यो त्यो ईयूले मानेन । फलत विश्वको तेस्रो उच्च ऋणको भारी बोकेको इटाली ईयूबाट निस्कने हो कि खतरा चुलिएको हो । विश्व कोषलगायत अन्य आर्थिक निकायहरूको दबाबले इटाली अहिले अनिर्णयको बन्दी बनेको छ ।

विश्व बैंकलगायत विभिन्न आर्थिक निकायहरूले इटालीको यो ऋणको विषयमा चेतावनी दिँदै आएका छन् । इटालीको नेतृत्वले अहिले अपेक्षा गरिएअनुसारको नतिजा दिन सकेको छैन । यसअघिका वाचाहरू पूरा गर्न पनि इटालीको सरकारमाथि सार्वजनिक दबाब बढ्दो क्रममा रहेको देखिन्छ । बेलायतको दक्षिणपन्थी अतिराष्ट्रवादी फासिष्ट शक्तिको कारण युरोपले ब्रेक्जिटको समस्या गम्भीर रूपले झेलिरहेको छ । अहिलेसम्म न त व्यापारिक सम्झौता हुन सकेको छ न त अन्य । बेलायती दक्षिणपन्थी प्रधानमन्त्री थेरेसाले अब कुनै सम्झौता गर्न सक्लान् भन्ने आस हराएको छ । बेलायत ईयूबाट बिनासहमति वा सम्झौता बाहिरियो भने त्यसले झन् विकराल स्थिति ल्याउनेछ । जसको कारण ईयू र बेलायत अन्तर्राष्ट्रिय रणनीतिमा साझेदार नहुन पनि सक्नेछन् ।

जर्मनीमा पनि नाजी राष्ट्रवादीहरूको संख्या ह्वात्तै बढेको एक सर्वेक्षणले देखाएको छ । उनीहरूले यदि जिते वा एन्जेला मर्केलको प्रजातान्त्रिक समाजवादी पार्टीलाई हराए भने युरोपियन युनियनमाथि बज्र प्रहार हुने छ । फासिष्ट शक्तिहरूले अन्तर्राष्ट्रिय संघसंस्था, मिडिया, राजनीतिक फोरम र विश्व सञ्जालमार्फत सम्पर्क वा सम्बन्ध केही चाहँदैनन् । ती संघसंस्था नाजीवाद र फाँसीवादलाई रोक्ने सिलसिलामा जन्मे, हुर्के र बढे । अति दक्षिणपन्थी शक्तिहरूलाई थाहा छ कि त्यस्ता शक्ति उसका कदापि मित्र वा सहयोगी बन्न सक्दैनन् । उग्र दक्षिणपन्थी शक्तिहरूको अन्तिम लक्ष्य साम्प्रदायिकता, धार्मिक र जातीय राष्ट्रियताको आधारमा लादिने निरंकुशता हो । राजनीतिक भाषामा भन्दा त्यसलाई फासिज्म भनिन्छ ।

अमेरिकाका लागि आफ्नो साम्राज्यबवादी रणनीति परिपूर्तिको लागि २८ सदस्यीय ईयू अपरिहार्य हुन्छ । तर, ट्रम्पले केचाहिँ बुझेको देखिन्न भने फासिष्ट राष्ट्रवादी शक्तिहरू हाबी भए भने अमेरिकाले युरोपलाई आफ्नो पकडमा राख्न सक्नेछैन ।

अबको युरोपियन युनियनको निर्वाचन सन् २०१९ मा हुनेछ । स्पष्ट छ– आगामी युरोपियन सांसदको निर्वाचनमा युरोपका घोर दक्षिणपन्थी सरकार र प्रगतिशील तथा लिबरल सरकारहरूको बीचमा प्रतिस्पर्धा हुन सक्ने देखिन्छ । यो निर्वाचनले नै युरोपियन युनियनको बाँकी भविष्यको फैसला गर्नेछ ।

अमेरिकाका लागि आफ्नो साम्राज्यबवादी रणनीति परिपूर्तिको लागि २८ सदस्यीय ईयू अपरिहार्य हुन्छ । तर, ट्रम्पले केचाहिँ बुझेको देखिन्न भने फासिष्ट राष्ट्रवादी शक्तिहरू हाबी भए भने अमेरिकाले युरोपलाई आफ्नो पकडमा राख्न सक्नेछैन । युरोपव्यापी संगठन तहसनहस हुनेबित्तिकै यिनीहरूबीचको अन्तरविरोध छताछुल्ल हुने र त्यी सबलाई आफ्नो पक्षमा पार्ने अमेरिकी प्रयास सफल नहुने देखिन्छ । ओबामाको कार्यकालमा अथक प्रयास गरिएको हो । त्यसैले यो डरलाग्दो रोग लाग्न नदिन अमेरिकाले पक्कै प्रयास गर्नेछ, तर त्यसको लागि अमेरिकामा डेमोक्र्याटहरूको सरकार भएमा सहज हुने कुरा लिबरल धारका विश्लेषकहरू बताउँछन् ।

अन्तमा के भन्न सकिन्छ भने मानवीय आधारमा पर्यावरणीय सन्तुलनसहित समृद्धिको कामना गर्ने, सामरिक वा साम्राज्यवादी युद्धमा भन्दा आपसी मित्रता र दिगो शान्तिमा विश्वको राजनीतिक बहाबलाई अगाडि बढाउने, मानवीय मूल्य प्रधान र अन्तर्राष्ट्रियवादी शक्तिहरू प्रगतिशील, वामपन्थी तथा लिबरल शक्तिहरू हुन् । परिवर्तनलाई शाश्वत सत्य मानेर मानवताको महान् लक्ष्य, विश्वबन्धुत्वको भावना, आधारभूत वर्गको सापेक्ष राज्य व्यवस्थाको आर्थिक नीतिसहित कानुनी, समाजवादी राज्यको विकल्प संकीर्ण, विभेदकारी, अभद्र साम्प्रदायिकतासहितको फाँसीवाद हुनै सक्दैन । त्यसैले अहिले संसारभरिका प्रजातन्त्रवादी, प्रगतिशील तथा अन्तर्राष्ट्रिय भाइचारामा विश्वास गर्ने जोकोहीले यस्ता गलत फाँसीवादी तत्वहरूको भण्डाफोर गर्नैपर्छ । यदि चुक्यौँ वा सुस्तायौँ भने मेरो घर, घर नरहन सक्छ, अन्तर्राष्ट्रिय समाजभित्रको साम्प्रदायिकतायुक्त मानवता र अनावश्यक युद्धको कारण हाम्रो धर्ती नरहन सक्छ ।