ओलम्पियन लामाको जीवित अवस्थामै प्रतिमा !

ओलम्पियन लामाको जीवित अवस्थामै प्रतिमा !


नेपाली खेलकुदमा ऐतिहासिक सफलता प्राप्त गरेका ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ ।

राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा ओलम्पियन लामाको आगामी ६ महिनाभित्र मूर्ति स्थापना गरिने जानकारी गराइएको हो । नेपाल तामाङ घेदुङ संघले लामाको मूर्ति निर्माणका लागि समिति बनाएर कार्य योजना चाँडै तयार गर्ने जनाएको छ । समितिका संयोजक डीएन घिसिङले तीन दशकअघि नेपालको नाम र इज्जत विश्वभर फैलाउन सफल लामाको प्रतिमा स्थापना गर्न लागिएको बताए । लामाको मूर्ति काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित उनकै जन्मथलोमा बनाइने जानकारी सो अवसरमा गराइयो ।

लामाले सन् १९८४ देखि १९९० सम्म राष्ट्रिय टिमबाट तेक्वान्दो खेलेका थिए । उनले सन् १९८६ मा पहिलोपटक १०औँ एसियाली खेलमा नेपालको तर्फबाट कांस्य पदक तथा सन् १९८७ मा स्पेनमा भएको ८औँ विश्व तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । लामाले सन् १९८८को आठौँ एसियन च्याम्पियनसिपमा रजत पदक जितेका थिए ।

त्यसैगरी दक्षिण कोरियाको सोलमा सम्पन्न २४औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा लामाले कांस्य पदक जितेका थिए । पत्रकार सम्मेलनमा आफ्नो खेलजीवनबारे स्मरण गर्दै लामाले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । आफूलाई साधारण खेलाडीका रूपमा मात्रै लिन आग्रह गर्दै उनले पढ्ने बेला भागेर ब्रुस लीको चलचित्र हेर्न जाने गरेको र त्यसैबाट प्रभावित भई तेक्वान्दोतर्फ आकर्षित भएको बताए । नेपालमा ०३९ पछि मात्रै सर्वसाधारणलाई तेक्वान्दो खेल्न दिइएको लामाको भनाइ थियो । उनले आफूले पनि त्यसपछि मात्रै तेक्वान्दो खेल्न थालेको बताए । नेपालको इतिहासमा जीवित खेलाडीको मूर्ति बन्न लागेको यो पहिलो हो ।