१२६ घन्टा नाचेर विश्व कीर्तिमान राख्ने तयारीमा बन्दना

१२६ घन्टा नाचेर विश्व कीर्तिमान राख्ने तयारीमा बन्दना


सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो छ ।

हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्यांकले देखाएको छ । यसै सिलसिलामा धनकुटाको मूर्तिढुंगा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीया बन्दना नेपाल लगातार १२६ घन्टा लोकनृत्य प्रस्तुत गरेर विश्व कीर्तिमान राख्ने तयारीमा छिन् ।

यसअघि लगातार १२३ घन्टा १५ मिनेट शास्त्रीय संगीतमा नृत्य गरेर भारत केरलाकी कलामण्डलम हेमलथाको नाममा विश्व कीर्तिमान कायम भएको थियो । आगामी मंसिर ७ गते बिहान ७ बजेदेखि बत्तीसपुतलीस्थित बिग फुडल्यान्डमा नृत्य शुरु गर्ने बन्दनाले बताइन् । उनले नेपालका विभिन्न मौलिक पहिरन र वेशभूषामा मारुनी, नौमती बाजादेखि सुदूरपश्चिमको देउडा गीतमा नृत्य प्रस्तुत गर्नेछिन् ।

युवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोकगीत तथा लोकसंगीतप्रति उत्साह जगाउन आफ्नो नृत्य महत्वपूर्ण हुने उनी बताउँछिन् । उनले भनिन्, ‘हालसम्म सांस्कृतिक नृत्यमा विश्वमा कसैले पनि कीर्तिमान नराखेकाले मेरो सांस्कृतिक नृत्य विश्वमै पहिलो कीर्तिमान हुनेछ । लोकनृत्यका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन साहस गरेकी हुँ । ’

गीतसंगीतमा सानैदेखि रुचि राख्ने बन्दनाले आफ्नै घरमा नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरेर नृत्य सिकाउँदै आएकी छिन् । उनले २०७३ सालमा शिवकैलाश कला केन्द्रबाट एक र भारतको बेंग्लोरबाट दुई महिनाको नृत्य प्रशिक्षण कक्षा लिएकी थिइन् ।