इसाईकरणको चक्रब्युहमा हिन्दूधर्म

इसाईकरणको चक्रब्युहमा हिन्दूधर्म


– इन्द्रबहादुर बराल

नेपालको सरकारी तथ्याङ्क हेर्ने हो भने कुल जनसङ्ख्याको ८१.३ प्रतिशत अर्थात् २,१५,५१,४९२ जनसंख्या हिन्दू देखिन्छ । त्यस्तै क्रिश्चियनको जनसङ्ख्या २,७५,६९९ प्रतिशतमा १.४ प्रतिशत मात्र छ । क्रिश्चियनको तुलनामा बुद्धिष्टहरू २३,९६,०९९ (प्रतिशतमा ९ प्रतिशत) र मुस्लिमहरू ११,६२,४७० (प्रतिशतमा ४.४) मात्र देखिन्छ । जनसङ्ख्याको हिसाबले विश्लेषण गर्दा कुनै पनि दृष्टिले नेपाल हिन्दूराष्ट्र नै हुनुपर्ने हो । लोकतान्त्रिक दृष्टिबाट हेर्ने हो भने बहुमतको कदर हुनुपर्ने स्पष्टै छ ।

बहुमतको कदर र अल्पमतको संरक्षण हुनुपर्ने देखिन्छ उपरोक्त तथ्याङ्कको आधारमा । तर, दुर्भाग्य भनौँ वा विडम्वना नै भन्नुपर्छ यति ठूलो जनसङ्ख्याको हिस्सा हिन्दूधर्मप्रतिको आस्था हुँदाहुँदै नेपाल किन, कसरी र कसका लागि धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो, यसको औचित्यपूर्ण पुष्ट्याइँ हुन सकेको छैन । हुन त अहिलेको जनमत हेर्ने हो भने मुलुकमा कम्युनिस्टहरूको लगभग २÷३ बहुमत हेर्दा र उनीहरूको धर्मप्रतिको सैद्धान्तिक आधार हेर्दा भने आश्चर्य मान्नुपर्दैन । यदि कम्युनिस्टहरूको मुखमा रामराम बगलीमा छुरा नहुँदो हो त नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा हुने सम्भावना न्यून थियो । यद्यपि नेपाली काङ्ग्रेसले पनि आफ्नो पार्टीको चारतारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतीकात्मकतालाई नछोडेको भए पनि हिन्दूराष्ट्र नेपाल कायम हुने सम्भावना बढी नै देखिन्थ्यो । अन्य राजनीतिक शक्तिहरूको त खासै महत्वपूर्ण भूमिका देखिँदैनथ्यो । यसरी हेर्दा के प्रस्ट हुन्छ भने नेपाल धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा चर्चा आएझैँ पैसाकै बलमा भएको हो भन्दा कसैका प्रति अन्याय हुँदैन ।

धर्म यस्तो चिज हो, जहाँ जानेर वा नजानेर अगाध आस्था र विश्वास अडिएको हुन्छ । धेरैजसो धर्मान्धहरूले धर्मको अमूर्त व्याख्या गरेकाले पनि हिन्दूधर्मको सैद्धान्तिक आधार कमजोर बन्न गयो । हिन्दूधर्ममाथि अनास्था पैदा गर्ने–गराउनेहरूले जहाँजहाँ हिन्दुत्वको कमी–कमजोरी छ, त्यहीँत्यही प्रहार गर्दै गएको पाइन्छ । साथसाथै क्रिश्चियनहरूले धर्मप्रचारको क्रममा ठाउँ र अवस्था हेरेर कतै हिन्दूधर्मप्रति कटाक्ष गर्ने त कतै मानवीय सेवाभाव देखाएर इसाई धर्मप्रति आकृष्ट गर्दै गए र गर्दैै पनि छन् । तर, हिन्दूधर्मका प्रकाण्ड गुरुहरू वा संवाहकहरू धर्मलाई जीविकोपार्जनको बाटो बनाउँदा पनि हिन्दूधर्मप्रति अनास्था सिर्जना भएको छ । यो यथार्थतालाई अस्वीकार गर्ने धर्मभीरूहरूको पनि कमी छैन । यसर्थ हिन्दूधर्मका गुरुहरू जो यो हिन्दूधर्मका संवाहक छन्, उनीहरूले धर्मलाई अमूर्त रूपमा मात्रै व्याख्या गर्दा आज यो अवस्था आएको हो । त्यसैले धर्मको व्याख्या विज्ञानसम्मत वा भौतिकवादी दृष्टिकोणबाट गर्न आवश्यक छ ।

जसरी बलपूर्वक बहुमतको आडमा आमनेपालीको चाहनाविपरीत बिनाजनमतसङ्ग्रह संविधानसभामार्फत हिन्दूराष्ट्र नेपाललाई धर्मनिरपेक्ष घोषणा गरियो, यो एउटा रहस्यको विषय बनेको छ ।

पर्याप्त वैज्ञानिक वा भौतिक आधार हुँदाहुँदै आयआर्जनको स्रोत बनाउने कार्यले गर्दा पनि हिन्दूधर्मप्रति दुराग्रह राख्नेहरूका लागि सहज वातावरण बनाइयो । चाहे जुनसुकै धर्म किन नहोस् त्यसको एउटै उद्देश्य हो विश्वशान्ति कायम गर्ने । अहिंसा परमोधर्म अर्थात् धर्म भनेकै अहिंसा हो, सत्य हो, न्याय हो र विभेदरहित समाज निर्माण गर्नु हो । कुनै मठमन्दिर, चर्च, मस्जिद वा गुम्बाहरूमा धाउनु मात्रै धर्म होइन, ती त तीन स्थानहरूलाई साक्षी राखेर गरिने आधार मात्रै हुन् । धर्म भनेको अहिंसा, शान्ति, सत्य, न्याय तथा विभेदरहित समाज निर्माण गर्ने–गराउने एउटा पवित्र बाटो हो । त्यसलाई विभिन्न धर्मको आवरणमा मानवीय सेवामार्फत समाजमा व्याप्त असत्य, अन्याय र भेदभावपूर्ण समाज स्थापनाका पौराणिक औजारका रूपमा ग्रहण गरिएको हुनुपर्छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ ।

हाम्रो सन्दर्भमा जसरी बलपूर्वक बहुमतको आडमा आमनेपालीको चाहनाविपरीत बिनाजनमतसङ्ग्रह संविधानसभामार्फत हिन्दूराष्ट्र नेपाललाई धर्मनिरपेक्ष घोषणा गरियो, यो एउटा रहस्यको विषय बनेको छ । हुन त धेरै ठूलो पैसाको चलखेल भयो भनियो, थोरै हो भने अर्बौं खोला बगाइयो भनिन्थ्यो । अहिले हाम्रो नेता र राजनीतिक दलका चरित्र हेर्दा र सुन्दा त्यो आरोपमाथि सत्यता छैन भन्न पनि नसकिने र सत्यताको प्रमाण पनि दिन नसकिने ‘ओपन सिक्रेट’ नै छ । लोकतन्त्रमा विश्वास राख्ने राजनीतिक प्रणाली अपनाएका हामी नेपालीले नेपाल सरकारको आधिकारिक तथ्याङ्कलाई आधार मानेर ८१.३ प्रतिशत भएको मुलुकमा हिन्दूराष्ट्र घोषणा गर्न केले छेक्यो ? या न धर्मनिरपेक्ष न धर्मसापेक्ष नभनीकन बीचको मध्यम बाटो नेपाल धार्मिक स्वतन्त्रताको राष्ट्र हुनेछ भनिदिएको भए पनि राम्रै हुने थियो । दुईतिहाइको बहुमतले मुलुक हाँक्ने वैधानिक हक भएजस्तै त्योभन्दा पनि हिन्दूधर्मको अत्यधिक बहुमत भएको देश नेपालमा धार्मिक स्वतन्त्रतासम्म त लेख्न कुनै महाभारत पक्कै पनि थिएन । तर, लोभीपापीहरूको कारण मुलुकले अझै स्थायी शान्ति कायम गर्न कठिन देखिँदै छ । यसको पछिल्लो प्रमाण हो बिना कुनै औचित्य वामदेव गौतमलाई संसदमा प्रवेश गराउने खेल । के त्यस्तो अपरिहार्यता परेको थियो जनताबाट तिरस्कृत गरिएका पात्रलाई जबर्जस्ती चोरबाटोबाट संसदमा लैजाने प्रयत्न गर्नुपर्ने ? यसबाट के पुष्टि हुन्छ भने फेरि पनि नेपालमा शान्ति नचाहने तत्वहरू खेल्न थालेका छन्, सलबलाएका छन् भन्ने स्वतः प्रमाणित हुन्छ । हाम्रो राजनीतिक दल र तिनका नेताहरू स्वचालित छैनन्, अन्य केहीबाट सञ्चालित छन् भन्ने कुरा बडो दुःखका साथ भन्न र लेख्न परेको छ ।

आ–आफ्नो धर्मसंस्कृतिअनुसार मनाउने चाडपर्वलाई समेत राजनीतिक रङ छरेर खल्लो बनाउने कार्य निन्दनीय छ । आ–आफ्नै धर्म, परम्परा र संस्कृतिअनुसार रमेर दशैँ, तिहार, छठ, नेपाल सम्वत तथा लोछार पर्व मनाउनु नै हामी नेपालीको परम्पराको विशिष्ट पहिचान हो । यो विशिष्ट पहिचानलाई छुद्र राजनीतिक स्वार्थको कारण खल्लो नबनाऔँ ।

कुरो आश्चर्यको नै १.४ प्रतिशत अर्थात् २,७५,६९९ जनसङ्ख्या भएको क्रिश्चियनहरूको प्रभावका कारण ८१.३ प्रतिशत अर्थात् २,१५,५१४९२ जनसङ्ख्या भएको हिन्दूहरूको मन कुँडाएर जुन कार्य गरियो अर्थात् हिन्दूराष्ट्रको स्थानमा धर्मनिरपेक्ष राष्ट्र बनाइयो । यो नै अत्यन्तै आश्चर्यजनक र विडम्बनापूर्ण छ । यहाँ दुवै पक्षको कमी–कमजोरी पनि छ, हिन्दूवादीहरूले आफ्ना जनमत बनाउन सकिरहेको छैन भने निरपेक्षका पक्षधरहरूले पनि हिन्दूहरूलाई संविधानको नयाँ व्यवस्था अर्थात् धर्मनिरपेक्षताबारे सन्तोषजनक व्याख्या–विश्लेषण गर्नुको सट्टा हिन्दूधर्म र संस्कृतिप्रति कटाक्ष मात्रै गर्नुले नियत खराब देखिन्छ ।

हालै नेपालीहरूको महान् चाड विजयादशमीको माहोल सामाजिक सञ्जालमा पशुबलिको घोर विरोध निन्दा गरिएको पाइयो । आफ्नो महान् सांस्कृतिक चाडपर्व मनाउने कुरालाई लिएर अनावश्यक वादविवाद गर्नुको कुनै औचित्य छैन । आ–आफ्नो धर्मसंस्कृतिअनुसार मनाउने चाडपर्वलाई समेत राजनीतिक रङ छरेर खल्लो बनाउने कार्य निन्दनीय छ । आ–आफ्नै धर्म, परम्परा र संस्कृतिअनुसार रमेर दशैँ, तिहार, छठ, नेपाल सम्वत तथा लोछार पर्व मनाउनु नै हामी नेपालीको परम्पराको विशिष्ट पहिचान हो । यो विशिष्ट पहिचानलाई छुद्र राजनीतिक स्वार्थको कारण खल्लो नबनाऔँ ।

सदियौँदेखि विभिन्न जातजाति, भाषाभाषी, धर्म–संस्कृतिका बीच कायम रहेको सहिष्णुतापूर्ण सामाजिक सम्बन्धमा खलल पुऱ्याउने काम विगतमा तीव्र गतिमा अघि नबढेका पनि होइनन् । तर, सामाजिक अगुवाहरूले निकृष्ट राजनीतिलाई निस्तेज पार्दै नेपाललाई रुवाण्डा र बुरुण्डी बनाउने षड्यन्त्रकारीलाई पाखा लगाएकै हुन् । अल्पसङ्ख्यामा रहेका ‘परधर्म’हरूको अभीष्ट पूरा गर्नकै लागि प्रचण्ड बहुमत भएको हिन्दूधर्मको अपमान किन गर्न खोजिँदैछ ? सर्वधर्मका साथ हिन्दुधर्मको सम्मान गर्न सिकौँ । साथै हिन्दूधर्मका गुरुहरूले पनि धर्मलाई पेट पाल्ने वा जीविकोपार्जनको लागि मात्रै अर्जुनदृष्टि नलगाई धर्मको यथार्थता जनसमक्ष ल्याउने कार्यमा चुक्नुहुँदैन । अन्यथा इसाईकरणको चक्रब्युहबाट हिन्दूहरूले मुक्ति पाउन कठिन छ । स्मरण रहोस्, माथि उल्लेख तथ्याङ्क नेपाल सरकारले पछिल्लो जनगणना २०६८ मा उल्लेख गरेको छ ।